आफैंमा मनको लड्डु, घिऊ संग चपाएर
नमान्ने आफूलाई मान्छे, कोशौ टाढा धपाएर ।
ठुला मानिस आफैंमा, ठालु कसरी बन्दछन्
मलाई अब अरुले गन्नु पर्दछ भन्दछन् !
द्रव्यको दुनिया भित्र, काम शक्ति छिराउंदै
छिचोल्न नसकी बाटो, गन्तव्यको बिराउंदै ।
लक्ष त्यो हो कता पुग्ने, आफै भित्र हराउंदै
पाइँ मा अगाडी जोड्ने “म” हो भन्दै कराउंदै !
पराया आफ्नो बन्दछ, जो उसलाई जय भन्दछ
आफनै स्तुतिको कमी, जीवनको भय बन्दछ ।
अहंकारी बनि मानव, चल्तीको गतिको मन्द छ
सतहको डुबुल्कीले , आफ्नै खाडल खन्दछ !
बिचरा के थाहा उसलाई, सागरको पिंधेरी कता
भेटिदैन कतै जल उधिनेर शिर यता ।
बलेको बेलामा आगो, प्रिय बने सरी गरी
मान्नुस् भनेर महात्मा बनिदैन कसैगरी !
२२ डिसेम्बर २०१४