बेलायतको रसमोर बरो र गोरखा नगरपालिकाबीच भगिनी सम्बन्ध

लन्डन । नेपाली उल्लेख्य रहेको बेलायतस्थित रसमोर बरो काउन्सिल र गोरखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित भएको छ ।

गत बिहीबार रसमोर काउन्सिल भवन फार्नबोरोमा आयोजित विशेष समारोहमा रसमोर मेयर काउन्सिलर सु कार्टर र गोर्खा नगरपालिका मेयर राजनराज पन्तले एक सम्झौतापत्रमा हस्ताक्षर गरेपछि यो सम्बन्धले औपचारिकता पाएको हो ।

अहिले तीन वर्षका लागि गरिएको सम्झौतापत्र (एमओयू) मा रसमोर बरो र गोर्खा नगरपालिकाबीच सांस्कृतिक, प्रजातान्त्रिक, प्राविधिक र शैक्षिक अवसरहरु एकअर्काबीच आदानप्रदान गर्ने, 
दुवै निकायका पदाधिकारीहरुको भ्रमण, दुवैपक्षको सामाजिक आर्थिक विकासमा हातेमालो, संयुक्त अनुसन्धान, विभिन्न प्रोजेक्ट सञ्चालन, भौतिक पूर्वाधार निर्माण र सुशासनमा सहयोग गर्ने आदि छन् । रसमोर बरोले बेलायतबाट विदेशी लगानी नेपाल भित्रयाउन आकर्षित गर्ने सवालमा पनि सहकार्य गर्ने उल्लेख छ ।

यस सम्बन्धले बेलायत नेपाल सम्बन्ध अभिवृद्धि र नेपाल सरकारले ‘भ्रमण वर्ष २०२०’ अभियान शुरु गरिसकेको अवस्थामा नेपालको पर्यटन प्रवर्धनमा टेवा पुग्ने राजदूत डा. दुर्गाबहादुर सुवेदीको विश्वास छ । राजदूत सुवेदीले भ्रमण वर्ष सफल बनाउने लक्ष्यसहित बेलायतका अन्य स्थानीय निकायहरुसंग पनि भगिनी सम्बन्धलाई प्राथमिकता दिएका छन् ।

उक्त समारोहमा राजदूत डा. सुवेदी, गोरखाकी प्रमुख कार्यकारी अधिकृत कृष्णकुमारी श्रेष्ठ, ग्रेटर रसमोर नेपलिज कम्युनिटीका पूर्व अध्यक्ष जीव बेल्वासे लगायत बेलायत र नेपालका विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री