एनआरएनए यूकेको अघिल्लो आर्थिक प्रतिवेदन छानबिन दायरामा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए ) यूकेको नवौं कार्यसमितिको तेस्रो पूर्ण बैठक आइतबार लण्डन वुल्वीचमा सम्पन्न भयो । संघकी अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न ११ निर्णय गरेको जानकारी महासचिव फडिन्द्र भट्टराईले दिएका छन् । 

बैठकमा निवर्तमान कार्यसमितिका तर्फबाट कोषाध्यक्ष सचिन श्रेष्ठले २२ पृष्ठ लामो आर्थिक प्रतिवेदन पेश गरेका थिए । जसमा संस्थाको कोष १० हजार पाउण्डभन्दा बढि ‘माइनस’ मा छ । सदस्यहरुबाट उठाएको हजारौं पाउण्ड मनलाग्दी खर्च गरिएको छ । सोहि प्रतिवेदनमाथि छानबिन गर्न तीन जना अकाउन्टेन्टका साथ अध्यक्ष पुनम गुरुङ र कोषाध्यक्ष तेजेन्द्र रोका रहने एक समिति गठन गर्ने निर्णय भएको छ । 

बैठकले आगामी मार्च ५ का दिन एनआरएनए स्थापना दिवस मनाउने निर्णय गरेको छ । उक्त कार्यक्रम संयोजन गर्ने जिम्मा आइसिसी सदस्य रामशरण सिम्खडालाई दिइएको छ । 

बैठकबाट एनआरएनए यूके खेलकुद विभागको संयोजन गर्ने जिम्मा कार्यसमिति सदस्य ह्यारी गुरुङलाई लगाइएको छ । यसअघि गठित विभिन्न विभागमध्ये पूर्णता पाइसकेका केहि विभागका संयोजकहरुले त्यसबारे बैठकमा प्रस्तुत गरेका थिए । 

उपाध्यक्ष नारायण कँडेलले प्रस्तुत गरेको राज्य समन्वय परिषद र तीनको क्षेत्राधिकारसम्बन्धी नियमावलीमा थप छलफल आवश्यक रहेको भन्दै पछि निर्णय गरिने भएको छ । राज्य परिषदका पदाधिकारीहरुले नियमावलीमा सुधार गरिनुपर्ने भन्दै थप छलफल आवश्यक हुने आवाज उठाएका थिए । 

बैठकले विभाग गठन तथा कार्यसञ्चालन कार्यविधि र विभाग सञ्चालनसम्बन्धी निर्देशिकालाई भने छलफलपछि पारित गरेको छ । आइसिसीमा मनोनित सदस्यहरुले बुझाउनुपर्ने शुल्कका लागि पत्राचार गर्न कोषाध्यक्ष तेजेन्द्र रोकालाई जिम्मा लगाइएको छ । 

बैठकमा राज्य समन्वय परिषदहरुमध्ये वेल्स परिषदका तर्फबाट अध्यक्ष कृष्ण भण्डारीले आफ्ना कार्यक्रम तथा गतिविधिसम्बन्धी विवरण पेश गरेका थिए ।

आउँदो मार्च ८ मा महिला संयोजक प्रसुना कंडेलको संयोजनमा मनाइने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम सफल पार्न सिंगो कार्यसमिति सक्रिय बन्ने निर्णय भएको छ ।  संघसंस्था विभाग संयोजक एवं उपाध्यक्ष रोजिना प्रधान राईले प्रस्तुत गरेको विभागले आयोजना गर्ने अन्तरक्रिया कार्यक्रमको प्रस्ताव छलफलपछि पारित भयो । 

प्रवक्ता रामकुमार गुरुङका अनुसार, बैठकमा कार्यसमितिका अधिकांश पदाधिकारी र सदस्यहरुको सहभागिता थियो । त्यस्तै, इंग्ल्याण्ड राज्य समन्वय परिषद अध्यक्ष दिपक श्रेष्ठ, वेल्सका अध्यक्ष कृष्ण भण्डारी र आइसिसी सदस्य ललितकुमार न्यौपाने पनि बैठकमा सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री