पूर्व बालछापामार बनिन् अन्तर्राष्ट्रिय अल्ट्राम्याराथन च्याम्पियन

तस्वीर ः साउथ चाइना मर्निङ पोष्ट

तस्वीर ः साउथ चाइना मर्निङ पोष्ट

लण्डन । एक वर्षअघिसम्म मीरा राईको परिचय एक आमनेपाली युवतीभन्दा फरक थिएन ।
भोजपुरको दुर्गम गाउँमा जन्मिएकी र विद्यालय पढ्दापढ्दै माओवादी विद्रोही बनेर विद्यालय र परिवार छोडेर हिँडेकी उनले एक दिन अन्तर्राष्ट्रिय खेलाडी बनुँला भनेर सोचेकी पनि थिइनन् ।
माओवादीले बालसैन्यमा भर्ना गरेकाहरु धेरै अहिले पछुतो मान्छन् । क्रान्ति पूरा नभएकोमा । नेताहरुले आफूहरुलाई स्वार्थसिद्धिका लागि प्रयोग गरेकोमा । मीराको भने माओवादी विद्रोही क्याम्पमा बिताएको केही वर्ष नै अहिले अन्तर्राष्ट्रिय अल्ट्राम्याराथन च्याम्पियन बन्ने बाटो बन्न पुग्यो ।
गतवर्ष नेपालमा भएको ५० किलोमिटर दुरीको हिमालयन आउटडोर फेस्टिवलमा प्रथम भएपछि उनले पछि फर्केर हेर्नु परेको छैन । त्यसको केही महिनापछि भएको मुस्ताङ ट्रेल रेसमा उनी प्रथम भइन् । त्यसपछि इटलीमा भएका ५७ किलोमिटरको सेलारेन्दा ट्रेल रेस र ८३ किलोमिटर लामो ट्रेल डेग्ली इरोयमा उनले अरुलाई उछिन्नै दिइनन् । यस्तै, हङकङमा भएको ५० किलोमिटर दुरीको एमएसआइजीमा प्रथम, किङ अफ हिल म्याराथन हङकङमा दोस्रो, एचके एमएलआइजी भर्टिकलमा प्रथम, एमएसआइजी लान्टाउ ५० एचके ५० सेरिजमा दोस्रो स्थान हात पारिन् । यसैसाता काठमाडौँमा सम्पन्न द नर्थफेस काठमाडौँ अल्ट्रा म्याराथनमा उनी फेरि पहिलो भइन् ।
विश्वका लामा दूरीका धावकहरुको पंक्तिमा छोटो समयमा नै उनले आफूलाई उभ्याएको हङकङको साउथ चाइना मर्निङ पोष्टले लेखेको छ ।

०००
मीरा पाँचजना दाजुभाइ दिदीबहिनीमा दोस्रो सन्तान हुन् । पहाडको जीवन दुःखपूर्ण हुने नै भयो । १४ वर्षको उमेरमा उनी परिवर्तनको रंगीन सपना साँचेर कुम्लो बोकेर घर छोडिन् । त्यसपछिको बाँकी दुई वर्ष उनको माओवादी क्याम्पमा बित्यो ।
“शुरुमा राजनीतिसित मलाई चासो थिएन । स्कुलमा विद्यार्थी युनियनले क्याम्पिङ र अरु खेलकुदसम्बन्धी गतिविधि गर्थे । त्यसैले मलाई घर छोड्न त्यसैले उक्सायो” उनी भन्छिन् । उनले माओवादीमा लाग्दैछु भनेर घर छोडेकी थिइनन् । बरु भनेकी थिइन् – केही साताका लागि क्याम्पिङ जाँदैछु ।

तस्वीर ः साउथ चाइना मर्निङ पोष्ट

लडाकु हुँदा मीरा तस्वीर ः साउथ चाइना मर्निङ पोष्ट

राई माओवादी सैनिक हुँदा नेपालमा माओवादी र सरकारबीच दोस्रो शान्ति सम्झौता भइसकेको थियो । त्यसैले भयानक युद्धका भीडन्तको उनले साक्षी बस्न परेन ।
घरबाट दुईदिन हिँडेपछि उनी माओवादी क्याम्पमा पुगिन् । जहाँ उनले खाना पकाउने र पहरेदारी गर्नुपर्थ्यो । बाँसहरु ओसार्नु अराइन्थ्यो । जसबाट क्याम्पहरु बनाइन्थे ।
उनलाई बिस्तारै राइफल, चक्कु, लठ्ठी लगायतका हतियारहरु चलाउन र सफा गर्न पनि सिकाइयो । गोली हान्ने अभ्यास चाहिँ सातामा दुईपटक हुन्थ्यो । यसबाहेक कवाज र साँस्कृतिक गतिविधिहरु त हुने भैहाले । बेलुका नेताहरुले उत्प्रेरणा जगाउने भाषण दिन्थे । जसले उनीहरुको रगत उमाल्थ्यो ।
क्याम्पमा उनले फुटबल, भलिबल, कराते, दौड जस्ता विभिन्न खेलकुदहरुमा उनले भाग लिन पाइन् । “हरेक बिहान हामीले करिब एक घण्टा दौड्न पर्थ्यो। अनि अरु शारीरिक अभ्यास गरेपछि पनि” उनले क्याम्पका दिन सम्झिन् ।
कराते सिकाउने गुरुले मीरामा लुकेको प्रतिभा देखे । त्यही प्रतिभा प्रष्फुटन गर्दै उनले करातेमा ब्लाक बेल्ट लिइन् । ह्वाइट बेल्टदेखि ब्लाक बेल्टसम्मको यात्रामा उनले धेरै दुगुर्नु पर्यो । “म राम्रो दगुर्थें । त्यसबेला नै मेरा गुरुले मलाई दौडमा जाने हो कि भनेर भन्नुभयो” पुराना दिन आलो पार्दै उनले भनिन् । “करातेमा धेरै नियमहरु हुन्छन् तर दौड खुल्ला र नियमविहीन । म मेरो पूरा सामर्थ्य लगाउन पाउँछु” दौड रोज्नुको कारण उनले यसरी खुलाइन् ।
जब क्यानटोनमेण्ट बन्द हुने र माओवादी सेना विघटना हुने कुरा कमाण्डरले सुनाए । जीवनले अर्कै मोड लियो ।
माओवादी सेनाहरु नेपाली सेनामा समायोजन हुने प्रक्रिया शुरु भयो । यसका लागि लडाकुहरुको शारीरिक नापजाँच र अन्तर्वार्ता हुन लागे । अफसोच, शारीरिक तन्दुरुस्तीको बावजूद मीरा आर्मीमा छानिन सकिनन् ।
“छनौट प्रक्रिया निष्पक्ष थिएन किनभने म खेलाडी र तालिमहरुमा पनि राम्रो थिएँ । तर मैले अरु पनि केही गर्न सक्थेँ । त्यसैले धेरै किचकिच गरिनँ” पुराना दिन स्मरण गर्दै उनले भनिन् । शायद उनलाई भगवानले नै आर्मी नबनाएको होला । नत्र त्यतिबेला आर्मी भएको भए उनी आज कसरी अन्तर्राष्ट्रिय च्याम्पियन हुन्थिन् ?
अयोग्य लडाकु राईलाई १० हजार रुपियाँ दिइयो र घर फर्काइयो । तर उनी घर जानुको साटो नजिकको बजारमा बस्न गइन् ।
“माओवादीले केही परिवर्तन गरेका थिएनन् । त्यसैले घर गएर मैले केही भविष्य देखिनँ । म बजारमा बसेर केही जागिर गर्न चाहन्थेँ” घर नजानुको कारण खोल्दै उनले भनिन् ।
राई कराते गुरुसित सम्पर्कमा रहिरहिन् । जसले उनलाई काठमाडौंमा बोलाए र अरु धावकहरुसित बस्न आमन्त्रण गरे । “उनले हामीलाई बस्ने र तालिमको जसोतसो जोहो त गरे तर अल्ट्रा म्याराथन नै दौड्न्छु भनेर त्यतिबेला कल्पना पनि गरेको थिइनँ” उनी भन्छिन् ।

००००

इटलीमा मीरा । तस्वीर ट्रेलरनिङ नेपाल

इटलीमा मीरा । तस्वीर ट्रेलरनिङ नेपाल

अहिले काठमाडौँमा बस्छिन् उनी । तालिम नभएका बेला स्वअध्ययन गर्छिन् । अहिले उनले तालिमका लागि दाताको सहयोग पाएकी छिन् तर थप सहयोग पाएको खण्डमा उनी अंग्रेजी र खेलकुदका बारेमा अध्ययन गर्न चाहन्छिन् ।
उनले विदेशमा गएर पदक जितुँला भनेर कहिल्यै सोचेकी थिइनन् । तर प्रशिक्षकले उनलाई आत्मविश्वास दिलाए । “दौड्दा धेरैले ‘गोरखा गोरखा’ भनेर हुटिङ गरिरहेका थिए । त्यसले मलाई उत्साहित बनायो । म उनीहरुलाई धन्यवाद दिन चाहन्छु” उनी भन्छिन् ।
अहिले आफूले दौडिरहेको अल्ट्रा म्याराथनलाई उनले दैनिक जीवन बाहेक अर्थोक देखेकी छैनन् । ग्रामीण जीवनसित तुलना गर्दै उनी भन्छिन्, “म धेरै दुर्गम गाउँमा जन्मेँ, हुर्केँ। जहाँ पानी लिन, गाइवस्तुलाई घाँस काट्न, दाउरा लिन, साथीहरु भेट्न र विद्यालय जान धेरै टाढा जानुपर्थ्यो । वरिपरि पसलहरु थिएनन् । नुन, तेल लिन मेरी आमा दुईदिन टाढा जानुहुन्थ्यो । आमासित जानलाई कोही न कोही त चाहियो । मै जान्थेँ । त्यसैले ट्रेल म्याराथन मेरा लागि घरको काम गरेजस्तै लागिरहेको छ ।”
अहिले उनी आफ्नै रेकर्ड बनाउन चाहन्छिन् । र, भविष्यमा क्लव खोल्न चाहन्छिन् जसबाट महिला धावकहरु उत्पादन गर्न सकियोस् । “म उनी (महिला)हरुलाई उत्प्रेरित गर्न चाहन्छु र उनीहरुको रोल मोडल बन्न चाहन्छु” युकेको ट्रेल रनिङ म्याजेजिनसित उनीले भनेकी छिन् ।
“जीवन असाध्यै छोटो छ । म नेपालका महिलाहरुका लागि नाम कमाउन चाहन्छु र असल कार्य गर्न चाहन्छु । अन्तर्राष्ट्रिय दौडहरुमा भाग लिन चाहन्छु ताकि उनीहरुले नेपालको नाम थाहा पाउन्” उनी अगाडि भन्छिन् ।

साउथ चाइना मर्निङ पोष्ट र ट्रेल म्यागेजिनको सहयोगमा तयार

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री