शुन्यता सतहमा सलबलाउंदैछ
हल्लै हल्लाको यो शहरमा
एकान्तमा म यसरी हराइरहेको छु
यो भिडै भिडको माझमा
न झकझकाउ तिमी मलाई
म अन्तरमनको यात्रामा छु
न ढकढकाउ तिमी यो मनको द्वारमा
म नफर्कने निर्णयमा दृढ छु
हराउन देउ तिमी मलाई, यो शुन्यतामा
डुब्न देउ तिमी मलाई, यो एकान्तमा
किनकी म नोस्ट्यालजियामा छु
अनभिज्ञ छौ तिमी,
यि पलहरूसित किनकी यी पलहरू
नितान्त मेरो हो ,म अनि मेरो एकान्तपन
हजारौं खुशी र अमुल्य ति भोगेका समयहरू
सुन त
शुन्यतामा त्यो जुनकिरीको मन्द मन्द प्रकाश छ
ट्यार ट्यार कराइरहेको भ्यागुताको संगीत छ
यो सुर र संगीत प्रकृतिको, यो प्रकाश प्रकृतिको
आहा, मन भावविभोर छ,
न ढकढकाउ तिमी मलाई, म नोस्ट्यालजियामा छु
रसास्वादन गर्न देउ तिमी मलाई, म नोस्ट्यालजियामा छु
त्यो किशोर अवस्था, त्यो मिनपचासको बिदा
त्यो रेडियोमा स्वर सम्राटको मुटु छुने आवाज
त्यो शब्द अनि संगीतको समागम
अनि प्रसारण पश्चात प्रसारण
नढकढकाउ तिमी मलाई, म नोस्ट्यालजियामा छु
त्यो शनिबारको दिन, त्यो छोटो मिठो हाइकिङ
त्यो अन्ताक्षरीको खेल, त्यो रूख चिन्ने र गन्ने प्रयास
अनि त्यो उकाली र ओरालीका यात्राहरू
ति सुकेका पातहरू, ति पंक्षीका चिरबीरहरू
र ति हल्का हल्का पदचापहरू
नझकझकाउ तिमी मलाई, म नोस्ट्यालजियामा छु
हो म अन्तरमनको यात्रामा छु
मलाई त्यही एकान्तमा फर्कनु छ,
मलाई त्यही शुन्यतामा बिलीन हुनु छ,
ऊफ, भो नझकझकाउ अनि नढकढकाउ तिमी मलाई
म नोस्ट्यालजियामा छु
हो म नोस्ट्यालजियामा छु
सप्रेम
कल्पना घिमिरे
20/02/2020, लण्डन