संयुक्त राष्ट्रसंघ, १३ माघ – संयुक्त राष्ट्रसंघका उच्च राजनीतिक अधिकारीले शनिबार सुरक्षा परिषद्मा भेनेजुयलाको राजनीतिक सङ्कट समाधान गर्न वार्ता तथा सहकार्यको खाचो रहेको बताउनुभएको छ ।
“हामीले भेनेजुयलाका जनताले शान्ति र सम्वृद्धि तथा मानव अधिकारको प्रत्याभूत गराउनका लागि राजनीतिक समाधान खोज्नुपर्ने अवस्था आएको छ,” राष्ट्रसंघका उच्च राजनीतिक तथा शान्तिनिर्माण मामिला अधिकारी तथा उप महासचिव रोजमेरी डिकार्लोले बताउनुभयो ।
भेनेजुयलामा गत हप्ताको बुधबार विपक्षी नेता हुँवा गुइडोले आफुलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि यसबाट सिर्जित अवस्थाबारे छलफलका लागि बोलाइएको १५ सदस्यीय सुरक्षा परिषद्को बैठकमा डिकार्लोको उक्त भनाइ आएको हो ।
भेनेजुयलाको राष्ट्रपतीय निर्वाचनबाट चुनिएर आएका राष्ट्रपति निकोलास मदुरोले राष्ट्रपतिको कार्यभार पुनः सम्हालेको दुई हप्तामै प्रतिपक्षी नेता गुइडोले आफुलाई राष्ट्रपति घोषणा गरे पछि गुइडोको पक्ष तथा विपक्षमा विश्वका विभिन्न मुलुकहरूले भनाइहरू राखेका छन् । आन्तरिम राष्ट्रपतिको घोषणालाई संयुक्त राज्य अमेरिका, ब्राजिल र पेरूले समर्थन दिएका छन् । रूस, चीन, टर्कीलगायतका मुलुकले निर्वाचित राष्ट्रपति मदुरोप्रति नै समर्थन देखाएका छन् । यूरोपेली सङ्घमा आवद्ध मुलुकहरूले तत्काल निर्वाचन गर्न राष्ट्रपति मदुरोलाई दवाव दिएका छन् । उनीहरूले आठ दिनभित्र निर्वाचनको मिति नतोके अन्तरिम राष्ट्रपति गुइदोलाई समर्थन गर्ने शनिबार जनाएका थिए ।
यसैबीच राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले पनि बुधबार नै आफ्ना प्रवक्तामार्फत जारी गरेको विज्ञप्तिमा भेनेजुयला लगायत दक्षिण अमेरिकी मुलुकको ‘तनाव कम गर्न’ समावेशी तथा विश्वासिलो राजनीतिक पहलको आवश्यकता रहेको बताएका थिए ।
शनिबार महासचिवले सङ्कट समाधानका लागि पुनः आफू मातहतका निकायलाई निर्देशन दिएका बताउँदै उपमहासचिव डि कार्लोले भेनेजुयलाका जनताले मानव अधिकारको पूर्णतया उपभोग गर्ने अवस्थाको वातावरण हुनु सबैको मुख्य चासोको विषय भएको बताउनुभएको हो ।
भेनेजुयलाका राष्ट्रपति निकोलास मदुरोले तत्काल निर्वाचन गराउन यूरोपेली संघ (इयू) को अन्तिम चेतावनीस्वरूप राखिएको शर्तलाई अस्वीकार गनुभएको टर्कीबाट प्रशारण हुने एक टेलिभिजनले जनाएको छ ।
भेनेजुयला इयूमा आवद्ध नरहेकोले उसको निर्देशन मान्न आफू बाध्य नहुने राष्ट्रपति मदुरोको भनाइ छ ।
अमेरिकी टेलिभिजन सीएनएनको टर्कीबाट प्रशारण हुने च्यानल ‘सीएनएन टर्क’सँगको अन्तवार्तामा मदुरोले भन्नुभयो, “उनीहरूले तत्काल निर्वाचन गर्न भेनेजुयलालाई दिएको चेतावनीपूर्ण शर्तलाई फिर्ता लिनुपर्छ । एक सार्वभौम राष्ट्रलाई कसैले अन्तिम चेतावनी दिन सक्दैन ।”
जर्मनी, फ्रान्स, स्पेन लगायतका यूरोपेली शक्ति राष्ट्रहरूले शनिबार भेनेजुयलाले आठ दिनभित्र निर्वाचन नगरे उनीहरूले विपक्षी नेता हुँवा गुइदोलाई अन्तरिम राष्ट्रपतिका रूपमा मान्यता दिने चेतावनी दिएका थिए ।
गुइदोले वर्तमान् राष्ट्रपतिले अघिल्लो कार्यकालमा देशमा भ्रष्टाचार, महङ्गी, मुद्राको अवमुल्यनजस्ता जटिल समस्यालाई रोक्न नसकेको तर निर्वाचनमा सत्ताको व्यापक दुरुपयोग गरी आफू नयाँ कार्यकालका लागि पुनः निर्वाचित भएको घोषणा गरेको, मानव अधिकारको प्रत्याभूत गराउन नसकेको तथा देशमा एकतर्फी शासन गर्न खोजेको बताउँदै गत बुधबार आफूलाई ‘अन्तरिम राष्ट्रपति’ घोषणा गर्नुभएको थियो ।
घोषणाको आधा घण्टामै अमेरिकाले गुइदोलाई मान्यता दिने बताएको थियो भने क्यानडा, ब्राजिल र पेरूलगायतका दक्षिण अमेरिकी मुलुकहरूले पनि गुइदोलाई मान्यता दिने जनाएका थिए ।
तर भेनेजुयलाका राष्ट्रपति मदुरो निर्वाचित राष्ट्रपति भएको बताउँदै रूस,चीन,टर्की लगायतका मुलुकले नेता मदुरोलाई नै मान्यता दिने अडान राखेका छन् ।