क्रोयडन नेपाली समुदायसंग पहिलोपटक राजदूत


लन्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी पहिलोपटक क्रोयडनस्थित नेपाली समुदायमाझ पुगेका छन् । आफ्नो कार्यकालमा सम्भव भएसम्म हरेक कुना पुगेर नेपाली समुदायसंग साक्षात्कार गर्ने उद्देश्य राखेका 
राजदूत डा. सुवेदी बिहीबार त्यहां सहभागी भएका हुन् ।

क्रोयडन नेपलिज कम्युनिटी यूकेको नयां कार्यसमितिको शपथ तथा भावी योजना अवगत गराउन आयोजित कार्यक्रममा राजदूतले दूतावासलाई आफ्नो घर ठान्न आग्रह गरे । ‘म अहिले राजदूतभन्दा पनि साथी, छोरा, दाजुभाईका रुपमा माया र सद्भाव लिएर आएको छु’- कार्यक्रमका प्रमुख अतिथी डा. सुवेदीले भने, ‘दूतावास सबै नेपालीको साझा घर हो । निरन्तर सम्पर्कमा रहिरहनुस् ।’

रोजगारी वा अन्य वाध्यताले प्रवासमा जहां रहेपनि नेपालीपन र नेपालीमन नभुल्न उनले आग्रह गरे । ‘हामी जुन कुनामा पुगेपनि नेपाली हौं । नेपाली भएरै बांच्ने हो, नेपाली भएरै हांस्ने हो’-डा. सुवेदीको भनाइ थियो ।

उनले आफ्नो धर्म, कला संस्कृति, रहनसहन, भेषभूषा, मौलिक संस्कार, परम्परा कदापी नभुल्न जोड दिए । ‘यही जन्मे, हुर्केका आफ्ना सन्तानलाई पनि नेपाली भाषा बोल्न सिकाउनुस्, तपाईंहरु कम्तीमा वर्षमा एकपटक भएपनि नेपाली पोशाक लगाउने गर्नुस्’- उनले भने ।

राजदूतले क्रोयडन नेपलिज कम्युनिटी यूकेका नयां अध्यक्ष डा. सुरजमणि पौडेललाई बधाइ तथा शुभकामना दिंदै नेपाली समुदायमा एकता, भातृत्व, समझदारी र सहिष्णुता कायम राख्न आग्रह गरेका थिए । ‘हामी बेलायतबाट एक लाख पर्यटक नेपाल पठाउने अभियानमा जुटिरहेका छौं । हाम्रो यो लक्ष्य र ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन कम्तीमा एकजना ब्रिटिश साथी नेपाल पठाएर हामीलाई सहयोग गर्नुहोस्’- उनको अनुरोध थियो ।

राजदूतले संस्थाको भावी कार्यक्रममा ‘हामी जहां भएपनि नेपाल र नेपालीलाई भुल्ने छैनौं’, ‘दूतावास सबै नेपालीको साझा घर हो, निरन्तर सम्पर्कमा बस्छौं’ जस्ता 
बुंदा थप्न पनि सुझाए ।

कार्यक्रमका विशेष अतिथी क्रोयडन मेयर काउन्सिलर हुमायुन कबिरले नेपाली समुदायलाई सहयोग गर्न आफू सधैं तयार रहेको जनाउंदै नेपालीलाई पनि बेलायती राजनीतिमा आउन आग्रह गरे । ‘म ४० वर्षअघि यूके आएर सानो बिजनेश गर्दै १० वर्ष काउन्सिलर र अहिले मेयर भएको छु । नेपाली समुदाय पनि राजनीतिमा आओस् भन्ने मेरो चाहना छ’- उनले भने ।

संस्थाका सचिव केशव ढकालले सञ्चालन गरेको पहिलो औपचारिक कार्यक्रममा सदस्य सुनिता श्रेष्ठले संस्थाका गतिविधि र भावी योजनाबारे ‘प्रिजेन्टेसन’ दिएकी थिइन् । सन् २०११ मा एक नेपालीको हत्या भएपछि सामूहिक एकता र सहयोगको आवश्यकता महशुस गरि संस्था गठन गरिएको थियो । ध्रुवहरि बास्कोटा संस्थापक अध्यक्ष हुन् । अहिले संस्थाले नेपाली कला संस्कृति जगेर्ना, नेपाल प्रवर्धन र भातृत्व एवं एकतालाई पनि जोड दिइरहेको छ । श्रेष्ठले संस्थालाई च्यारिटीमा दर्ता गर्ने तयारी भइरहेको पनि बताइन् ।

कार्यक्रममा क्रोयडन नेपलिज कम्युनिटी यूकेका नयां अध्यक्ष डा. सुरजमणि पौडेल नेतृत्वको नयां कार्यसमितिलाई संस्थापक अध्यक्ष ध्रुवहरि बास्कोटाले शपथ खुवाएका थिए भने पदाधिकारी तथा सदस्यहरुलाई राजदूत डा. सुवेदी र मेयर हुमायुन कबिरले खादा र प्रमाणपत्र प्रदान गरे । सो अवसरमा संस्थापक अध्यक्ष बास्कोटा र पूर्व अध्यक्ष नवीनकुमार कार्कीले नयां कार्यसमितिलाई शुभकामना दिए ।

अध्यक्ष डा. सुरजमणि पौडेल

अध्यक्ष डा. सुरजमणि पौडेलले पुरानो कार्यसमितिप्रति आभार व्यक्त गर्दै आफ्नो पहलमा दश वर्षमा पहिलोपटक नेपाली राजदूत र स्थानीय मेयरलाई एउटै ‘प्लेटफर्म’ मा ल्याउन सफल भएकामा गर्व लागेको बताए । अध्यक्ष पौडेलले मेयर कबिर नेपाली समुदायप्रति एकदम सकारात्मक रहेको र कार्यक्रम गर्न टाउन हल समेत उपलब्ध गराएकामा आभार व्यक्त गरे ।

पौडेलले स्थानीय निकाय र नेपाली समुदायसंग निकटमा रहेर काम गर्ने जनाउंदै समाज, देश, युवा र वृद्धवृद्धाको सहयोगमा निरन्तर लाग्ने प्रण गरे । सदस्यता विस्तार, वेवसाइट निर्माण, सामुदायिक हितमा परामर्श लगायत योजना पनि उनले सुनाए ।

कार्यक्रमको दोश्रो चरणमा सांस्कृतिक प्रस्तुति भएको थियो । संस्थाकी सह-कोषाध्यक्ष रजना केसीले सञ्चालन गरेको उक्त सत्रमा शैली डंगोल, लिडिया खपांगी र बन्दना दर्नालले नृत्य देखाएका थिए भने औपचारिक सत्रमा आर्या पौडेलले स्वागत नृत्य प्रस्तुत गरिन् । अन्त्यमा डिजे हेम बिष्टले नचाए ।

दूतावासका द्वितिय सचिव लव सुवेदीसहित नेपाली तथा विदेशीहरु सहभागी उक्त कार्यक्रममा स्वयंसेवक, प्रायोजक र कलाकारहरुलाई प्रशंसापत्र दिइएको थियो ।

तस्बिरहरु- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री