‘आमा’ लाई भेट्ने अवसरः २२ मार्चमा अल्डरसट, २९ मा हयारो

लन्डन । ‘पशुपतिप्रसाद’ र ‘धनपति’ जस्ता उत्कृष्ट फिल्म बनाएर चर्चा बटुलेका निर्देशक दीपेन्द्र के खनालको नयां चलचित्र ‘आमा’ यतिखेर नेपालमा दोश्रो हप्तामा प्रदर्शन भइरहेको छ ।

‘आमा’ मा खनालको निर्देशकीय शिल्प अझ निखारिएको विश्लेषकहरुले बताइरहेका छन् । वैचारिक र सामाजिक चित्रणमा पनि उक्त फिल्म अगाडि छ ।

संवेदनशील विषयलाई रचनात्मक शैलीमा बनाइएको ‘आमा’ बेलायतमा समेत प्रदर्शन हुने भएको छ । आमा यही २२ मार्च अपरान्ह एम्पायर हल अल्डरसट र २९ मार्च सांझ साउथ हयारोस्थित हयारो बरो फुटबल क्लबमा प्रदर्शन गरिने भएको हो ।

आमामा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, मनिष निरौला आदि कलाकारहरुको प्रमुख भूमिका छ ।

उक्त फिल्म यूकेमा प्रदर्शन गर्ने जिम्मा के के फिल्मस् एण्ड मिडियाका निर्देशक एवं सञ्चारकर्मी कुशल श्रेष्ठले पाएका हुन् । आफू पनि यही क्षेत्रमा भएकाले स्तरिय चलचित्र विदेशमा प्रवर्धन गर्न र आमा जस्तो उत्कृष्ट चलचित्र हरेक नेपालीले हेरुन् भन्ने सामाजिक दायित्व सम्झेर यस फिल्म प्रदर्शनको जिम्मा लिएको कुशलले बताए ।

श्रेष्ठले यसअघि बेलायतमा अनमोल केसीको डेब्यू चलचित्र ‘होस्टेल’, आर्यन सिग्देलको ‘के म तिम्रो साथी बन्न सक्छु’, नम्रता श्रेष्ठको ‘मौन’, ‘झोले’ लगायत आधा दर्जन चलचित्र सफलतापूर्वक देखाइसकेका छन् । उनले ति चलचित्र प्रदर्शनबाट संकलित रकम विपन्न चेपांग समुदायका विद्यार्थी एवं ‘आमाको घर’ वृद्धाश्रमलाई प्रदान गरेका थिए ।

२९ मार्चमा हयारो बरो फुटबल क्लबमा हुने प्रदर्शन मगर महिला संघ वेम्ली शाखाको आयोजनामा हुनेछ भने संयोजन रस्मिता दर्लामीले गरेकी छन् । अल्डरसट शो रिता क्षेत्री र रोमियन लिम्बुले संयोजन गर्दैछन् ।

फिल्म लन्डनको प्लमस्टेड, रेडिंग लगायत अन्य शहरमा पनि देखाउने तयारी छ ।

रोजीहिरा फाउण्डेशन, इनास ग्लोवल, बुद्ध फाउण्डेशन यूके, क्याट यूके, नेपाली भाषा तथा सांस्कृतिक केन्द्र बन्र्टओक जस्ता संस्थाले चलचित्र प्रवर्धनका लागि सहयोग गरेका छन् ।

‘फिल्म रिभ्यू’ पनि हेरौं

https://www.facebook.com/watch/?v=2870978419795798

प्रतिक्रिया

सम्बन्धित सामाग्री