चीन भ्रमण उपलब्धिमूलक र प्रेरणादायी – परराष्ट्रमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीको छ दिने औपचारिक चीन भ्रमणका क्रममा शनिबार तिब्बतको ल्हासास्थित ऐतिहासिक पोतला दरबारको भ्रमणपछि परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा । तस्बिर – हरि लामिछाने, हरि लामिछाने, बेइजिङ (चीन), रासस

बेइजिङ, चीन, ९ असार – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको चीन भ्रमण सौहार्द र निकै उपलब्धिपूर्ण तथा प्रेरणादायी भएको बताउनुभएको छ ।

भ्रमणका क्रममा बेइजिङको कार्यक्रम सकेर प्रधानमन्त्री केपी शर्मा ओली ल्हासा आउने क्रममा सञ्चारकर्मीसँग मन्त्री ज्ञवालीले नेपालमा उपलब्ध भएका पछिल्लो राजनीतिक परिवर्तनलाई चीनले खुलेर प्रशंसा गरेको बताउनुभयो ।

प्रधानमन्त्रीले अगाडि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई साकार पार्न चीनको सदा साथ रहने बलियो विश्वास चिनियाँ नेतृत्वले प्रकट गरेको भन्दै उहाँले पारस्परिक हितका सम्बन्धमा खुलेर छलफल भएको छ भन्नुभयो ।

सम्झौताभन्दा पनि मित्रता महत्वपूर्ण हुन्छ भन्ने प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै मन्त्री ज्ञवालीले त्यस अर्थमा भ्रमण निकै महत्वपूर्ण रहेको निष्कर्ष निकाल्नुभयो । नेपालले प्राथमिकतामा राखेको योजनामा साथ र सहयोग दिने विश्वसनीय आधार दिएको बताउँदै उहाँले भन्नुभयो, “यस भ्रमणबाट हामी सन्तुष्ट छौँ, खुशी छौँ ।”

चीनसँग भएका सम्झौता र संयुक्त प्रेस विज्ञप्तिमा परराष्ट्रमन्त्री ज्ञवालीले समझदारीपत्रमा भएका हस्ताक्षर निकै महत्वपूर्ण भएको चर्चा गर्नुभयो । यसपटक नेपाल सरकारले सबैभन्दा बढी प्राथमिकतामा राखेको विषय ट्रान्सहिमालयन बहुआयामिक यातायात सञ्चालनभित्र जोडिनुपर्छ र त्यसभित्र रेलमार्ग, सडक, हवाई क्षेत्र, अन्तरदेशीय प्रसारण उच्च प्राथमिकतामा हुन्छन् भनेर नेपालले पहिल्याएको र चीनले पनि सोहीरुपमा सहयोग गर्ने विश्वसनीय प्रतिबद्धता व्यक्त गरेको उहाँले जानकारी दिनुभयो ।

चिनियाँ पक्षबाट आफूले पाएको जानकारीअनुसार आउने अगष्टसम्म रेलको सम्भाव्यता अध्ययन सकिने बताउँदै मन्त्री ज्ञवालीले भौगर्भिक अवस्थाका कारण थप अध्ययन आवश्यक रहेको जानकारी दिनुभयो । उहाँले नेपाल रेलमार्गसँग जोडिने विषयमा कुनै शंका नगर्न आग्रहसमेत गर्नुभयो ।

नेपाल र चीनबीचमा विभिन्न तहको स्थायी संयन्त्र बन्ने र त्यसले दुई देशबीचको पारस्परिक सम्बन्धलाई नियमितरुपमा समीक्षा गर्ने बताउँदै मन्त्री ज्ञवालीले यस संयन्त्रले सहयोगका नयाँ क्षेत्रको अन्वेषणसमेत गर्ने बताउनुभयो । उहाँले दुई देशबीचमा भएका सम्झौता र कार्यान्वयनका लागि आवश्यक वातावरण मिलाउने र समस्या आए सुल्झाउने उल्लेख गर्नुभयो ।

त्यसैगरी परराष्ट्र मन्त्रालयस्तरको तीन तहको नियमित संवादको समेत अर्को समझदारीपत्रमा हस्ताक्षर भएको जानकारी दिँदै उहाँले अबका दिनमा परराष्ट्रमन्त्री, परराष्ट्र सचिव र सहसचिव तथा महानिर्देशक तहमा नियमित संवाद हुने बताउनुभयो ।

यस्ता संयन्त्रले नेपाल–चीनका समग्र पक्षआई आवधिकरुपमा छलफल गरेर अगाडि बढाएर लैजाने बताउँदै उहाँले विकास निर्माणका तहमा परराष्ट्र सचिव र चिनियाँ राजदूतबीचको संयन्त्रले स्थायीरुपमा नै काम गर्ने बताउनुभयो । मन्त्री ज्ञवालीले दुई देशबीचको संयन्त्र निकै प्रभावकारी रहेको दाबीसमेत गर्नुभयो ।

जलस्रोतको क्षेत्रमा नेपालले चार तवरले सहयोगलाई अगाडि सारेको भन्दै उहाँले अन्तरदेशीय विद्युत् प्रसारण लाइन, साझा लगानी, आवश्यकताअनुसार दुई देशबीच विद्युत्को व्यापार र नेपालको ऊर्जा क्षेत्रको अध्ययन तथा विकासका निम्ति अध्ययन गर्ने विषयमा सम्झौता भएको बताउनुभयो ।

प्रसारण लाइन निर्माणमा हासिल गरेको दक्षता र साधन तथा स्रोतबाट नेपाल लाभान्वित हुन खोजेको भन्दै त्यसले ऊर्जाको क्षेत्रमा पारस्परिक सहयोग गर्ने मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । उहाँले सिचुवान प्रान्तमा महावाणिज्य दूतावास खोल्ने सम्झौता भइसकेको उल्लेख गर्दै पारस्परिक सहयोगको हिसाबले त्यो निकै महत्वपूर्ण हुने बताउनुभयो ।

समृद्ध नेपाल, सुखी नेपालीको नारालाई दुवै छिमेकीले स्वीकार गरेको बताउँदै उहाँले समृद्धिको लक्ष्य प्राप्तिका लागि व्यापक सहयोग र समर्थन मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री