किरात राई यायोक्खा बेलायत आन्तरिक विवादमा, अन्तर्राष्ट्रिय सम्मेलन अन्यौल


लन्डन । किरात राई यायोक्खा बेलायतको आन्तरिक विवाद सतहमा आएको छ । संस्थाभित्र तीव्र विवादका कारण आउंदो २४ देखि २६ मे, २०२० सम्म बेलायतमा हुने भनिएको किरात राईहरुको तीन दिने 
अन्तर्राष्ट्रिय सम्मेलन अन्यौलमा छ ।

‘किरात राई तेश्रो अन्तर्राष्ट्रिय सम्मेलन बेलायतमा आयोजना गर्ने गरी ब्यवस्थापकीय जिम्मेवारी लिएको संस्था किरात राई यायोक्खा बेलायत संकटग्रस्त अवस्थामा छ । यस्तो अवस्थाबीच सम्मेलन ब्यवस्थापन गर्न सकिंदैन्, असम्भव छ र यदि कुनै समूहले गरे पनि असफल वा त्यसको औचित्य नहुने स्पष्ट पार्न चाहन्छौं’- शनिबार अल्डरसटमा आयोजित पत्रकार सम्मेलनमा कार्यवहाक अध्यक्ष चन्द्रबहादुर राईले भने, ‘यो संस्था पहिलेकै अवस्थामा नफर्किएसम्म, पुनस्थापना नभएसम्म सम्मेलन अनिश्चितकालसम्मका लागि स्थगित गर्न वा अन्यत्रै गर्न किरात राई यायोक्खा केन्द्र नेपाललाई यसै पत्रकार सम्मेलनमार्फत हार्दिक अनुरोध गर्दछौं ।’

गत ७ सप्टेम्बर २०१८ मा सम्पन्न किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिको सातौं सम्मेलनले अन्तर्राष्ट्रिय सम्मेलन गर्न जनादेश नदिएको कार्यसमितिको दावी छ । ‘उक्त सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित भएपछि कल्पना राईले एकपछि अर्को गरि सम्पूर्ण किरात राईहरु र संस्थाको हित विपरित निर्णय गर्दै गएको, वहुमत कार्यसमितिको अनुमोदनलाई नटेरेको, मनपरी ढंगले पदाधिकारी मनोनयन र हैकम लागू गर्दै गएपछि उहां अहिले निलम्बित हुनुहुन्छ’- कार्यवहाक अध्यक्ष राईले भने ।

अध्यक्ष राईविरुद्ध संस्थाको विधानको धारा २२ बमोजिम एक तिहाइ सदस्यहरुले अविश्वास प्रस्ताव पेश गरि ७ डिसेम्बरदेखि तीन महिनासम्म निलम्बन गरेको कार्यवहाक अध्यक्ष राईले जनाए । ‘विधानतः ७ मार्चभित्र उहांले स्पष्टीकरण दिनुपर्नेछ । यदि त्यो समयसीमाभित्र चित्तबुझ्दो स्पष्टीकरण नदिए विधान अनुसार साधारणसभा बोलाइने र त्यो अधिवेशनमा दुई तिहाइ मत ल्याए उहां अध्यक्ष यतावत हुनुहुनेछ नत्र पदच्यूत हुने वैधानिक प्रावधान छ’, राईले थपे ।

संस्थाकी महासचिव चन्द्रवती राईले गत २१ सेप्टेम्बर यताको सबै निर्णयहरु बदर गर्नुपर्ने र सामूहिक जग्गामा रहेका भौतिक संरचना अन्यत्र व्यवस्थापन सार्नुपर्ने आफूहरुको माग रहेको प्रष्ट्याइन् ।

संस्थाका प्रमुख सल्लाहकार पदम राईले विवादबीच बलजफ्ती सम्मेलन गर्न लागिएको र आन्तरिक झगडा किरात राई यायोक्खा केन्द्र नेपाललाई अवगत गराउंदा पनि वेवास्ता गरेकाले खवरदारी गर्न पत्रकार सम्मेलन गर्नुपरेको बताए । स्पष्टीकरणसहित वहुमत सदस्यहरुको हस्ताक्षर जुटाए कल्पना राईलाई अध्यक्ष मानिने नत्र अर्को वैधानिक विकल्प खोजिने उनको धारणा थियो ।

पत्रकार सम्मेलनमा उपाध्यक्ष जितेन्द्र साम्पांगले विवाद समाधान नगरि बलजफ्ती सम्मेलन गर्न खोजिए परिणाम नराम्रो हुने चेतावनी दिंदै सम्मेलनमा आउने भनिएका अतिथीहरुको सत्कारमा समेत कमी हुने बताए ।

उपमहासचिव प्रमिला राईले घरभित्रको झगडा मिलाएमात्र सम्मेलन सफल हुने नत्र त्यो औचित्यहीन हुने जनाइन् ।

कार्यक्रममा उपाध्यक्ष मेजर रिटायर्ड दिलकुमार राई, सचिव अनिता राई, सहकोषाध्यक्ष डा. महा राई, गंगाराज राई, भीम राई, मिलनचन्द्र राई, रोजी राई, विनोद राई लगायतको उपस्थिति थियो ।

संस्थामा कार्यवहाक अध्यक्ष चन्द्रबहादुर राई, उपाध्यक्षहरु सुमनचन्द्र राई, जितेन्द्र साम्पांग राई, निलम राई, मेजर रिटायर्ड दिलकुमार राई, महासचिव चन्द्रवती राई, उपमहासचिवहरु प्रमिला लाबुंग राई र सनवीर राई, सचिव अनिता राई, सहकोषाध्यक्ष डा. महा राई र सावित्री राई, सदस्यहरु राजेन्द्र राई, विनोद राई, गंगाराज राई, भीम राई, सन्देश राई, मिलनचन्द्र राई र रोजी राई, भिमल राईको समूह एकतिर छन् भने अध्यक्ष कल्पना राई केही पदाधिकारीसहित अल्पमतमा छिन् ।

तस्बिर- शिव भण्डारी

प्रेस विज्ञप्ति जस्ताको तस्तैः

आजको यस विशेष पत्रकार सम्मेलनमा उपस्थित सञ्चारकर्मी, पत्रकारज्यूहरु, किरात राई यायोक्खा बेलायतका पदाधिकारी सदस्यज्यूहरु, निवर्तमान अध्यक्ष ज्यू, बेलायतवासी तमाम किरात राई लगायत विश्वभर फैलिएर बसोबास गरिरहनु भएका सम्पूर्ण किरात राई दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक सेवा नमस्कार । साथै यस पत्रकार सम्मेलनलाई लाइभ हेरेर बसिरहनु भएका किरात राई तथा गैर किरात राई सम्पूर्णमा सेवा नमस्कार ।

एउटा भनाइ नै छ, केही कुरा गर्न भन्दा नगर्नलाई धेरै शक्ति चाहिन्छ । हामीले यसो नगर्ने धेरै कोसिस गर्यौं । हामीलाई, पत्रकार सम्मेलनमार्फत हाम्रो कुरा प्रकाशमा बाहिर नल्याए कतै हामी पो दोषी छौं कि ? हामीले हाम्रो गल्ती ढाकछोप पो गरिरहेका छौं कि ? यस्तै यस्तै लागिरहेको छ र हामीले निकै चुनौतीपूर्ण कदम उठाएका छौं भन्ने लागेको छ । फेरी यसरी पत्रकार सम्मेलन गरेर आफ्नै समुदायको गोपनीयता सार्वजनिक गर्दै, समुदायकै सदस्य कोही कसैलाई दोष लगाएर आफूलाई निर्दोष सावित गर्ने हाम्रो कुनै रहर अनि मनसाय नरहेको स्पष्ट पार्न चाहन्छौं । सत्य तीतो हुन्छ । हाम्रो यस कदमलाई गएको ८ फेब्रुअरी २०२० मा किरात राई यायोक्खा बेलायतको नामबाट गरिएको पत्रकार सम्मेलनको प्रतिवाद हो भनेर बुझिदिनु भयो भने पनि अन्यथा हुनेछैन् । हामी किरात राईहरुको साझा सर्वोच्च संस्था किरात राई यायोक्खा बेलायतको गरिमा उच्च रहिरहोस्, संस्थाभित्रको आन्तरिक प्रजातन्त्र मजबुत, क्रियाशिल अनि समय सापेक्ष ब्यवहारिक भइरहोस् भन्ने चाहना हामी सबैको रहँदै आएको छ ।

हामीलाई साघुरो मनको बह पोखाउने मन थिएन । ब्यापक तयारीका साथ निर्धक्कसंगले किरात राई तेश्रो अन्तर्राष्ट्रिय सम्मेलन २०२० बेलायतमा हुंदैछ भनेर मुख्य ब्यवस्थापनको जिम्मेवारी पाएको किरात राई यायोक्खा बेलायतको तर्फबाट सार्वजनिक घोषणा गर्ने, विश्वभर फैलिएर बसोबास गरिरहनु भएका किरात राईहरु सबैमा खुशीको खबर प्रचार गर्ने उत्कट चाहना थियो । तर, त्यसो हुन सकेन । आज हामी, किरात राई तेश्रो अन्तर्राष्ट्रिय सम्मेलन बेलायतमा आयोजना गर्नेगरी ब्यवस्थापकीय जिम्मेवारी लिएको संस्था, किरात राई यायोक्खा बेलायतको संकटग्रस्त यस्तो अवस्थामा ब्यावस्थापन गर्न सकिंदैन्, असम्भव छ र यदि कुनै समूहले गरे पनि असफल वा त्यसको औचित्य नहुने स्पष्ट पार्न चाहन्छौं । साथै किरात राई तेश्रो अन्तर्राष्ट्रिय सम्मेलन ब्यवस्थापनको जिम्मेवारी लिएको संस्था किरात राई यायोक्खा बेलायत, पहिलेकै अवस्थामा नफर्किएसम्म, पुनस्थापना नभएसम्म यस सम्मेलनलाई अनिश्चितकालसम्मका लागि स्थगित गर्न वा अन्यत्रै आयोजना गर्न पनि किरात राई यायोक्खा केन्द्र नेपाललाई यसै पत्रकार सम्मेलनमार्फत हार्दिक अनुरोध गर्दछौं । र यस अप्रिय निर्णयबाट सरोकारवाला सबैमा पर्न जाने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।

किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिको सातौं सम्मेलन (७ सप्टेम्बर २०१८) को जनादेश (Mandate) अन्तर्राष्ट्रिय सम्मेलन थिएन । उक्त सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित हुनु भएपछि तत्कालिन अध्यक्ष श्रीमति कल्पना राईज्यूको महत्वकांक्षी योजनाको रुपमा संस्थामा यो विषयले 
प्रवेश पाएको थियो । पछि, कार्यसमिति अर्थात संस्थाले यसको स्वामित्व ग्रहण गरेको चाँहि सत्य हो । तर अविश्वासको प्रस्ताव खेपिरहनु भएकी अध्यक्षले यसलाई सातौं सम्मेलनको म्याण्डेट भनेर सर्वत्र गलत सूचना प्रवाह गरिरहनु भएको छ, जसमा कुनै सत्यता नरहेको स्पष्ट पार्न चाहन्छौं ।

मिति २ नोभेम्बर २०१९ मा बसेको किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिको बैठकले संस्थाको अध्यक्ष र उपाध्यक्ष साथै किरात राई यायोक्खा बेलायतको अन्तर्राष्ट्रिय विभाग प्रमुख श्री सुमनचन्द्र राई दुई जिम्मेवार ब्यक्तिहरु मिलेर किरात राईहरुको महान चाड साकेला उभौली–२०२० र अन्तराष्ट्रिय सम्मेलनको मिति तय गर्ने जिम्मेवारी दिएको थियो । पछि अध्यक्षले जिम्मेवारी दिएको ब्यक्ति तथा कार्यसमितिको कुरा नसुनी, सहमति नलिई, प्रमुख आयोजक किरात राई यायोक्खा केन्द्र नेपालसँग मिलेर एकल निर्णयमा किरात राईहरुको महान चाड साकेला उभौलीलाई अर्थहीन ढंगले किरात राई अन्तराष्ट्रिय सम्मेलनकै मितिमा सार्नु भयो । सामान्यतया, किरात राई यायोक्खा बेलायतले आफ्नो स्थापनाकाल देखि तिथि मिति अनुसार वर्षेनी बुद्ध पूर्णिमाको निकटतम सप्ताह अन्तमा वा पहिलो शनिवार मनाउंदै आएको किरात राईहरुको महान चाड साकेला उभौली पाहुनालाई खुशी पार्ने नाममा अनावश्यक मितिमा सारेपछि संस्थाभित्र र बाहिर समुदायमा यसको ब्यापक आलोचना हुंदै आएको छ । किरात राई समुदायमा तिथि मिति भन्दा फरक तिथि मितिमा चाड पर्व मनाउनुलाई अशुभ मानिन्छ ।

संस्था र समुदायको हित भन्दा सस्तो लोकप्रियता आर्जन गर्न आफू अनुकूल नतिजा निकाल्ने गरी गलत आधारबाट कार्यसूचीको उठान गर्ने अध्यक्षको काइते कार्यशैलीबाट कार्यसमिति सुरुबाटै असन्तुष्ट हुंदै आएका थिए । पछि, किरात राई यायोक्खा केन्द्र नेपालले नदेखे जस्तो गरेर मौन समर्थन गर्नु, त्यस्तै किरात राई यायोक्खा बेलायतको हित नचाहने केही ब्यक्तिहरुसितको सौदाबाजीमा अध्यक्षले किरात राई अन्तर्राष्ट्रिय सम्मेलन बेलायतमा आयोजना गर्ने ब्यावस्थापनको जिम्मा लिने जस्तो तुच्छ भेद खुलेपछि कार्यसमितिको असन्तुष्टि अध्यक्ष विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तहसम्म आइपुगेको हो ।

किरात राई यायोक्खा बेलायतको पछिल्ला विकसित घट्नाक्रमहरु सम्बन्धमा किरात राई यायोक्खा केन्द्र नेपाललाई पटक पटक आधिकारिक जानकारी गराईसकेका छौं । अविश्वासको प्रस्ताव खेपिरहनु भएकी अध्यक्ष श्रीमति कल्पना राईज्यूको पछिल्लो कार्यक्रम, गतिविधिहरुको समाचारको खण्डन सार्वजनिक रुपमा गरिसकेका छौं । आफूविरुद्ध आएको अविश्वासको प्रस्तावको सामना नगरी उल्टै अविश्वासको प्रस्ताव पेश गर्ने पदाधिकारीहरु, सदस्यहरु बाहेकको नयाँ कार्यसमिति विस्तार गर्नु, एक केन्द्रीय सदस्यलाई एक महिनामा तीन-तीन पटक सम्म पदोन्नती गरी महासचिव (कार्यवहाक) बनाइनु, निरन्तर अवैधानिक कार्य जारी राख्नु आदि कारणले किरात राई यायोक्खा बेलायत अहिले संकटग्रस्त अवस्थामा रहेको छ ।

तसर्थ हामी पुनः दोहोर्याउन चाहन्छौं , किरात राई तेश्रो अन्तर्राष्ट्रिय सम्मेलन बेलायतमा आयोजना गर्नेगरी ब्यवस्थापकिय जिम्मेवारी लिएको संस्था, किरात राई यायोक्खा बेलायतको संकटग्रस्त यस्तो अवस्थामा ब्यावस्थापन गर्न सकिंदैन्, असम्भव छ र यदि कुनै समूहले गरे पनि असफल वा त्यसको औचित्य नहुने स्पष्ट पार्न चाहन्छौं । अन्तमा, समग्र किरात राई पाठक, श्रोता तथा दर्शकहरुलाई सकारात्मक सोचिदिन हार्दिक अनुरोध गर्दछौं । धन्यवाद ! सेवा ! नमस्कार !

चन्द्रबहादुर राई, कार्यवहाक अध्यक्ष

प्रतिक्रिया

सम्बन्धित सामाग्री