हामी सबैले जानेमानेका बुद्धिजीबी तथा लेखक खगेन्द्र संग्रौला २४ औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ बेलायत शाखाद्धारा आयोजित कार्यक्रमको बिशेष अतिथि भएर संयुक्त अधिराज्य आएका छन् । संग्रौला एक प्रसिद्द साहित्यकार हुन् । उनको ‘जुनकिरीको गीत’ उपन्यास निकै चर्चा कमाएको कृति हो । पचासको दशकतिर कम्युनिष्ट खेमाभित्र संग्रौलाको सो उपन्यास बहसको विषय हुने गर्दथ्याे । ‘बाल्यकालका पदचापहरु’, ‘आफ्नै आँखाको लयमा’, ‘मंगलीको अधुरो “क”‘ उनीद्वारा लिखित चर्चित कृतिहरु हुन् । उनले थुप्रै उत्कृष्ट चिनियाँ कथाहरु पनि उल्था गरेर नेपाली साहित्यलाई दिएका छन् । ‘युवाहरुको गीत’, ‘प्रथम गुरु’, ‘माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म’ उनले अनुवाद गरेका केही पुस्तक हुन् । उनी निबन्धात्मक आख्यान लेखनमा माहिर छन् । उनको भाषण गर्ने शैली पनि पृथक छ । लयात्मक शैलीमा व्यङ्ग्य गर्न पोख्त छन् उनी । मञ्चमा बोल्दा दर्शन र सिद्दान्तको पाटोभन्दा समसामयिक राजनैतिक विसंगतिको उछितो काढ्नु यिनको रोजाइको विषय हो । समसामयिक राजनैतिक विकृति र विसंगतिको पक्षलाई अभिव्यक्त गर्दा कलात्मक शैली प्रयोग गर्ने भिन्न खुबीका कारण सत्ताइतरका जनहरूका मनहरुमा उनले राज गरेका छन् । सत्ताइतरका जनहरु नै उनको रोजाईमा परेका कारण उनी अधिकार कर्मीहरुसंग सडकहरुमा समेत देखिन्छन्, सायद यही कारण यसपटक आयोजक पक्षले उनलाई बेलायत यात्राको निम्तो दिएको हुनुपर्छ ।
बेलायत यात्रा उनको यो पहिलो रहेछ । यहाँ उनले धेरै कुरा देख्ने छन् , रमणीय ठाउँहरु हेर्ने छन् । नेपाली साहित्यकारहरुले घुम्न मन पराउने ठाउँहरु यहाँ धेरै छन् । ब्लूमसबरी लन्डनमा रहेको दुइसय वर्ष अगाडि सन् १७५३ ताका स्थापना भएको ब्रिटिश संग्रहालय आगन्तुकहरुको लागि गन्तब्य स्थल हो । ८० लाख भन्दा बढी हेर्न र जानकारी लिन लायकका सामग्रीहरु यहाँ रहेका छन् । बिश्वबिख्यात लेखक विलियम शेक्सपियरको जन्म घर जानै पर्ने ठाउँ मध्ये एक हो । सन् १५६४ मा इंगलैंडको स्टार्टफोर्ड अपोंन ऐभन भन्ने ठाउमा जन्मिएका शेक्सपियरका कृतिहरु आज चार सय वर्षपछि पनि संसारभरि नै प्रसिद्द छन् । उनले ३७ भन्दा बढी नाटकहरु लेखेका थिए । उनका बहुचर्चित नाटकहरुमा म्याक्बेथ, रोमियो तथा जुलिएट र हम्लेट हुन् । उनले लेखेका १ हजार ६०९ कविताहरुमध्ये १५४ वटा सोनेटहरुको संग्रह प्रकासित छ । अर्का अंग्रेजी साहित्यकार चार्ल्स डिकेंसको जन्मथलो पनि घुम्न जानुपर्ने स्थान हो । चार्ल्स डिकेंस क्लास्सिक अंग्रेजी साहित्यमा उच्च नाम भएका साहित्यकार हुन् । उनी इंगलैंडको पोर्ट्समाउथ भन्ने ठाउँमा सन् १८१२ मा जन्मेका थिए । उनले १५ वटा उपन्यास र सयौँ कथाहरु लेखेका थिए ।
आज भन्दा ९२२ वर्ष अघि स्थापना भएको ऑक्सफोर्ड विश्वविद्यालय र सन् १२०९ मा स्थापना भएको कैम्ब्रिज विश्वविद्यालयसम्म पुग्न सके राम्रै हुन्छ । तर हाम्रा कुन्साङ काकालाई यी ठाउँहरु मात्र घुमेर पुग्दैन । उनले कम्तिमा स्कटल्याण्ड र नर्दन आयरल्याण्ड जानै पर्छ । किनभने एउटा प्रगतिशील साहित्यकारको काँधमा अर्को जिम्मेवारी पनि थपिएको छ । नेपाली समाजमा २५० वर्षदेखि उत्पीडनमा पारिएका आदिवासीहरुको मुक्तिको पक्षमा कलम चलाउन र उनीहरुको पक्षमा बोलिदिन गरिएको आग्रह हो, उहाँलाई बेलायत निम्त्याएर आदिवासीहरुले गरेको सत्कार । त्यसैले यो यात्राबाट संग्रौलाले स्कटल्याण्ड र नर्दन आयरल्याण्डबाट पनि केही सिकेर जानु पर्दछ भन्ने मेरो आग्रह छ ।
बेलायत एकात्मक मुलुक हो । चारवटा राज्यहरु मिलेर संयुक्त राज्य बनेको छ । हामी नेपालीहरुले बेलायत भनेर पुकार्ने मुलुकको संबैधानिक नाम हो युनाइटेड किंगडम अफ ग्रेट ब्रिटेन एण्ड उत्तरी आयरलैंड अर्थात् छोटकरीमा युके । वेल्श भाषी सेल्टिक जातिहरुको वेल्श राज्य, स्कटिस जातिहरुको स्कटल्याण्ड राज्य, आइरिस जातिहरु आयरल्याण्ड राज्य र इंगलिसहरुको इंगल्याण्ड राज्य मिलेर १८ औ शताब्दीमा निर्माण भएको एकात्मक राज्य भए पनि यहाँ स्वायत्तता ( autonomy ) को प्रयोग उच्चतम रुपमा भएको पाइन्छ । तिनका आ-आफ्नै झण्डाहरु छन् । हुन् त युकेको राष्ट्रिय झण्डामा चारैवटा राज्यको प्रतिनिधित्व भएको छ । हाम्रो नेपाली झण्डाले सूर्यवंश र चन्द्रवंशको बाहेक अरुको प्रतिनिधित्व गर्नसक्ने ब्याख्या छैन । सेतो पृष्ठभूमिमा रातो क्रसले वेल्स र इंगलैंडको, निलो पृष्ठभूमिमा सेतो साल्टायर अर्थात् सेंट एंड्रयू क्रॉसले स्कटल्याण्डको र सेतो पृष्ठभूमिमा रातो साल्टायर अर्थात् सेंट पैट्रिक क्रॉसले आयरल्याण्डको प्रतिनिधित्व गर्दछ । तिनका आ-आफ्नै राज्यका भाषाहरु छन् । आयरल्याण्ड र स्कटल्याण्डले आफैँ पैसा छाप्न पाउने अधिकारसम्म उनीहरुलाई छ । सन् १९१४ मा स्कटल्याण्डको माग अनुसार संयुक्त राज्यमा नै बस्ने कि स्वतन्त्र हुने भनेर जनमत संग्रह भयो । युरोपियन युनियनबाट युके हटे पनि स्कटल्याण्डले युरोपियन युनियनसंग एकल बजारको लागि संगै बस्न सक्ने फर्स्ट मिनिस्टर निकोला स्टर्जनले बताइसकेकी छन् ।अर्थात् युके सरकारले गरेका सबै निर्णयहरु स्वायत्त राज्यहरुलाई बाध्यकारी हुँदैन ।
एकात्मक मुलुकले त राज्यहरुलाई यति धेरै स्वायतता प्रदान गरेको छ भने संघीयतामा गएको मुलुकले जातिय, क्षेत्रीय ,लिंगीय, भाषिक उत्पीडनको अन्त्य हुने गरी किन राज्यको पुनर्संरचना गर्नसकिरहेको छैन ? पहिचानको आधारमा राज्यहरुको नामकरण गर्न शासकहरु किन टाउको दुखाउँदैछन् ? एेतिहासिक भूगोल,भाषा, सस्कृति, परम्परा, रितिरिवाज भएका आदिवासी जातिहरुले पहिचानजनित प्रदेशहरुको नामकरणको माग भैरहेको बेला स्थानीय निकायको पुनर्संरचना र नामकरण भयो तर उही २०१९ सालमा राजा महेन्द्रले बनाएको ७५ जिल्ला र १४ अञ्चलकै मानसिकता बोकेर । एउटै प्राकृतिक भूगोलमा बस्ने अल्पसंख्यक जातिहरुलाई विभिन्न जिल्ला र निर्वाचन क्षेत्रमा बाँडिएकै छ । जस्तो चेपांग बस्ती नै हेरौं, ६८ हजारको हाराहारीमा रहेका चेपांगहरुलाई धादिङ, गोरखा, मकवानपुर, तनहुँ र चितवन जिल्लामा बाँडिदिए पछि त्यो अल्पसंख्यक जातिले कहिले निर्वाचित भएर स्थानीय देखि केन्द्रसम्म आउने ? स्थानीय निकायको नामकरणमा पनि यस्तै भयो । पहिला कतिपय स्थानीय निकायको नाम एेतिहासिक जातिको जातीय पृष्ठभूमि र स्थानीय भाषा आदिका आधारमा थियो । जस्तो एउटा उदाहरण लिउँ, भोजपुर जिल्लाको । यस जिल्लाको उत्तरतिर पर्ने गाउँ विकास समितिको नाम साम्पाङ थियो । साम्पाङ नाम किरातीहरुको एउटा पाछा (थर) र भाषिक परिवार हो । स्थानीय निकायको पुनर्संरचना गर्दा बर्सौदेखिको यो इतिहास मेटियो । बहुसंख्यक साम्पाङ राईहरुको अपनत्वको भावना नै नआउनेगरी एकजना व्यक्ति षडानन्द अधिकारीको नाममा नामकरण गरिएको नगरपालिकामा साम्पाङ गाबिसलाइ विलय गरियो र एउटा वडाको हैसियत साम्पाङले प्राप्त गर्यो । यसरी साम्पाङ पहिचानजन्य नाम समाप्त पार्ने काम भयो । यो एउटा उदाहरण मात्र हो ।
जनयुद्ध र जनआन्दोलनबाट आएका शक्तिका आगाडि जनताले प्रतिरोध गर्न सकेनन् । तर त्यसरी समाप्त पारिएका एेतिहासिक नामहरुलाई पुन: ब्यूताउन सक्ने आधार र सम्भावना हामी युकेमा देख्छौँ । युकेको स्थानीय संरचनाको नामकरण अंकमा छैन, जस्तो वडाको नाम पनि नामबाट नै हुन्छ । हाम्रो जस्तो अंकमा हुँदैन । युकेमा मेराे संसदीय निर्वाचन क्षेत्रको नाम हो बेक्सली एण्ड क्रेफोर्ड र वडाको नाम हो नर्थइन्ड । यदि हामीले बेलायतको स्थानीय निकायको नामकरण जस्तै हाम्रा स्थानीय निकायहरुलाइ अंकबाट नाममा रुपान्तरण गर्ने हो भने स्थानीय निकाय पुनर्संरचना गर्दा हराएका नामहरुलाई पुन:ब्युताउन सक्छौँ ।
कुन्साङ काकाले बेलायत बसाइमा यी सबै तथ्यहरुलाई आफ्नो डाइरीमा एक -एक टिपोट गर्न सक्नु भयो भने हाम्रा शासकहरुको कान भर्न पुग्ने प्रशस्त सामाग्रीहरु लिएर फर्कन सक्नु हुनेछ ।
लेखक – खस अन्तर्राष्ट्रिय समन्वय समाजका संयोजक हुन् ।