दूतावासमा गण्डकी प्रदेशका मुख्यमन्त्री

लन्डन – हाल बेलायत भ्रमणमा रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको मुहार फेर्ने अहिले उपयुक्त समय भएको बताएका छन् । यहाँस्थित नेपाली दूतावासद्वारा बिहिबार बेलुका आयोजना गरिएको एक स्वागत समारोहमा बोल्दै मुख्यमन्त्री गुरुङले लामो समयपछि नेपालमा स्थिर सरकार बनेको र विकासको सिढी चढ्न अहिले उपयुक्त समय आएको बताए ।

‘बंगलादेश चढिसक्यो । भुटान र मालदिभ्सले पनि उछिनी सके । यो अवसर पनि हामीले गुमायौं भने इतिहासले के भन्ला ?’- उनले प्रश्न गरे ।   

विदेशस्थित नेपाली कूटनीतिक नियोगहरुलाई आर्थिक कूटनीतिमा बढी ध्यान दिन पनि उनले सुझाव दिए ।

‘नेपालको व्यापार घाटा डर लाग्दो स्तरमा पुगेको छ । अहिलेसम्म विप्रेषणले धानेको छ, तर त्यो पनि घट्दै छ । यस्तो बेला नेपालको बाह्य व्यापार बढाउन नेपाली नियोगहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ’- उनले भने ।

मुख्यमन्त्री गुरुङले नेपालमा शान्तिपूर्ण क्रान्ति भएकाले सेना, प्रहरी र निजामती सेवामा खासै फेरबदल नगरिएको र नेपालको ‘ब्युरोक्रेसी’ ले अझै पुरानो मानसिकताले काम गरिरहेको गुनासो पनि गरे । उनले नेपाल सरकार नेपालमा विदेशी लगानी भित्र्याउन कटिबद्ध रहेको बताउंदै त्यसमा सघाउन बेलायत लगायत प्रवासमा बसेका नेपालीहरुलाई आग्रह गरे । उनले आउंदो २५ वर्ष भित्र गण्डकी प्रदेशका वासिन्दाको प्रति व्यक्ति आम्दानी वार्षिक  १५ हजार डलर पुराउने उद्देश्य लिएर प्रदेश सरकारले काम गरिरहेको पनि सुनाए ।

सो अवसरमा मुख्यमन्त्री गुरुङलाई स्वागत गर्दै बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुबेदीले युरोपस्थित सबै मुलुकहरुसंग नेपालको व्यापार घाटा रहेको तर बेलायत संगको व्यापारमा भने नेपाल नाफामा रहेको बताए । उनले भूकम्पपछि नेपाल जाने ब्रिटिश पर्यटकहरुको संख्या घटेर २९ हजार पुगेकोमा गत वर्ष ६३ हजार पुगेको बताए । “यो वर्ष ७५ हजार र आउंदो वर्ष एक लाख ब्रिटिश पर्यटक नेपाल लैजाने उद्देश्यले हामी काम गरिरहेका छौं, यो लक्ष अवश्य पुरा गर्ने छौं,” उनले भने ।

राजदूत सुवेदीले कार्पेट, गार्मेन्ट र हस्तकला बाहेक अहिले आएर बेलायतको बजारमा नेपाली चिया र नेपाली कफीको प्रवर्धन गरिदै रहेको पनि जानकारी दिए । उनले दूतावासले वेल्स, उत्तरी आयरल्याण्ड, डब्लिन लगायत शहर पुगेर नेपाल प्रवर्धनको काम गरिरहेको जानकारी पनि गराए । राजदूत सुवेदी अन्तरराष्ट्रिय कफी संघका उपाध्यक्ष पनि हुन् ।

तमुधि युकेद्वारा गत आइतबार आयोजित नेपाली मेलामा प्रमुख अतिथिको रुपमा भाग लिन गुरुङ बेलायत आएका हुन् । -इकान्तिपुर

तस्वीर- नेपाली दूतावास, लन्डन

प्रतिक्रिया

सम्बन्धित सामाग्री