एनआरएनए यूके स्थापना दिवस : कालो झण्डा देखाइएकोप्रति अध्यक्ष पन्त असन्तुष्ट


लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्र्यि समन्वय परिषद् अध्यक्ष कुमार पन्तले बेलायतमा आफुलाई कालो झण्डा देखाइएको प्रति असन्तुष्टी व्यक्त गरेका छन् ।

एनआरएनए यूकेको १५ औं स्थापना दिवसको कार्यक्रममा अतिथिका रुपमा सहभागी हुन आएका एनआरएनए अध्यक्ष पन्तलाई बेलायतमा पहिलो पटक कालो झण्डा देखाइएको हो । चार महिना अघि एनआरएनए आईसिसि अध्यक्ष भएका पन्तले यूकेमा प्रदर्शन आफूलाई राम्रा नलागेको बताए ।”यूके बसाईका क्रममा यहाँहरुले धेरै सिक्नु भएको होला । यस प्रकारको प्रदर्शन ८२ शाखा मध्ये यूकेमा मात्र देखेँ । दु:ख नमान्नु होला”, अध्यक्ष पन्तले भने, “मेरा लागि जिन्दावाद र मूर्दावादका नाराहरु सामान्य हो ।”

अध्यक्ष पन्तले एनआरएनए यूके नेतृत्वले पनि आलोचनालाई स्वागत गर्न नसकेकोप्रति गुनासो गरे । उनले प्रजातान्त्रिक तवरले गरिने छलफल र आलोचनालाई सुनेर सवैलाई समेटन बेलायतलाई सुझाए ।

एनआरएनएले तीन पुस्ताका लागि राजनैतिक अधिकारवाहेकका नागरिकता पाउने सुनिश्चितता भैसकेको उनले बताए । नेपालको अर्थतन्त्रमा सहयोग गर्ने खाडीका नेपालीहरुप्रति धेरै काम गर्न नसकेको उनको भनाई थियो । अध्यक्ष पन्तले संयुक्त लगानी, स्मार्ट एनआरएनएमार्फत धेरै पैसा बोकेर अध्यक्ष, उपाध्यक्ष र महासचिव हुने परम्परालाई अन्त्य गर्ने बताए । “काठमाडौं जांदा टिकट काट्नु पर्ने र उल्टो पैसा दिनु पर्ने अवस्थाको अन्त्य गर्छु “-अध्यक्ष पन्तले भने, “घरबाटै भोट हाल्ने व्यवस्था गर्दै एनआसीसी र आईसिसिलाई आर्थिक पारदर्शीता अपनाउने व्यवस्था गर्छु ।”

पन्तले एनआरएनएलाई विशुद्ध सामाजिक संस्थाका रुपमा विकास गर्न लागेको बताए । कार्यक्रमका प्रमुख अतिथि लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले नेपालीहरुको एकतामा जोड दिए ।

यसैवीच, एनआरएनए यूके आर्थिक घोटाला छानवीन नगरि समुदायसँग आर्थिक संकलन गरि कार्यक्रम गरिएको भन्दै अध्यक्ष पन्तलाई कालो झण्डा देखाइएको छ । क्षमता ढकाल र पूर्व गोरखाका परिवारले कार्यक्रम भैरहेको अल्डसटस्थित एम्पायर हलभित्रै व्यानरसहितको कालो झण्डा देखाएका हुन् ।

व्यानरसहित उपस्थित भएका महिलाहरुले ‘चार करोड घोटाला छानवीन गर’, ‘कुमार पन्त फिर्ता जाउ’ भन्दै नारा लगाए । कार्यक्रम स्थल पछाडि कालो व्यानरसहितको विरोध कार्यक्रम भइरहंदा कोप सदस्यमा परेका हेम गुरुङ, ह्यारी गुरुङलगायतले उनीहरुलाई वाहिर जान आग्रह गरेका थिए । यसक्रममा उत्तेजित समेत भएको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।


त्यस्तै, कार्यक्रममा एनआरएनए यूके अध्यक्ष गुरुङले केन्द्रीय अध्यक्ष पन्तलाई सम्मान गरेकी थिइन् । आइसीसी अध्यक्ष पन्त र एनसीसी अध्यक्ष गुरुङले महासचिव हेमराज शर्मा, यूरोप उपसंयोजक कृष्ण तिमल्सेना, मानार्थ सदस्यहरु, आइसीसी सदस्य र सल्लाहकारलाई संयुक्त रुपमा सम्मान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री