ईयू छाड्ने दिन बेलायतले विशेष कार्यक्रम गर्ने


लन्डन । युरोपेली संघ (ईयू) बाट औपचारिक रूपमा बाहिरिने दिन जनवरी ३१ मा बेलायतले विशेष कार्यक्रम गर्ने भएको छ । सरकारले ३१ को रात विशेष कार्यक्रम आयोजना 
गर्ने तयारी गरेको बेलायती अर्थमन्त्री साजिद जाविदले बताएका छन् ।

युरोपेली संघ त्याग्ने बेलायत पहिलो 
राष्ट्र बन्नेछ  । युरोपेली संघबाट बेलायतको बहिर्गमन 
(ब्रेक्जिट) लाई उसले विभिन्न कार्यक्रम गरी मनाउने भएको हो ।

प्रधानमन्त्री बोरिस जोन्सनले सोही रात राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम छ  । उत्तरी बेलायतमा बिरलै हुने मन्त्रिपरिषद्को बैठकपछि उनले युरोपेली संघबाट बाहिरिएपछि आर्थिक समस्याले घेरिएको क्षेत्रमा अवसर सिर्जना गर्ने योजनाबारे सम्बोधनमा जोड दिने बताइएको छ ।

साथै, लन्डनको डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्रीको सरकारी निवासमा घडी राखिने छ, जसले रोकिनुअघि रातको ११ बजेसम्म ‘काउन्ट डाउन’ गर्नेछ । ह्वाइटहलको वरपर बत्ती बालिनेछ भने ‘पार्लियामेन्ट स्क्वायर’ का सबै खम्बामा युनियन झन्डा फहराइनेछ  । सरकारले सो दिनबाटै प्रचलनमा आउने गरी स्मारक सिक्का पनि जारी गर्नेछ  ।

बेलायतले जनवरी ३१ को मध्यरातबाट आधिकारिक रूपमा युरोपेली संघ छोडे पनि उसले संक्रमणकालीन रूपमा अर्को ११ महिना सोही संघकै नीतिनियम मान्नेछ  ।

देशले औपचारिक रूपमा युरोपेली संघ छोड्दा बेलायतका केही व्यापारिक क्षेत्रमा भने प्रभाव पर्न सक्ने अर्थमन्त्री जाविदले बताएका छन्  ।

‘फाइनान्सियल टाइम्स’ संग शनिबारको अन्तर्वार्तामा उनले भविष्यमा बेलायतसंग युरोपेली संघका नियम नजोडिने भएकाले त्यसले केही व्यापारिक क्षेत्रलाई भने हानी पुग्न सक्ने बताए । हाल बेलायत युरोपेली 
संघको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो ।

‘अब कुनै संलग्नता हुने छैन्, हामी एकल बजारमा हुने छैनौं र हामी भन्सार युनियनमा पनि हुने छैनौं । हामी यसै वर्षको अन्त्यसम्ममा सबै प्रक्रिया पूरा गरिसक्ने छौं’- युरोपेली संघका तत्कालीन २७ सदस्य राष्ट्रसंग विवादित व्यापार वार्तामा निष्कर्ष निकाल्नका लागि दिइएको सन् २०२० को अन्त्यसम्मको समयसीमा उधृत गर्दै उनले बताए  ।

युरोपेली संघमा हाल २८ सदस्य राष्ट्र छन् । बेलायत युरोपेली संघ त्याग्ने पहिलो राष्ट्र बन्दैछ  । आप्रवासीको प्रवेश र अन्य देशबाट आउने कामदारका कारण रोजगारी गुमेको भन्दै बेलायतमा लामो समयदेखि युरोपेली संघ छोड्नेबारे वहस भएको थियो । त्यहीबीचमा सन् २०१६ मा युरोपेली संघमै बस्ने वा बाहिरिनेबारे जनमत संग्रह भएको थियो । सो जनमत संग्रहले युरोपेली संघ छोड्नुपर्ने पक्षमा बहुमत दिएपछि ब्रेक्जिटले औपचारिक प्रवेश पाएको थियो ।

दुई वर्षभित्र युरोपेली संघ छोडिसक्ने भने पनि 
निर्धारित समयमा सम्पन्न हुन सकेन  । यसबीचमा करिब पांच वर्षको अवधिमा तीन पटक निर्वाचन भयो भने ब्रेक्जिटलाई मूर्त रूप दिने प्रतिवद्धतासहित प्रधानमन्त्री बनेकी कन्जरभेटिभ दलकी टेरेजा मेले निर्धारित समयभित्रै काम सम्पन्न गर्न नसकेपछि पद त्याग गरिन् । उनलाई पदस्थापन गर्दै कन्जरभेटिभकै बोरिस जोन्सन प्रधानमन्त्री बने । मे विपरीत उनले बिनासम्झौता पनि युरोपेली संघ छोड्न सकिने पक्षमा लबिङ गरे ।

ब्रेक्जिटबारे आफूलाई थप जनमत आवश्यक रहेको भन्दै उनले गत डिसेम्बर १२ का दिन आमनिर्वाचन गराए  । उनको दलले बेलायती संसदमा स्पष्ट बहुमत प्राप्त गरयो  । नयां संसद् सुचारु भएसंगै ‘ब्रेक्जिट डिभोर्स विधेयक’ तत्काल पारित भयो र बेलायतले अन्तिम समयसीमा जनवरी ३१ मै युरोपेली संघ छोड्ने भएको हो ।

बेलायतले युरोपेली संघ छोडे पनि यो वर्षको अन्त्यसम्म अन्य सदस्य राष्ट्र र लन्डनले नयां व्यापार सम्झौताको प्रयास गर्नेछन् र बांकी सबै प्रक्रिया पूरा गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री