लन्डन । एनआरएनए यूके निर्वाचन शुरु हुन करिब दश घण्टा बांकी रहंदा अध्यक्ष प्रत्यासी पुनम गुरुङको एउटा आन्तरिक दस्तावेजले अर्का प्रत्यासी शेरबहादुर सुनार ९०५ मतान्तरले पछाडि पर्ने जिकिर गरेको छ ।
शुक्रबार दिउसो भएको पुनम समूहको तयारी बैठकमा जोड घटाउसहित प्राप्त हुन सक्ने मत सर्वेक्षण गरिएको हो ।
पुनमले अल्डरसटबाट १४०० मत, प्लमस्टिडबाट ८००, केन्टबाट १५०, हयारोबाट ४५०, रेडिङबाट ४००, बेजिङस्टोकबाट ४००, स्वीन्डनबाट ३००, बर्मिङहमबाट ५००, लेस्टरबाट ५५०, स्कटल्याण्डबाट २५०, नर्दन आयरल्याण्डबाट २० र वेल्सबाट ३५ मत ल्याउने दाबी गरिएको छ ।
त्यसैगरि, शेर सुनारले नर्दन आयरल्याण्ड, वेल्स, लन्डन हयारो र केन्टबाट पुनमभन्दा बढि मत ल्याउने क्यालकुलेसन गरिएको छ । शेर सुनारले अल्डरसटबाट ९००, प्लमस्टिडबाट ६००, केन्टबाट ४००, हयारोबाट ८००, रेडिङबाट ३५०, बेजिङस्टोकबाट २००, स्वीन्डनबाट २५०, बर्मिङहमबाट २५०, लेस्टरबाट २५०, स्कटल्याण्डबाट २००, नर्दन आयरल्याण्डबाट ८० र वेल्सबाट ७० मत ल्याउने सर्वेक्षण गरिएको छ ।
संयुक्त अधिराज्यको १३ मतदान केन्द्रबाट मतदान व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ । यसपटक मतदाता संख्या १३, ६२९ छ । पञ्जिकृत सदस्यका हिसाबले ८० देशमा रहेका गैरआवासीय नेपाली संघका शाखामध्ये बेलायत सबैभन्दा ठूलो हो ।
मत गणना आइतबार अपरान्हसम्म भइसक्ने अपेक्षा गरिएको छ ।