पत्रकारिताको विकासक्रममा सञ्चारजगत जनहित भावनाले अभिप्रेरित थियो भने अहिले कर्पोरेट भावनाको प्रभावबाट दिनप्रतिदिन आक्रान्त हुंदै गएको छ । कर्पोरेट प्रभावबाट सञ्चारजगतलाई जोगाउन सरकारी नियन्त्रणको वकालत गर्ने परिस्थितिबाट जत्ति खतरा छ त्यो भन्दा बढी कर्पोरेट पकडबाट सञ्चारलाई स्वतन्त्र राख्न सञ्चारकर्मीहरू सजग हुनु पर्ने अवस्था देखापरिसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मिडियाप्रतिको आक्रामक शैली यसको ज्वलन्त उदाहरण हो ।
सञ्चार जगतलाई सरकारको चौथो अंगका रूपमा स्थापित गर्नमा नेड्हयामदेखि कार्ल बेर्नस्टिन तथा बव उडवार्डसम्मको ठूलो योगदान छ । सञ्चार जगतलाई जनहित (Public Interest) को पक्षमा डोरयाउने र यसको आवश्यकता एवं गरिमा कायम गर्न लामो समय लाग्यो । राजनीति र सञ्चार जगत दुबै जनहित प्रयास एवं प्रजातन्त्र विकासका सहयात्री हुन् ।
‘मार्क्युरियस पोलिटिक्स’ का सम्पादक मार्चमोन्ट नेड्हयामले सेप्टेम्बर १६५१ देखि अगस्ट १६५२ सम्म आफ्नो पत्रिकामा लगातार ’प्रजातन्त्र’ सम्बन्धी सम्पादकीय छापेका थिए । उक्त सम्पादकीयको श्रृंखलालाई आधुनिक संसदीय प्रजातन्त्रको आधार पनि मानिन्छ । उनी प्रजातन्त्रका लागि लड्दा पटक-पटक कैद हुने र छुट्ने गरे । उनी राजा चार्ल्सको विरोध गरेवापत जेल गए । राजा चार्ल्सको टाउको काटिनुभन्दा दुई वर्षपहिला उनले एक्कासी आफ्नो धार परिवर्तन गरेर राजाको पक्ष लिंदै क्रमवेलको घनघोर विरोध गरे । फेरि उनले संसदवादी धार समातेर राजतन्त्रमाथि प्रहार गर्न थाले । समग्रमा हेर्दा उनी सधैं जनहितको पक्षमा इमान्दार बनेर योगदान गरे । वाटरगेट काण्डमा वासिङ्टन पोष्टले निभाएको भूमिकाले पनि लोकतन्त्र बलियो पार्न पत्रकारिताको योगदानलाई निरन्तरता दियो ।
राजनीतिको आरोह अवरोहका क्रममा पत्रकारितालाई जनहितको पक्षमा डोरयाएर कार्ल बेर्नस्टिन र बव उडवार्डले ‘वाटरगेट काण्ड’ पर्दाफास नगरेको भए अहिलेको स्वरुपमा प्रजातन्त्र सजिलै मौलाउने थिएन । यो पत्रकारिताको क्रमलाई धेरैले जनहितमा डोरयाउन योगदान गरेकै कारण सञ्चार जगतलाई जनहितको खम्बाका रूपमा समाजले स्वीकार गरेको हो ।
जनहितको पर्यायवाचीका रूपमा मानिने सञ्चारजगतलाई अहिले ‘फेक न्यूज’ को छिटाले छ्याप्न थालिएको छ । यो आरोप धरातल विहीन होइन भन्ने जनविश्वास छ । ट्रम्पको ट्वीटमा मात्र यो सिमित छैन् । सञ्चारलाई जनहितमा लाग्न नसकेको आरोप यस अघि यस हदसम्म लागेको पनि थिएन । यस तहको यो पहिलो प्रहार हो र यसलाई अन्तिम बनाउन आवश्यक छ ।
एकातर्फ प्रविधि विकासले आम नागरिकमा सूचनाको पहुंच सहज बनाएको छ भने गलत तत्वले पनि प्रविधि उपयोग गर्ने सुविधा पाएका छन् । एकातर्फ ट्वीट जस्ता सामाजिक सन्जालले ट्रम्पजस्ताको सन्देश आमनागरिकमा सोझै पहुंच दिलाउंछ, अर्कोतर्फ आतंकवादीदेखि लागूऔषधका ग्याङसम्मलाई सामाजिक सन्जालले सुविधा पुरयाइरहेको छ ।
नेपालको इतिहास खोतल्ने हो भने सञ्चारलाई जनहितमा डोरयाउनकालागि हरिहर विरही तथा पदम ठकुराठीको पत्रकारिता र सितल कुमारका स्तम्भको ठूलै योगदान रह्यो । उक्त योगदानले देश गणतन्त्र र लोकतन्त्रसम्म पुरयाएको छ । सञ्चार जगतलाई स्वच्छ पार्न आचारसंहिता र गोपनीयता तथा गाली बेइज्जती नियन्त्रण कानून नै पर्याप्त मानियो । तर, साइबर प्रविधिले नागरिक सञ्चारलाई अगाडि बढाउंदै गर्दा परम्परागत नियन्त्रणका ढांचा पर्याप्त नभएको उदाहरण अमेरिकाको चिर्वाचनमा साइबर घोटालाको चर्चाले नै पुष्टि गरेको छ ।
सञ्चार जगत तथा मिडियाले जति आरोह अवरोह भोगेपनि जनहितको उद्देश्यको परिधिबाट बाहिर जान सकेको थिएन । राजनीतिक उद्देश्यमा चलेको होस् वा निजी लगानीमा रहेको सबै सञ्चार जनहितको उद्देश्यभित्र रूमल्लिएकै कारण पत्रकारिता फलिफापसिद्ध भएको हो ।
भूमण्डलीकरण विस्तार हुंदै गर्दा मिडियामा कर्पोरेट जगतले आवश्यकता महसुस गरेपछि लगानी बढेका कारण सञ्चारजगतलाई सुविधायुक्त रूपमा अगाडि बढ्न सहयोग गरेको छ । केही दशक अगाडिसम्म सादा झोला र कलमको प्रतिकले चिनिने सञ्चारकर्मीहरू आधुनिक क्यामरा, रेकर्डर इत्यादि प्रविधिबाट सुसज्जित रवाफवाल पत्रकारको दृष्यमा देखिन्छन् । एक कोणबाट हेर्दा यसलाई सन्तोष गर्ने कारण पनि मान्न सकिन्छ । अर्को तर्फ सरकारी नियन्त्रणका मिडिया र जनताको छुट्टै करबाट चल्ने बेलायतको बीबीसी बाहेक अरू मिडिया स्वतन्त्र मिडियाको परिधि नाघिसकेको महसुश हुन्छ । कर्पोरेट जगतले आफ्नो उद्देश्य निहित सूचना सञ्चार गर्न मिडिया जगतलाई डोरयाउन लगानी गरेको प्रतित हुन्छ । विश्व भूमण्डलीकरणमा देखिइसकेको प्रभावबाट नेपालका मिडिया पनि धेरै लामो समयसम्म अलग रहन सक्दैनन् ।
सञ्चारको स्वतन्त्र छवी र जनहित भावनालाई लगानीको माध्यमबाट कर्पोरेट जगतले आफ्नो कोल्टामा पारिसकेको छ । सञ्चार जगतमा कर्पोरेट जगतको यती लगानी भइसकेको छ कि जनहित भावनाले स्वतन्त्र सूचना प्रवाह गर्नु भन्दा पनि मिडिया कर्पोरेट भावनाबाट प्रभावित हुन वाध्य हुने गरेको छ । आफूलाई स्वतन्त्र ठान्ने
सञ्चारकर्मीहरूलाई पनि यस्तो टार्गेट तोकेर काममा खटाइएको हुन्छ कि उसले जागिर जोगाउन पनि कर्पोरेट स्वार्थमा आफ्नो इमान बन्धकी राख्न वाध्य पारिन्छ । कर्पोरेट सहयोगको विज्ञापन र लगानीको भरमा स्वतन्त्र रहन्छु भन्दाभन्दै पनि जनहित बिर्सनुपर्ने वाध्यतामा परेर सञ्चारजगतको अवरोहले गर्दा समाजमा नकारात्मक असर देखिन थालेको छ ।
चीनबाट नेपाल छिर्ने यातायातका सम्भावित चार नाकाका बारेमा केही वर्षदेखि नेपाली मिडियामा निकै चर्चा चल्न थालेको छ । झट्ट हेर्दा सूचना मात्र जस्तो लाग्ने यो सन्देशमा खोजपत्रकारिताको योगदान झल्कन्छ तर केही घट्नाक्रमलाई विश्लेषण गर्दा ब्यापारिक कुटनीतिको संकेत देखिन्छ । दुईसय किलोमिटर जति टाढासम्म आएको एउटा रेलमा काठमाण्डौं जाने ब्यानर राख्दैमा ठूलो चर्चा चल्नुको पछाडि नेपालको सञ्चारजगतलाई डोरयाउने कुटनीतिक खुवीको बखान जति गाए पनि कम हुनसक्छ । यस घट्नालाई हेर्दा पनि नेपालका मिडिया कति खोजमुलक र कति जनहितमा परिचालित छन् भन्ने बुझ्न सकिन्छ । यस्ता घट्ना दुरगामी प्रभावकालागि नियोजित रुपमा प्रचारित गरिएका हुन्छन् । यो सूचना प्रभावलाई केलाउने हो भने प्रचारबाजीका पछाडि नेपालको यातायात, अर्थतन्त्र र विकासको भविष्यको झल्को पाउन सकिन्छ । हाम्रा नीति निर्माताहरुमा विकासका सोचका आधारमा उपलब्ध सूचनामा आधारित भएर हाम्रै सञ्चारकर्मीबाट प्रवाहित सूचना भएको भए यस्ता सूचनालाई स्वतन्त्र मान्न सकिने थियो ।
उत्तरको तिब्बतमा अहिले ठूला उद्योग स्थापनाकालगि पूर्वाधार तयार भइसकेको अवस्थामा नेपाल छिर्ने चार नाकाको आवश्यकता उत्पादनको बजार खोजीको रुपमा बुझ्न कठिन छैन् । विश्व बजारमा पकड बनाइसकेको देशलाई थोरै ढुवानी खर्चमा धेरै जनसंख्याबीच उत्पादन पुरयाउने सोचका माझ माथि उल्लेखित सूचना प्रवाह भएका हुन् भन्ने छर्लङ्ग नै छ । त्यो बजार नेपाल मात्र नभएर पूर्व, पश्चिम र दक्षिण तिरको नेपाल वरिपरिको बाक्लो बस्तीको जनसंख्यालाई लक्षित हो र त्यस विषयमा नेपाली राजनीतिज्ञभन्दा छिमेकी कुटनीतिज्ञहरु चनाखो रहेको देखिनु पनि हाम्रो राजनैतिक संक्रमणकाल लम्बिनुको कारण मान्न सकिन्छ ।
कर्पोरेट जगत जनहितमा कम र नफामा बढि केन्द्रित रहन्छन् भन्नेमा दुईमत हुन सक्दैन् । छिमेकीहरुको राजनीति ब्यापारिक प्रभावबाट ग्रसित हुंदा हाम्रा मिडिया लगानीकर्तामा प्रभाव पार्न लगानी गर्नु स्वभाविक नै हो । मिडियामा कर्पोरेट प्रभावकै अनुपातमा कलमजीवीको स्तन्त्रता बन्धकी बस्दै गएको छ । कलमजीवी जनपक्षीय हुन्छ तर उसको स्वतन्त्रता हरण हुंदै गएपछि सञ्चारजगतको समाज सभ्य बनाउने योगदानमा कमी आउने खतरा रहन्छ । यो नै सञ्चार अवरोहको संकेत हो ।
कर्पोरेट सञ्जालमा फंसिसकेको सञ्चारजगतलाई यस दलदलबाट निकाल्ने समाधान तत्काल नभेटिएपनि यसको समाधान खोज्ने जिम्मेवारी सञ्चारकर्मीहरूले नै निभाउन पर्ने जिम्मेवारी बोध गर्नु सञ्चारकर्मीहरुको कर्तब्य ठहरिन गएको छ ।
(बेल्वासे लामो समयदेखि पत्रकारिता र कानुनी पेशाका जानकार हुन्)