परिषद्को साहित्य सन्ध्या कार्यक्रम स्थगित

लण्डन । नेपाली साहित्य विकास परिषद यूकेले विश्वभर फैलँदो कोरोना भाइरसका कारण केही समयका लागि आफ्ना सम्पूर्ण बैठक र साहित्यिक कार्यक्रम स्थगित गरेको छ ।  

परिषद् सचिवालयले जनाए अनुसार, आगामी १९ अप्रिल आइतबार तय गरिएको नेपाली नयाँ वर्ष २०७७ को सुखद आगमनका अवसरमा हुने साहित्य सन्ध्या र गत वर्ष घोषणा गरिएको नेपाली साहित्य पुरस्कार पदक सुशोभन कार्यक्रम हाल स्थगन गरिएको छ । ति कार्यक्रम परिस्थिति हेरेर पछि पुन: गरिने परिषदले जनाएको छ ।

परिषद्ले स्थापनाकाल सन् १९९५ देखि नै नेपाली नयाँ वर्षलाई साहित्य सन्ध्या र पुरस्कार सुशोभन गरेर साहित्यिक रमझमका साथ निरन्तर मनाउँदै आएको छ । परिषदमा एनएलडीसी गोल्ड मेडल पुरस्कार प्रथम र द्वितिय, नेपाली साहित्य पदक पुरस्कार, विशिष्ट साहित्य सम्मान पदक पुरस्कार, अभिन्नदन सम्मान पुरस्कार र साहित्य सम्मान पदक पुरस्कार गरी ६ थरीका पुरस्कार कोष स्थापित छन् ।

यस वर्ष रेडियो सञ्चारका क्षेत्रबाट नेपाली साहित्यको अभिवृद्धिमा योगदान पुरयाए बापत बीएफबीएस गोर्खा रेडियोका कार्यक्रम सञ्चालक योगराज राई र विशिष्ट साहित्यिक कृतिहरूलाई अडियो पुस्तककारुपमा प्रकाशन गरेर नेपाली साहित्यको अभिवृद्धि गरे बापत खगेन्द्र नेपाली नेपाली साहित्य पुरस्कार पदकबाट सुशोभित तथा सम्मानित हुने छन् । पाँच तोला चाँदी र स्वर्ण अक्षरमा निर्मित नेपाली साहित्य पुरस्कार पदक नगद लिन चाहेमा नेपाली रुपियाँ २० हजार एक पाइने छ । 

सो कोषको स्थापना परिषद्का वर्तमान अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्ल र पूर्व कार्यकारिणी सदस्य कोहिनूर श्रेष्ठ मल्लले आ-आफ्ना बाबु आमाका नाममा सन् २०११ मा गरेका हुन् । पुरस्कार सम्मान समितिको मुल्याङ्कन र सिफारिसमा हरेक वर्ष प्रदान गर्ने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री