बेलायतका नेपाली सेफहरुले भ्रमण वर्ष अभियानमा सहकार्य गर्ने

लन्डन । बेलायतमा कार्यरत नेपाली सेफहरुले ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियानलाई सघाउने भएका छन् । नेप्लिज सेफ एशोसिएसन युकेले अंग्रेजी नयां वर्ष मनाउने क्रममा उक्त प्रतिवद्धता व्यक्त गरेको हो ।

सोमबार सांझ भेन्यू फाइभ इस्टकोट लन्डनमा आयोजित समारोहमा सेफहरुले नेपाली खानामार्फत आफूहरुले विश्वमा नेपालको चिनारी दिइरहेको बताउंदै भ्रमण वर्षमा विदेशीलाई खानाकै माध्यमबाट आकर्षित गर्न सकिने अठोट लिएका छन् ।

एसोसिएसन अध्यक्ष दधि आचार्यले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा नेपाली खाना महोत्सव गरिने जानकारी दिए । सबै संघसंस्थासंग हातेमालो गर्न आफूहरु तत्पर रहेको बताउंदै अध्यक्ष आचार्यले सबैबाट सहयोग अपेक्षा गरे । कार्यक्रमका सभापति आचार्यले नयां वर्ष तथा पारिवारिक भेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न गराउन सहयोग 
पुरयाउने सबैप्रति आभार पनि व्यक्त गरे ।

समारोहका प्रमुख अतिथि तथा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीले नेपाली खाना र परिकार विश्वभर चिनाउन नेपाली सेफहरुको योगदान अतुलनीय रहेको बताए । राजदूत डा. सुवेदीले दूतावासले नेपाली नयां वर्षको उपलक्ष्यमा आउंदो अप्रिलतिर नेप्लिज सेफ एसोसिएसन युके तथा नेपलिज क्याटरिङ्ग एसोसिएसन युकेसंगको सहकार्यमा खाना महोत्सव गर्न लागिएको जानकारी दिए । उनले ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल पार्न बेलायतस्थित सबै रेस्टुरेन्ट तथा सेफहरुलाई आग्रह पनि गरे ।

कार्यक्रममा राजदूत डा. सुवेदीले एनआरएनए युरोप 
उपसंयोजकमा हालै निर्वाचित एसोसिएसनका संस्थापक अध्यक्ष एवं संरक्षक कृष्ण तिमल्सेनालाई सम्मान गरेका थिए । सम्बोधनका क्रममा समाजसेवी तिमल्सेनाले यस वर्ष आफूमात्र होइन, पुरै परिवार नेपाल लगेर भ्रमण वर्ष सफल पारिदिन आग्रह गरे । उनले संस्था यहांसम्म आइपुग्न सबैको साथ सहयोग रहेको स्मरण गर्दै सबैप्रति आफ्नो उस्तै सम्मान र सद्भाव रहेको पनि बताए ।

विशेष अतिथि गैरआवासीय नेपाली संघका सल्लाहकार कुल आचार्यले आफू पनि सेफ पृष्ठभूमिको भएको जनाउंदै सेफहरुले बिना स्वार्थ मातृभूमिका लागि काम गरिरहेको बताए । भ्रमण वर्ष सफल बनाउन सेफहरुको भूमिका महत्वपूर्ण हुने बताउंदै उनले हरेक नेपाली रेष्टुरेन्टहरुलाई आफ्ना ग्राहकमध्ये केहीलाई नेपाल पठाउन प्रायोजन गर्न समेत आग्रह गरे ।

सो अवसरमा एनआरएनए आइसीसी सदस्य रामशरण सिम्खडा, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, एनआरएन यूके महासचिव फडिन्द्र भट्टराई, ओएनएफ यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी, नेपाल पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष श्याम लुईंटेल, यती नेपाली एसोसिएसन यूकेका अध्यक्ष ध्रुव केसी, नेपलिज क्याटरिङ एसोसिएसन यूकेका अध्यक्ष विजय थापा, एनआरएनए कार्यसमिति सदस्य गोमा पौडेल लगायतले शुभकामना दिएका थिए ।

बेलायतको विभिन्न शहरबाट सेफ र तिनका परिवार सहभागी कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय कलाकारहरु सिर्जु अधिकारी, खिमा रोकामगर र भीम पौडेलले सहभागीलाई भरपुर मनोरञ्जन दिए ।

एसोसिएसनका महासचिव भुपेन्द्र पाठकले सञ्चालन गरेको कार्यक्रममा संयोजक एवं एसोसिएसनका उपाध्यक्ष मोहन ओलीले स्वागत मन्तव्य दिएका थिए ।

तस्बिर- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री