सन् १९९६ को सेप्टेम्बरको आखिरी हप्ताको कुरा हो । यसो गणना गर्दा १६ वर्ष बितिसकेछ । म त्यसबेलाको शाही नेपाल वायुसेवा निगमको उडानबाट बेलायत प्रवेश गरेको थिएँ । म आउने समयसम्म नेपाली ध्वजाबाहक हवाईजहाजले उडान भर्दै थियो । हवाई अड्डा हिथ्रो नभई ग्याटविक थियो ।
त्यसबेला बेलायतमा धेरै नेपाली संघ संस्थाहरु थिएनन् । यति एसोसिएसन थियो । यो सन् १९६० तिर गठन भएको नेपाली संस्था हो । पूर्वी योर्कसायरको हल विश्वविद्यालयमा सैनिक इतिहास पढ्दापढ्दै मैले सन् १९९८ मा अंग्रेजीमा ब्रिटिश मेडल्स एण्ड गुर्खाज भन्ने पुस्तक लेखेँ । म्यानचेस्टरको हिमालयन यति संस्थाले त्यो पुस्तक प्रकाशन गरेको थियो । मेरै सल्लाह र मीनप्रसाद गुरुङको अगुवाईमा ‘गुरुङहरुको संस्था हुनुपर्छ’ भनी सन् १९९९ मा तमु धिँ युकेको स्थापना भएको हो ।
नेपालका राजकुमारहरु त्यसबेला यहाँको इटन कलेजमा अध्ययन गर्थे । रेडिङमा नेप्लिज स्ट्याडर्ड तन्दुरी रेस्टुरेन्ट थियो (अहिले पनि छ) । त्यसका सञ्चालक स्वर्गीय राम तामाङ कुनैबेला नेपालको राजदरबारमा काम गर्थे । त्यसै नाताले त्यो रेस्टुरेन्टमा तत्कालीन युवराज दीपेन्द्र आउने जाने गर्थे ।
त्यसताका रेडिङ रेल स्टेशनमा बाहिर निस्कने ढोकाहरु थिएनन् । रेलबाट झर्नासाथ सोझै बाहिर निस्किइन्थ्यो । तर अहिले त्यहाँ १५ वटा प्लेटफर्म भएको जंगो रेल स्टेशन बनेको छ । त्यसबेला धेरै ठाउँका रेल स्टेशनहरु खुला थिए । आज सारा ठाउँमा बन्दी घेरा बनाइएको छ । लण्डन अण्डरग्राउण्डमा आजको जस्तो घुइँचो पिक आवरमा पनि हुँदैनथ्यो । झन् साँझ ६ बजेपछि त धेरै डिब्बाहरु खाली नै हुने गर्थे ।
म बेलायत आउने समयसम्म गोरखा भर्तीको कारणले कोही पनि बेलायत आएका थिएनन् । बेलायत प्रवेश गर्नेहरु त्यसबेला नेपाली दूताबासका राजदूत, सैनिक सहचारी र कर्मचारीहरुले अनुमतिमा ल्याएकाहरु बाहेक अरु नगण्य थिए । पछि भिजिट भिसामा आउनेहरु, विद्यार्थीहरु र विभिन्न किसिमले बेलायत प्रवेश गरेकाहरु बेलायतमा बस्न थाले । त्यसबेला अध्यागमनमा शरणार्थीको निम्ति निवेदन दिनासाथ खाना र बस्न पाउने सुविधा मिल्थ्यो । सालाखाला दुईदेखि चार महिनाभित्र काम गर्ने अनुमति पत्र होम अफिसबाट प्राप्त हुन्थ्यो । प्रायःजसो यसरी आवेदन दिनेहरुलाई बसोबास गर्ने अनुमति पनि प्राप्त हुन्थ्यो । त्यसबेला नेपालीहरुले बेलायतमा बसोबास गर्न शरणार्थीको आवेदन (नेपाली, भुटानी र तिब्बती शरणार्थीको दर्जा पाउन) चढाउने गर्थे । यसरी असाइलम निवेदन दिनेहरुले शरणार्थी दर्जा नदिइए पनि नेपाल, भुटान, तिब्बत फर्कन सकिँदैन वा फर्केमा ज्यान सुरक्षा छैन भनी सम्वेदनशील तर्क उठाई मानवअधिकारको कारण यस देशमा बस्न पाउँथे । आज बेलायतमा यसरी विभिन्न कारणहरु देखाई असाइलमबाट प्रवेश गरेकाहरुले ठूल्ठूला व्यापार व्यवसाय चलाएका छन् ।
९० को दशकमा नेपालमा पञ्चायतको अन्त्यपछि नेपालीहरु विदेश जान ओइरो लाग्न थाले । त्यसअघि र पछि विदेशमा स्थायी बसोबास गर्न पुगेका नेपालीहरु आप्mनो बर्गत र खुबीले धेरै धनी हुन पुगेका छन् । बेलारुसका उपेन्द्र महतो, जापानका देवमान हिराचन, रुसका जीवा लामिछाने, अष्टेलियाका शेष घलेहरु यसै पंक्तिमा पर्छन् । बेलायतको प्रशासनिक संरचना र व्यापारिक बनोटका कारण यहाँ रातोरात धनी हुन सकिँदैन ।
ब्रिटिश सेनाका गोरखाहरुले बेलायती सार्वभौमिकता रक्षाका लागि आप्mनो जीवन बलिदान गरेतापनि उनीहरुलाई यस देशमा प्रवेश गर्न वञ्चित गरिएको थियो । गोरखाका कथा ब्यथा धेरै छन् । केही गोरखाहरुले अंग्रेज केटी बिहा गरेपछि आफ्ना जागिरबाट हात धुनु परेको थियो । कतिलाई त्यही आरोपमा नेपाल फिर्ता गरिदिने र कालो सूचीमा राखी बेलायत आउन निषेध गरिएको हुन्थ्यो । सन् १९९० को दशकमा गोरखाहरुको अधिकारको लागि गोरखा भूतपूर्व सैनिक संघ (गेसो) स्थापना भई गोरखा आन्दोलन शुरु गरेपछि त्यस्ता ज्यादतिहरु बाहिर आउन थाले । सन् २००४ को शुरुवाती महिनामा गैरकानुनीरुपमा बेलायतमा बसोबास गर्नेहरुलाई पुलिसले समातेर नेपाल फर्काउन थाल्यो । त्यसबेला न्युज अफ द वल्र्डले एउटा समाचार छापेको थियो । लिगल ठाउँमा इलिगल सुरक्षाकर्मी । यो समाचारले बेलायतमा सन्सनी फैलाइदियो । कास्की निवासी एक जना गोरखा हिथ्रो हवाई अड्डा भित्रको अति सम्वेदनशील ठाउँमा पहरा दिइरहेका थिए । उनलाई ‘इलिगल’ भनी नेपाल पठाइयो । एकजना गोरखा अरबियन शेखको घरमा काम गर्थे । होम अफिसमा आवेदन दिँदा ब्रिटिश सेनाको डिस्चार्ज सर्टिफिकेट दिए झन् राम्रो होला भनी लालबुक पनि पेश गरे । ब्रिटिश सेनाको सर्टिफिकेट देख्नासाथ पुलिस लगाई उनलाई नेपाल पठाइयो । यस्तो थियो त्यसबेलाको अवस्था ।
आज बेलायतमा नेपालीहरुको संख्या बढ्नुको कारणमध्ये गोरखा आन्दोलन एक मुख्य हो । गोरखाहरुले सन् २००२ मा जापानी युद्धबन्दी र समान पेन्सनको मुद्दा बेलायतको सर्वोच्च अदालतमा दर्ता गरे । युद्धबन्दीको मुद्दा जिते । पेन्सनको मुद्दा हारे पनि गोरखाहरुप्रति अंग्रेजहरुको धारणामा आमूल परिवर्तन भयो । गोरखाहरु ‘मर्सिनरी’ होइनन् भन्ने चेतनाको विकास भयो ।
१ सेप्टेम्बर २००४ को कुरा हो । त्यसदिन गोरखाहरुलाई माया गर्ने आसफोर्डका पिटर क्यारोलको अगुवाईमा ५०० भन्दा बढी गोरखाहरु लिभरपुल स्ट्रिटस्थित होम अफिस पुगे । त्यसदिन एउटा निर्णय गोरखाहरुको पक्षमा भयो–अबदेखि कुनै पनि गोरखाहरुलाई समातेर नेपाल पठाइने छैन । त्यसैको ठीक एक महिनापछि १ जुलाई १९९७ भन्दा पछि पेन्सन गएकाहरुले बेलायत बस्न पाउने घोषणा बेलायत सरकारले ग¥यो । बेलायतले सन् १९९७ मा ब्रिटिश उपनिवेश हङकङ चीनलाई हस्तान्तरण गरेपछि गोरखा रेजिमेन्ट स्थायीरुपमा बेलायत बस्दै आएको हुनाले यस्तो निर्णय भएको थियो । यसपछि केही गोरखा र तिनका परिवारहरु बेलायत प्रवेश गर्न थाले । सन् १९९७ भन्दा पहिला पेन्सन आएकाहरु पनि बेलायतमा बसोबास गर्न पाउनुपर्छ भनी गेसोले फेरि मुद्दा हाल्यो । अभिनेत्री जोअना लुम्ले, पिटर क्यारोल र लिबडेम पार्टीले गोरखाहरुको पक्षमा अभियान गरे । ३० सेप्टेम्बर २००८ मा गोरखाहरुले सो मुद्दामा विजय हासिल गरे । सबै गोरखाहरु बेलायतमा बसोबास गर्न पाउने आदेश त भयो तर अदालतले जिताए पनि बेलायत सरकारले त्यसलाई कार्यान्वयन गरेन । अन्ततः २९ अप्रिल २००९ मा बेलायती संसदमा गोरखाहरुको बारेमा ४ घण्टा ३० मिनेट बहस भयो । २१ मतको अन्तरले गोरखाहरुले फेरि जित हात पारे । त्यही संसदको निर्णयको आधारमा २९ मे २००९ मा बेलायती संसदमा गोरखा नीति पारित भयो र विश्वमा जहाँकहीँ रहेका गोरखाहरुले बेलायत बसोबास गर्न पाउने व्यवस्था भयो । यो पैmसलाको परिणामस्वरुप आज दोस्रो विश्वयुद्धदेखि मलायाको जंगलबाट रिडन्डेन्सीमा पठाइएकाहरुसम्म बेलायत आएका छन् ।
आज बेलायतको विभिन्न ठाउँहरुमा बूढाबूढी भएका गोरखाहरु बस्न थालेका छन् । लगभग २० हजार गोरखा र तिनका परिवारहरु बेलायतमा प्रवेश गरेको एक अनुमान छ । अहिले युकेमा गाउँले पार्टी, नम्बरी पार्टी, हरेक जातीय संघ संस्थाहरु, राजनैतिक पार्टीहरु, भूपू संगठनहरु, नेपाली पत्रिकाहरु पनि सञ्चालन भैरहेका छन् । विशेषगरी गर्मीयाममा बेलायतभरि दिनहुँ कुनै न कुनै संस्थाको पार्टी भैरहेकै हुन्छ । अहिले बेलायतमा लगभग १ लाख ५० हजारभन्दा बढी नेपालीहरु बसोबास गरेको अनुमान छ । त्यसको २५ प्रतिशत हिस्सा गोरखा र तिनका परिवारहरुको छ ।
बेलायतमा यति पछिको अर्को संस्था हो नेपलिज डाक्टर एसोसिएसन । तर यो संस्थाको चर्चा त्यति धेरै छैन । किनभने यो संस्थामा बस्ने डाक्टरहरुको आम नेपालीहरुसँग त्यति घुलमिल भएको देखिँदैन । अहिले गैरआवासीय नेपाली संघ (एनआरएन) पनि युकेमा छ । विश्वका विभिन्न देशहरुमा पनि सञ्जाल रहेको यस संस्थामा हरेक दुई वर्षमा नयाँ कार्यसमितिको निर्वाचन हुन्छ । निर्वाचनमा हुने प्रतिस्पर्धाले नेपालीमा मेल नभएको साबित गराउँछ । हुँदाहुँदा अहिले युकेमा एउटै पार्टीभित्र पनि चुनाव हुने गरेको छ । नेपालका राजनीतिक पार्टीका नेताहरु अहिले यहाँ मनग्गे आउन थालेका छन् ।
अहिले बेलायतमा नेपालीको गजबको बस्ती भएको छ । सन् २००९ देखि गोरखाहरु आफ्ना परिवारलाई नेपालमा छाडेर यहाँ बसोबास गर्न थालेका छन् । हरेक बूढाबूढीहरु नेपालमा भएका आफ्ना परिवारहरु सम्झँदै बस्ने गर्छन् । कुनै जमाना थियो मलायाको रबर घारीमा गोरिल्लाहरुसित लड्नुपर्दा हरेक ३ वर्षपछि मात्र परिवार भेट्न पाइन्थ्यो । ९ वर्ष नोकरी पुगेपछि मात्र श्रीमती मलाया लैजान अनुमति मिल्थ्यो । त्यसबेला ती गोरखाहरु आफ्ना श्रीमती र परिवारबाट अलग हुनुपरेको थियो । आज तिनै गोरखाहरु आफ्ना छोराछोरीहरुबाट अलग भएर बेलायतमा बस्नुपरेको छ ।