बेलायतमा घरवारबिहीन बढे, अवस्था दयनीय

पूर्व काउन्सिलर तथा दि गोर्खा मेमोरियल फण्डका अध्यक्ष धन गुरुङले बेलायतका घरवारबिहीनलाई क्रिसमस पार्टी दिए

लन्डन । सुन्दा अचम्म लाग्छ तर संसारमै विकसित एक मुलुक बेलायतमा घरवारबिहीनहरुको संख्या बढिरहेको छ । बेलायतको 
राष्ट्रिय तथ्यांक कार्यालय ‘अफिस फर नेशनल स्टयाटिसटिक्स’ ले केही दिन अघि मात्र पहिलोपटक सार्वजनिक गरेको एक तथ्यांकमा यो क्रम बढिरहेको पाइएको हो ।

तथ्यांक अनुसार गत वर्ष सन् २०१७ मा कम्तीमा ५९७ घरवारबिहीन नागरिकको सडक वा अस्थायी वसोवास स्थलमा मृत्यु भयो । उक्त मृत्युदर संख्या पांच वर्ष अवधिमा २४ प्रतिशतले बढि हो । सन् २०१३ मा ४८२ जना घरवारबिहीनको मृत्यु भएकामा सन् २०१७ मा यो संख्या ५९७ पुगेको छ । ५ वर्ष अवधिमा करिब २ हजार ६२७ जनाले ज्यान गुमाएका छन् ।

बेलायतको लन्डन र उत्तर पश्चिम क्षेत्रमा घरवारबिहीनहरुको मृत्युदर बढि पाइएको छ । म्यानचेस्टर, लिभरपुल शहरमा पांच वर्ष यता मृत्यु हुने घरवारबिहीनको संख्या दोब्बर बढि छ । सन् २०१३ मा त्यहां ५५ जनाले ज्यान गुमाएकामा सन् २०१७ मा यो संख्या ११९ थियो । सन् २०१७ मा आधा भन्दा बढि मृत्यु लागूऔषध वा मदिरा सेवन, आत्महत्या र कलेजोमा खराबीका कारण भएको तथ्यांक छ । गत बुधबार बेलायतको संसद भवन अगाडि नै एक घरवारबिहीनको मृत्यु भयो । संसद भवन सामुन्ने मर्ने ति घरवारबिहीन यसै वर्ष दोश्रो थिए ।

गत मंगलबार सामुदायिक मामिला हेर्ने मन्त्री जेम्स ब्रोकनसायरले सडक छेउ सुत्ने मानिसहरुको संख्या बढ्नुमा सरकारी नीति जिम्मेवार नरहेको बीबीसीसंग बताएका छन् । मन्त्री ब्रोकनसायरले पारिवारिक विखण्डन र स्पाइस जस्ता लागू औषधको प्रयोगले यस्तो समस्या बढाएको र यसरी सुत्नेहरुमा ब्रिटेन बाहिरबाट आएका मानिसहरुको संख्या पनि बढी भएको बताए । सरकारी तथ्यांक अनुसार सन् २०१० यता सडक छेउमै सुत्नै मानिसहरुको संख्यामा १६९ प्रतिशतले बढेको देखाएको छ, तर वास्तविक संख्या त्यो भन्दापनि बढी भएको ठानिन्छ ।

अफिस अफ न्यासनल स्टाटिस्टिक्सको स्वास्थ्य तथा जीवन परिघटना इकाई प्रमुख बेन हम्बरस्टानले भने, ‘हरेक वर्ष सैयौं घरबारविहीन मानिसहरुको ज्यान गइरहेको छ । हाम्रो अध्ययनले मृत्यु हुने घरबारविहीनहरुको औसत आयु ४४ वर्ष र तीमध्ये ८४ प्रतिशत पुरुष रहेको देखाएको छ । यसरी ज्यान गुमाउने मानिसहरुमध्ये आधाजसोको आत्महत्या, अत्यधिक रक्सी सेवन वा लागूऔषधका कारण भएको पाइएको छ ।’

बेलायती राजनीतिमा समेत संलग्न डार्टफोर्ड काउन्सिलर डा. बच्चु 
कैलाश कैनी हरेक स्थानीय निकायमा घरबारबिहिनहरुको ब्यवस्थापन गर्न निर्देशिका हुने र सोही निर्देशिका बमोजिम सबै ब्यवस्था काउन्सिलले गर्नुपर्ने बताउंछन् । ‘बेलायतमा घरबार बिहिनको संख्या घटाउन यसै वर्षको अप्रिलदेखि ‘होमलेसनेस रिडक्सन एक्ट २०१८’ लागू भएको छ । घरबारबिहीनहरुका लागि बेलायतमा काउन्सिल वा स्थानीय निकायले अस्थायी बसोबास र दीर्घकालिन बसोबासको ब्यवस्थापन गर्नुपर्ने हुन्छ’, कैनी भन्छन्, ‘हरेक काउन्सिलमा त्यस्ता ब्यक्तिकाबारेमा तथ्यांक संकलन गरेर राखिएको हुन्छ । जस्तै म बसोबास गर्ने काउन्सिलमा गत वर्ष जम्मा ९ जना घरबारबिहीन ब्यक्ति भएको तथ्यांक थियो ।’

त्यस्ता व्यक्तिहरुलाई कुनै सहयोग जरुरत परे हटलाइन टेलिफोन नम्बरमा सम्पर्क गर्न सक्ने गरि सम्पर्क व्यक्ति पनि तोकिएको हुन्छ । बेलायतमा स्थानीय निकायले गैरसरकारी निकायहरुसंग सहकार्य गरेर घरवारबिहीनका लागि विभिन्न किसिमको सहयोग गर्ने ब्यवस्था मिलाएको हुन्छ । विशेष गरि जाडोको बेला घरवारबिहीनलाई खाने, बस्ने ब्यवस्था गर्न र आपतकालीन रुपमा बसोवास ब्यवस्थापन गर्न स्थानीय निकायले थप रकम वा बजेट छुट्याउने कैनीले बताए ।

घरवारबिहीनलाई नेपालीको सहयोग
पूर्व काउन्सिलर तथा दि गोर्खा मेमोरियल फण्डका अध्यक्ष धन गुरुङले बेलायतका घरवारबिहीनलाई क्रिसमस पार्टी दिएका छन् । मातृभूमिबाहेक बेलायतमा पनि च्यारिटी कर्ममा संलग्न रहंदै आएका गुरुङले शनिबार फोकस्टन टाउनका १६ जना घरवारबिहीनलाई नेपाली खाना प्रवन्ध गरिदिएका हुन् ।

गोर्खा मेमोरियल गार्डेन अफ रिमेम्बरेन्समा आयोजित क्रिसमस पार्टीमा घरवारबिहीनले नेपाल र नेपाली मन, खाना एवं गोर्खाको प्रशंसा गरेका थिए । ‘मैले अझ धेरै सहभागिताका लागि प्रयास गरें तर सकिन’, बेलायतमा नेपाली मुलका पहिलो काउन्सिलर गुरुङले भने, ‘सर्वत्र क्रिसमस रमझम भइरहेका बेला ति घरवारविहीनहरुको दयनीय अवस्थाले मेरो मन छोयो र आफ्नो क्षमताले भ्याएको गरें ।’

गत साता बेजिङस्टोकमा बसोबास गर्ने पूर्व डिएसपी शिवजी श्रेष्ठले पनि स्थानीय घरबारबिहीनहरुका लागि खाना र न्यानो कपडा ब्यवस्था गर्न एक च्यारिटी कार्यक्रम गरेका थिए । उक्त च्यारिटी कार्यक्रममा 
संकलित रकमबाट क्याम्रोज डे सेन्टर र नाइट लाइट वीन्टर सेल्टर नामक संस्था मार्फत ति असहाय घरबारबिहिनलाई अत्यावश्यक सामाग्री ब्यवस्था गरिने श्रेष्ठले बताए । इकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित सामाग्री