४३२ गोर्खा बेलायत आइपुगे, सन् १९८५ यताकै ठूलो संख्या

 

लन्डन । ब्रिटिश सेनाका लागि छानिएका ४३२ नेपाली युवा बेलायत आइपुगेका छन् । यो सन् १९८५ यताकै सबैभन्दा ठूलो संख्या हो । गत वर्ष ४०० नेपाली बेलायत आएका थिए ।

ब्रिगेड अफ गोर्खाजमा संख्या बढिरहंदा नयां इन्टेकमा भर्ती भएर आएका ति युवालाई क्याट्रिक ग्यारिजनमा ९ महिने कडा प्रशिक्षण दिइनेछ ।

बेलायत आएका युवाले गोर्खा बन्ने आफूहरुको सपना साकार भएकामा खुशी व्यक्त गरेका छन् । चिसो मौसम सामना गर्नु परेपनि आफूहरु नयां परिवेश र जीवनमा घुलमिल हुन उत्साहित भएको उनीहरुको प्रतिक्रिया छ । ‘म वास्तविक गोर्खा बन्न बेलायतमा छु जुन मेरो सपना थियो’, प्रशिक्षणरत राइफलम्यान प्रशान्त राईले मिडियासंग खुशी सांटे । ।

यस वर्ष ब्रिटिश सेनामा भर्ती हुन नेपालभरबाट करिब १२ हजार जनाले निवेदन दिएका थिए । नयां इन्टेक बेलायत आउनु केही साताअघि ब्रिटिश आर्मी चिफ जनरल सर मार्क कार्लटन स्मिथले पोखरामा गोर्खा भर्ती अवलोकन गरेका थिए ।

ब्रिटिश आर्मी अन्तर्गत ब्रिगेड अफ गोर्खाज्मा करिब ३ हजार गोर्खा कार्यरत रहेको बताइन्छ ।

सन् १८१५ देखि ब्रिटिश सेनामा गोर्खाहरुको प्रवेश भएको हो । गोर्खाहरु इराक, अफगानिस्तान, बाल्कन्स् लगायत युद्दमा समेत अग्रपंक्तिमा रहेर लडेका छन् ।

उता, भूतपूर्व गोर्खा सैनिकहरु भने आफूमाथि ऐतिहासिक अन्याय र भेदभाव भएको भन्दै लामो समयदेखि आन्दोलनरत छन् । विशेष गरि गोरा सैनिक सरह समान पेन्सन, क्षतिपूर्ति र अन्य सुविधा उनीहरुको माग छ ।  

केही साताअघि नेपालको पराराष्ट्र मन्त्रालयले सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सन्धि पुनरावलोकन प्रस्तावसहित बेलायत सरकारलाई औपचारिक पत्र पठाएपछि भूतपूर्व गोर्खा आशावादी देखिएका छन् ।  

गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले द्विपक्षीय सम्झौताबाट नै गोर्खा समस्या समाधान र नेपालको स्वभिमान पनि उंचो रहने बताएको छ । गेसो केन्द्रिय सभापति कृष्णकुमार राईले द्विपक्षीय सन्धिका आधारमा भूतपूर्व गोर्खा सैनिकहरुको माग सम्बोधन गर्न माग गर्दै बेलायतले एउटा सार्वभौम नागरिकका रुपमा गोरखा सैनिकलाई समानताको सिद्दान्तका आधारमा व्यवहार गरिनुपर्ने बताउंछन् ।

आफ्ना माग पुरा नभए भोक हड्ताल गर्ने चेतावनी दिएको गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले पनि नेपाल सरकारको औपचारिक पत्रपछि आन्दोलन केही समय स्थगित गर्ने निर्णय गरेको छ ।

समितिका निर्देशक ज्ञानराज राईले आफूहरु बेलायत सरकारको ‘रेस्पोन्स’ पर्खने र वार्ता समिति गठन गरि प्रक्रिया अगाडि बढाउन आलटाल गरे लगत्तै कडा आन्दोलन थालिने दावी गरे ।

सत्याग्रहले अहिले आफ्नो मुद्दामा राजनीतिक भेटघाट र छलफललाई तीव्रता दिने जनाएको छ । इकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित सामाग्री