लन्डन । नेपलिज ब्रिटिश कम्युनिटी यूके (एनबीसी यूके) ले स्थापनाको १० औं वार्षिकोत्सव अपांग बालबालिकाका लागि च्यारिटी गरि मनाउने भएको छ । संस्थाले आउंदो मार्च २२ तारिख आइतबार लन्डन ग्रीनफोर्ड टाउनहलमा ‘समर्पण सांझ २०२०’ गर्ने भएको हो ।
एनबीसी यूकेले बिहीबार एक पत्रकार सम्मेलन गरि वार्षिकोत्सवका अवसरमा गरिने च्यारिटीबारे जानकारी दिएको हो । ‘समर्पण सांझ’ सुर्खेतको सिम्ता गाउंपालिका-६ स्थित श्री बागेश्वरी माध्यमिक विद्यालयका अपांग बालबालिकाको आवास गृह निर्माण सहयोगार्थ हुने एनबीसी यूके अध्यक्ष मिलन घिमिरेले जनाए ।
‘उक्त विद्यालयमा अपांगता भएका २३ बालबालिका चुहिने छानो मुनी झ्याल ढोकाबिनाको २ कोठे कक्षा कोठामा बस्न वाध्य छन् । त्यस्तो अत्यन्तै दयनीय अवस्थामा गुज्रिरहेका बालबालिकालाई सुत्ने, बस्ने र पढ्ने वातावरण बनाउनु हाम्रो कर्तब्य सम्झेर च्यारिटी गर्न लागेका हौं’- घिमिरेले भने ।
अध्यक्ष घिमिरेले कार्यक्रममा सहभागी भएर वा संस्थालाई चन्दा र प्रायोजनमार्फत आफ्नो योजना सफल बनाइदिन अपिल गरेका छन् । कार्यक्रममा प्रवेश शुल्क ५० पाउण्ड तोकिएको छ ।
कार्यक्रम सञ्चालन गर्दै एनबीसी यूके सचिव चुरामणि रेग्मीले गीत, संगीत, नाटक, नाचगान, कमेडी लगायत विद्या एकैसाथ समेटेर ‘नन स्टप’ मनोरन्जनात्मक कार्यक्रम गरिने बताए । रेग्मीले बेलायतका विशिष्ठ कलाकारहरुको प्रस्तुति रहने उक्त कार्यक्रमको निर्देशन सुप्रसिद्ध निर्देशक सनमकुमार बैरागले गर्ने जानकारी दिए ।
संस्थाले बेलायतमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथै वृद्धवृद्धाका लागि अंग्रेजी र बालबालिकाका लागि नेपाली भाषा शिक्षा, नेपालमा द्वन्द्वपीडित बालबालिकाका लागि आवासगृह, दाङ्गमा अध्ययनरत दृष्टिविहीन बालबालिकाका लागि आर्थिक सहयोग, सीमान्तकृत कान्धास्थित चेपाङ बालबालिकाकालागि आवास गृह, भूकम्प, बाढी पीडितलाई सहयोग आदि मानवीय कार्य गरिसकेको छ । संस्थाले गत वर्ष गरेको ‘लन्डन कविता कन्सर्ट’ सफल कार्यक्रम मानिन्छ ।
पत्रकार सम्मेलनमा एनबीसी यूके संस्थापक अध्यक्ष कमल पौडेल, कोषाध्यक्ष ऋषि खनाल, समिरनाथ प्याकुरेल, वसन्त नेपाल, एलएन घिमिरे, सनमकुमार बैराग लगायतले विभिन्न जिज्ञासा मेटाएका थिए ।
तस्बिर- शिव भण्डारी