नेपाल र कोस्टारिकाले कृषि र मौसम परिवर्तनबारे मिलेर काम गर्ने

प्रधानमन्त्री केपी शर्मा ओली सान होजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभारादो क्वेसाडासँग भेटवार्ता गर्दै । तस्वीर –सुरेन्द्रबहादुर नेपाली, सान होजे, रासस

सान होजे, १६ असोज – प्रधानमन्त्री केपी शर्मा ओली र कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभारादो क्वेसाडाबीच अन्तर्राष्ट्रिय शान्ति, कृषि, मौसम परिवर्तन आदि क्षेत्रमा मिलेर काम गर्नसक्ने विषयमा छलफल भएको छ ।

वार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफूले कोस्टारिकाका विषयमा धेरै कुरा सुनेको, अहिले देख्न पाएको र भ्रमणका लागि यसभन्दा उपयुक्त समय नभएको बताउनुभयो । उहाँले कोस्टारिकाले आर्थिक, वातावरण संरक्षण, मानवाधिकारजस्ता विषयमा निकै प्रगति गरेको आफूले देखेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आफूले पिरिस जलविद्युत् परियोजना तथा वायुऊर्जा संयन्त्र हेर्ने मौका पाएको, शान्ति विश्वविद्यालयमा मानार्थ विद्यावारिधिको उपाधि स्वीकार्दा शान्ति तथा सामाजिक– आर्थिक विषयमा छलफल गर्न पाएको जानकारी दिनुभयो । उहाँले दुई देशबीच सम्बन्ध तथा सहयोगका क्षेत्र विस्तार गर्ने विषयमा छलफल भएको र त्यसमा गरीबी, गरिबी निवारण, दिगो विकास, वातावरण संरक्षण, स्वच्छ ऊर्जा र अन्य विषय समेटिएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले दुई नेतृत्वबीच नेपालको प्राथमिकता, समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य, वातावरणीय परिवर्तन, महिला सशक्तीकरण, प्रजातन्त्र, सुशासन, निःशस्त्रीकरण आदि विषयमा पनि छलफल भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति क्वेसाडा तथा प्रथम महिलालाई उपयुक्त छिटो समयमा नेपाल भ्रमणको निमन्त्रणा पनि दिनुभएको छ । प्रधानमन्त्री ओली तथा राष्ट्रपति क्वेसाडाबीच छुट्टै एकल वार्तासमेत भएको थियो । यसपछि दुई मुलुकबीच प्रतिनिधिमण्डलस्तरमा वार्ता भएको थियो ।

कोस्टारिकाका प्रथम महिला क्लाउडिया डोबल्स कामार्गोले पनि प्रतिनिधिमण्डलसँग भेट गर्नुभएको थियो । उहाँले प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यसँग छुट्टै वार्ता गर्नुभएको थियो ।

प्रधानमन्त्री ओली आज राष्ट्रपति क्वेसाडासँग भेटवार्ता गर्न कोस्टारिका कला सङ्ग्रहालय आइपुग्दा उहाँलाई प्रथम उपराष्ट्रपति तथा विदेश मामिलामन्त्री एप्सी क्याम्पबेल बारले स्वागत गर्नुभएको थियो ।

स्वागतपछि दुवै मुलुकको राष्ट्रिय धुन बजाइएको थियो । प्रधानमन्त्री ओलीले आजै कोस्टारिका कला सङ्ग्रहालयको अवलोकन गर्नुभयो । सान होजेको पुरानो विमानस्थलमा रहेको ला सबाना उद्यानमा सो सङ्ग्रहालय अवस्थित छ । सङ्ग्रहालयमा छ हजार कला सजाइएको छ । यो स्थायी सङ्ग्रहालय हो र यसले कहिलेकाहीँ अस्थायी प्रदर्शनी पनि आयोजना गर्छ ।

यहाँ ल्याटिन अमेरिकाका कलाकार जासे साञ्चो, म्याक्स जिमेनेज, फ्रान्सिस्को जुनिगा तथा जर्ज जिमेनेज देखेदियाजस्ता कलाकारका कला प्रदर्शनीमा राखिएको छ । यहाँ कोस्टारिकाका प्रायः सबै कला प्रदर्शनमा छन् भने विश्वभरका करीब ५६० समसामयिक कला पनि राखिएका छन् ।

सङ्ग्रहालयको बाहिरी भागमा मूर्तिकला सजाइएको छ । यहाँ फ्रान्सेली कलाकार लुइस फेरोनको पनि कला सजाइएको छ । आजै कोस्टारिकाका राष्ट्रपति क्वेसाडा तथा प्रथम महिलाले प्रधानमन्त्री ओली तथा उहाँकी धर्मपत्नी शाक्य तथा नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना गर्नुभयो ।

प्रधानमन्त्री ओलीसँग उहाँका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, कोस्टारिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहनुभएको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री