लन्डन बर्न्टओकमा सरस्वती पूजा

लन्डन–नेपाली भाषा तथा सांस्कृतिक केन्द्रले बर्न्टओकमा सरस्वती पूजा आयोजना गरेको छ । वाटलिङ कम्युनिटी सेन्टरमा शनिवार आयोजित सरस्वती पूजामा केन्द्रद्वारा संचालित नेपाली कक्षाका विद्यार्थीहरु तथा अभिभावकको उल्लेख्य उपस्थिति थियो ।

सो अवसरमा स्वयंसेवी योग तथा ध्यान शिक्षक शम्भु आचार्यले विद्याकी देवी सरस्वतीको पूजा आराधनाका साथै स्वस्तिक चिन्ह कोर्न बालबालिकालाई सिकाएका थिए । ‘हिन्दु संस्कृतिमा कुनै पनि शुभकार्य शुरु गर्दा स्वस्तिक चिन्ह बनाउने गरिन्छ । यो नाजीहरुको स्वस्तिक चिन्ह भन्दा धेरै फरक छ, त्यसैले यसमा झुक्किनु हुंदैन’- उनले भने ।

‘बेलायतमा हुर्कीरहेका हाम्रा बालबालिकालाई आफ्नो भाषा संस्कृतिबारे ज्ञान होस् भनेर गएको तीन वर्ष देखि हामीले नेपाली भाषा कक्षा संचालन गरिरहेका छौं र हरेक वर्ष सरस्वती पूजा मनाउने गरेका छौं’- केन्द्रका अध्यक्ष सुमन प्रधानले भने ।

कार्यक्रममा आमन्त्रित बर्न्टओकका स्थानीय काउन्सिलर अम्मर नकवीले जलवायु परिवर्तनका कारण उत्पन्न समस्याबारे बालबालिकालाई बताएका थिए । उनले मानव गतिविधिले गर्दा वातावरणमा नकारात्मक असर परेको पुष्टि भैसकेको र यसलाई गम्भीर रुपमा लिनु पर्ने बताए । ‘हामीले हाम्रा सन्तानलाई छाडेर जाने संसार अहिलेको भन्दा राम्रो नभए पनि खराब हुनुहुंदैन’- उनले भने ।

सरस्वती पूजा पछि सबै बालबालिका तथा अभिभावकहरू वाटलिङ अभेन्युस्थित रोज गार्डेनमा गएर गुलाफका बिरुवा रोपेका थिए । सो कार्यक्रममा काउन्सिलर नकवीका साथै काउन्सिलर सारा कनवे पनि सहभागी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री