लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके उपाध्यक्ष सुनिल खड्काले चितवनस्थित मानवसेवा आश्रमलाई आर्थिक सहयोग गरेका छन् ।
खड्काले बेलायतको वेष्ट बाइ फ्लीटमा सञ्चालित आफ्नो ‘न्यू हवेली रेष्टुरेन्ट’ को वार्षिकोत्सव कार्यक्रममा संकलित करिब १ लाख ७० हजार रुपैयां नेपालमा मानसिक रोगीहरुका लागि कार्यरत संस्था मानवसेवा आश्रमलाई सहयोग गरेका हुन् । गत २८ अक्टोबर सोमबार रेष्टुरेन्टमा आयोजित कार्यक्रममा ग्राहकले स्वतस्फूर्त चन्दा प्रदान गरेका थिए । खड्काले मानव सेवा आश्रमको कामबाट प्रभावित भएर सहयोग गरिएको जनाउंदै चन्दादाताहरुप्रति आभार व्यक्त गरेका छन् ।
गत फेब्रुअरीमा मात्र खड्काले मानवसेवा आश्रमलाई साढे तीन लाख रुपैयां प्रदान गरेका थिए । उनले संस्थापक अध्यक्ष रामजी अधिकारीलाई बेलायतमा निमन्त्रणा गरेर विभिन्न कार्यक्रम तथा च्यारिटी समेत गरेका थिए ।
एनआरएनए यूके उपाध्यक्ष खड्का व्यवसाय अलवा समाजसेवामा आफूलाई क्रियाशिल गराउन रुचाउंछन् । उनी गत महिना चितवन पुगेर सडक वालवालिकाहरुको उद्धारका लागि आफैं खटिएका थिए ।