युरोपेली संसदद्वारा ‘ब्रेक्जिट’ अनुमोदन

लन्डन । युरोपेली संसदले बेलायत ईयू बहिर्गमन सम्बन्धि सम्झौता ‘बेक्जिट वीथड्रल एग्रीमेन्ट’ भारी मतले अनुमोदन गरेको छ ।

ब्रसेल्सस्थित युरोपेली संसदमा बुधबार भएको मतदानमा ६२१ सांसदले बहिर्गमन सम्झौता अनुमोदनको पक्षमा मत दिए भने ४९ सांसद विरुद्धमा उभिए । १३ जनाले मत दिएनन् ।

युरोपेली संसदका अध्यक्ष डेभिड सासोलीले मत परिणाम घोषणा गरेपछि सांसदहरुले प्राचीन स्कटिस गीत ‘अल्ड लाङ जाइन’ गाएका थिए । बीबीसीका अनुसार, संसदमा वहस गर्दा कतिपय सांसदहरु भावुक देखिन्थे ।

सासोलीले ईयूका तर्फबाट सहमति पत्रमा हस्ताक्षर गर्दै बेलायत ईयूबाट अलग्गिए पनि सधैं युरोपको भाग रहिरहने बताए । उनले ‘गुड बाइ’ भन्न धेरै कठिन हुने पनि उल्लेख गरे ।

युरोपियन कमिसन अध्यक्ष युर्सुला भोन डेर लियनले सांसदहरुमाझ ईयू ब्रेक्जिटपछि पनि बेलायतसंग निकट साझेदारका रुपमा रहन चाहेको बताइन् । ‘बहिगर्मन सम्झौता पहिलो खुड्किलो हो’, उनले भनिन्, ‘बेलायतसंग अब नयां साझेदारीका रुपमा सम्झौता शुरु हुनेछ । म स्पष्ट रुपमा ईयू र यूके असल मित्र र साझेदारका रुपमा रहुन् भन्ने चाहन्छु ।’

उनले मन्तव्य समापन अघि भनिन्, ‘हामी सधैं यूकेलाई माया गर्नेछौं । हामी कहिल्यै टाढा हुने छैनौं । युरोप अमर रहोस् ।’

बेलायतबाट प्रतिनिधित्व गर्ने ७३ जना सांसदले भने युनियन झण्डा प्रदर्शन गरेर ईयूसंग बहिगर्मनको हर्षोल्लास गरेका थिए ।

विगत २१ वर्षदेखि युरोपेली संसदमा प्रतिनिधित्व गरिरहेका बेलायतस्थित ब्रेक्जिट पार्टीका नेता नाइजेल फराजले च्याम्बरमा अन्तिम मन्तव्य दिंदै अब ईयूसंग छुट्टिएपछि कहिल्यै नफर्कने बताए । ईयूका कट्टर विरोधी फराजले बेलायतबाट ईयूको बहिगर्मन आफ्नो जीवनकै उपलब्धि भएको पनि बताएका थिए ।

ब्रिटेनले ४७ वर्षदेखिको ईयू सदस्यता यही शुक्रबार राती ११ बजे त्याग्ने तयारी गरेको छ । त्यसपछि ११ महिना ‘संक्रमणकाल’ रहनेछ ।

यसअघि ब्रिटिश संसदको तल्लो सदन हाउस अफ कमन्सले ब्रेक्जिट सम्झौता पारित गरिसकेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको ब्रेक्जिट डिल औपचारिक रुपमा यूकेको कानून समेत बनेको छ । ‘वीथड्रल एग्रीमेन्ट एक्ट’ भनिने उक्त कानून गत बिहीबारदेखि लागू भएको हो । ब्रिटेनकी महारानीले संसदद्वारा पारित ब्रेक्जिट सम्बन्धि कानूनमा हस्ताक्षर गरेपछि बेलायतलाई ईयू छाड्न बाटो खुल्ला भएको छ ।

ब्रेक्जिट सम्झौतामा भविष्यमा यूके ईयू नागरिक अधिकार, उत्तरी आयरल्याण्ड सीमा व्यवस्थापन र बेलायतले ब्रसेल्सलाई पारपाचुके रकम भुक्तानी गर्ने सहमति छ । प्रधानमन्त्री जोनसन संक्रमणकालभित्र ईयूसंग खुल्ला व्यापार सम्झौता गर्ने योजनामा रहेको बताइएको छ । –इकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित सामाग्री