लन्डन । लन्डनस्थित नेपाली दूतावासले स्कटल्याण्डमा ‘नेपाल भ्रमण वर्ष-२०२०’ प्रवर्धन कार्यक्रम गरेको छ । स्कटल्याण्डको काउडेनवीथस्थित सिमला प्यालेस रेष्टुरेन्टको सहकार्यमा गत आइतबार कार्यक्रम गरिएको हो । कार्यक्रममा स्थानीय स्कटिश नागरिकहरुसहित करिब डेढ सयको सहभागिता थियो ।
कार्यक्रममा काउडेनवीथका काउन्सिलर डारेन वाटले नेपाल भ्रमण गर्न आफू इच्छुक रहेको जनाउंदै भ्रमण वर्ष सफल पार्न आफ्नो तर्फबाट पूर्ण रुपमा सहयोग रहने बताए ।
नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरनले सिमला प्यालेसका सञ्चालक काशीराम भण्डारीले नेपाल पर्यटन प्रवर्धनका लागि गरेका योगदानको उच्च मुल्यांकन गर्दै कार्यक्रम गर्न भण्डारीको समन्वयकारी भूमिकाप्रति आभार व्यक्त गरे । आरनले स्कटिष्ट नागरिकहरुलाई आफू र आफन्तसहित नेपाल भ्रमणमा जान पनि आग्रह गरे । आरनले ‘नेपाल भ्रमण वर्ष २०२०’ सम्बन्धि विशेष पावरपोइन्ट समेत प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा नेपाल भ्रमण वर्ष प्रवर्धन गर्ने खालका विभिन्न भिडियो र ४ वटा नेपाली नृत्य समेत प्रस्तुत गरिएको थियो । ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल पार्न नेपाली दूतावास लन्डनले गत वर्ष देखि नै विभिन्न कार्यक्रम गर्दै आएको छ ।