लन्डन । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले नेपाल सरकारले गोर्खा समस्या समाधानार्थ औपचारिक रुपमा बेलायत सरकारलाई पत्राचार गर्नु आफ्नो संवादको परिणाम भएको दावी गरेको छ । गेसो केन्द्रिय समितिले शनिबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंग संवादपछि बेलायतलाई पत्र पठाइएको जनाएको छ ।
‘गोर्खाहरुमाथि २०० वर्षदेखि भएको विभेदलाई दुई पक्षीय वार्ताद्वारा अन्त्य गर्नुपर्छ भनेर गेसोले निरन्तर आवाज उठाइरहेको थियो’, गेसोले भनेको छ, ‘केहि दिन अघि माननीय परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंगको गेसोको भेटवार्तामा चांडै नेपाल सरकारको तर्फबाट बेलायत सरकारलाई पत्राचार गरिन लागेको कुरा हामीलाई जानकारी गराउनु भएको थियो ।’
गेसोको विज्ञप्ति जस्ताको तस्तै-
बीबीसी नेपाली सेवामा सम्प्रेषित खवर अनुसार नेपाल सरकारले गोर्खाहरुको समस्या समाधानार्थ औपचारिक रुपमा बेलायत सरकारलाई पत्राचार गरेको कुरा जानकारी पाउंदा माननीय परराष्ट्रमन्त्रीज्यूसँग भएको संवादको परिणाम हो भन्ने कुरा गेसोले सहर्ष जानकारी गराउन चाहन्छ ।
गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले नीतिगत रुपमा निर्णय गरि सुरुदेखि उठाएका बुंदागत मुद्दाहरुमध्ये बेलायतको उच्च अदालतले ३० सेप्टेम्बर २००८ मा त्रिपक्षीय सन्धीलाई अवैधानिक, अमानवीय र असमानतापूर्ण सन्धी भनि खारेज गरिदिएको थियो । त्यसैले गेसोले त्रिपक्षीय होइन, दुई पक्षीय वार्ताबाट गोर्खाहरुमाथि भएका विभेद अन्त्य हुनुपर्छ भन्दै गर्दा इतिहासमा पहिलो पटक पीडक, पीडित र सरकारका प्रतिनिधिहरु जसमा महामहिम राजदूत डा. दुर्गाबहादुर सुवेदी, उपनियोग प्रमुख शरदराज आरन र मिलिटेरी अट्याची लगायत सम्मिलित त्रिपक्षीय प्राविधिक समितिले तयार पारेको १३ बुंदे प्रतिवेदनमा रहेर वार्ता गरि गोर्खाहरुमाथि २०० वर्षदेखि भएको विभेदलाई दुई पक्षीय वार्ताद्वारा अन्त्य गर्नुपर्छ भनेर गेसोले निरन्तर आवाज उठाइरहेकोमा केहि दिन अघि माननीय परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंगको गेसोको भेटवार्तामा चांडै नेपाल सरकारको तर्फबाट बेलायत सरकारलाई पत्राचार गरिन लागेको कुरा हामीलाई जानकारी गराउनु भएको थियो ।
त्यसैले हिजै देखिको गेसोको नीतिगत निर्णयानुसार त्रिपक्षीय होइन, दुई पक्षीय वार्ताबाट गोर्खा समस्या समाधान होस् भनेर गेसोले उठाउंदै आएको आवाज आज साकार भएकोमा मा. परराष्ट्रमन्त्रीज्यू र नेपाल सरकार तथा बेलायतस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी लगायत राजदूतावासका सम्पूर्ण सदस्यहरुमा गेसो हार्दिक कृतज्ञता ज्ञापन गर्दछ । साथै हिजोबाटै त्रिपक्षीय सन्धीअन्तर्गत वार्ता हुनुपर्छ भनेर अडान लिने साथीहरु अहिले गेसोले भन्दै गरेको दुई पक्षीय वार्ताको पक्षमा आउनु भएकोमा गेसो खुशी ब्यक्त गर्दछ ।
गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)
केन्द्रीय समिति