बेलायतका दर्शकले पनि रुचाए ‘६ माया छपक्कै’

लन्डन । नेपालमा सर्वाधिक लोकप्रिय फिल्म ‘६ माया छपक्कै’ बेलायतका दर्शकले पनि रुचाएका छन् । नेपलिज इन्टरटेनमेन्ट यूकेले आइतबार अल्डरसटस्थित एम्पायर हलमा गरेको प्रदर्शनमा सयौं सहभागी भए ।

विषयवस्तु गहन र राजनीतिक भएपनि हांस्यव्यंग्य मिश्रित भएकाले फिल्म हेरुन्जेल दर्शकले कत्ति पट्यार मानेनन् ।

फिल्म प्रदर्शन अघि संक्षिप्त मन्तव्य राख्दै नेपालबाट आएका खलनायक अनुराग कुंवरले विदेशका नेपालीलाई पनि गुणस्तरिय चलचित्र देखाउने चाहना अनुरुप आफू बेलायत आएको बताए । सो अवसरमा एम्पायर हलका सञ्चालक पुरन गिरी र नेपलिज इन्टरटेनमेन्ट यूकेका सिद्धार्थविक्रम क्षेत्रीले खलनायक 
कुंवरलाई सम्मान गरे ।

मधुसुदन थापाले सञ्चालन गरेको ५ मिनेट लामो औपचारिक कार्यक्रममा स्वर्गीय कलाकार दीपक क्षेत्रीप्रति श्रद्धाञ्जलि अर्पण गर्न एक मिनेट मौनधारण गरिएको थियो ।

नेपलिज इन्टरटेनमेन्ट यूकेका बीरेन खड्का, सिद्धार्थविक्रम क्षेत्री, अनिल मल्ल, तारा गर्बुजा र मधुसुदन थापाको पहलमा फिल्म प्रदर्शन भएको हो । यो फिल्म बेलायतका अन्य शहरमा पनि देखाइनेछ ।

दीपेन्द्र लामा निर्देशित ‘छ माया छपक्कै’ मा दीपकराज गिरी, केकी अधिकारी, प्रकाश घिमिरे, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट, रमा थपलिया, अनुराग कुंवर, सविन बांस्तोला, शिशिर वाङ्देल लगायतको भूमिका छ ।

फिल्मले राजनीतिलाई पूर्णतः नकारात्मक दृष्टिकोणबाट व्याख्या गरेको छ । फिल्मले गाउंमा चलिरहेको दलीय राजनीति प्रस्तुत गर्दै गाउं विकासमा दलको भर पर्न नहुने सन्देश दिएको छ ।

तस्बिर- नरेन्द्र बस्नेत

प्रतिक्रिया

सम्बन्धित सामाग्री