लन्डन दूतावासको सहकार्यमा सेफहरु नेपाली खाना महोत्सव गर्दै

लन्डन । लन्डनस्थित नेपाली दूतावासमा आउंदो अप्रिल पहिलो साता नेपाली खाना महोत्सव हुने भएको छ । दूतावास र नेप्लिज सेफ एसोसिएशन यूकेको सहकार्यमा अप्रिल ६ तारिख सोमबारका दिन उक्त महोत्सव हुन लागेको हो ।

महोत्सवमा बेलायतस्थित विभिन्न मुलुकका कुटनीतिज्ञ, स्थानीय मेयर, काउन्सिलरसहित करिब ५ सय जना गैरनेपाली समुदायका अतिथिहरुलाई निम्त्याउने तयारी छ ।

नेपाल भ्रमण वर्षका साथसाथै बेलायतमा नेपाली कुइजिनलाई प्रवर्धन गर्ने महोत्सवको लक्ष्य छ । बेलायतमा सिग्नेचर नेपाली परिकारहरु विकास गर्ने एशोसिएसनको योजनामा पनि महोत्सव सहयोगी बन्ने अपेक्षा छ ।

महोत्सवमा खानाका लागि सबै जिम्मेवारी लिएको सेफ एशोसिएसनले मौलिक नेपाली खानाका परिकारहरु पस्किने जनाएको छ ।
‘मम, सेलरोटी, छोइला, नेपाली शैलीको अचार, खीर, मासको दाल जस्ता टिपिकल नेपाली स्वादहरु हामीले महोत्सवका लागि तयार गर्नेछौं’- एशोसिएसनका प्रवक्ता राजु बोहोरा भन्छन्, ‘महोत्सवमा आउने अतिथिहरुले नेपाली खानाको स्वाद र यसका मौलिकता कस्तो हुन्छ भनेर अनुभव गर्न सक्नेछन् भन्ने हाम्रो विश्वास छ ।’

महोत्सवका दिन ४ वटा स्टलमा लाइभ कुकिंग किचन राखेर ताजा परिकारहरु पस्किने तयारी एशोसिएसनले गरेको छ । महोत्सवमा खाना प्रवन्धदेखि यसका लागि आवश्यक खर्च जुटाउने जिम्मा समेत सेफ एशोसिएसनले नै लिएको छ ।

महोत्सवमा खानाका परिकारहरु बनाउने, सर्भ गर्ने र अतिथिहरुलाई खानाबारे बताउने लगायतका कार्यमा करिब ५० जना सेफहरु खटिनेछन् । एसोसिएसन अध्यक्ष दधि आचार्य यस वर्ष पहिलोपटक आयोजना हुन लागेको महोत्सव भविष्यमा पनि हरेक वर्ष गर्दै जाने योजना दूतावास र एशोसिएसनले बनाएको बताउंछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री