बेलायतमा कोरोना भाइरसबाट १० हजार ब्यक्ति संक्रमित !

लन्डन । बेलायतमा कोरोना भाइरसबाट अहिले ५ देखि १० हजार ब्यक्ति संक्रमित भएको हुन सक्ने एक उच्च अधिकारीले दावी गरेका छन् । बेलायत सरकारका विज्ञानसम्बन्धी प्रमुख सल्लाहकार सर प्याटरिक भ्यालेन्सले बिहीवार सो तथ्याँक पेश गरेका हुन्  ।

बेलायतमा कोरोना भाइरसका कारण बिहीवारसम्म १० जनाको मृत्यु भएको छ भने ५९० जनामा संक्रमण भेटिएको छ । बेलायतकी कनिष्ठ स्वास्थ्य मन्त्री नदिन डोरिज पनि भाइरसबाट संक्रमित भएकी छन् । ब्रिटेनमा २९ हजार बढिले यसको परिक्षण गराइसकेका छन् ।

नेशनल हेल्थ सर्भिस् (एनएचएस) इंग्ल्याण्डले एकै दिन १० हजार जनाको परिक्षण गर्ने योजना बनाएको छ भने नतिजा सरदर २४ घण्टाको सट्टा अझ छिटो दिइने उसको लक्ष्य छ ।

बेलायत सरकारले उच्च तापक्रम वा निरन्तर खोकी लागे ७ दिन घरमै अलग (सेल्फ आइसोलेसन) रहन सुझाएको छ ।  

उता, बेलायतले कोरोना भाइरस नियन्त्रणका लागि १२ अर्ब पाउण्ड खर्च गर्ने भएको छ । अर्थमन्त्री ऋषि सुनाकले बुधबार संसदमा यस वर्षको बजेट प्रस्तुत गर्दै अर्थतन्त्र सुधार तथा कोरोना भाइरस नियन्त्रणका लागि ३० अर्ब पाउण्ड घोषणा गरेका छन् । जसमध्ये १२ अर्ब पाउण्ड कोरोना भाइरस नियन्त्रण तथा ७ अर्ब पाउण्ड ब्यवसाय तथा कामदारका लागि छुट्टयाइएको छ ।

उक्त बजेटले पूर्वाधार लगानीमा आउंदो ५ वर्षमा ६०० अर्ब पाउण्ड भन्दा बढी खर्च गर्नेछ । सडक, रेल, ब्रोडब्याण्ड, हाउजिङ आदिमा महत्वकांक्षी खर्च योजना सरकारको छ ।

बेलायतको आर्थिक वृद्धिदर यस वर्ष १ दशमलब १ प्रतिशत मात्र बढ्ने अनुमान छ, जुन कोरोना भाइरसले पार्ने प्रभाव बाहेकको भविष्यवाणी हो ।

कोरोना भाइरसले अर्थतन्त्रलाई पार्ने सम्भावित असरलाई मध्यनजर गर्दै बैंक अफ इंग्ल्याण्डले बुधबार बिहान ब्याजदर ०.५ प्रतिशत घटाइ ०.२५ बनाएको छ । बेलायत सरकारको आगामी पांच वर्षमा करिब १०० अर्ब पाउण्ड ऋणभार बढ्ने देखिएको छ ।

सत्तारुढ कन्जरभेटिभ पार्टीले परम्परागत रुपले भन्दा यसपटक वित्तीय अनुशासनको फरक मोडेल अनुरुप ऋणभार बढाएर बजेट प्रस्तुत गरेको लन्डनस्थित अर्थ ब्यवस्थापन जानकार विकलचन्द्र आचार्य बताउंछन् । कोरोना भाइरसले अस्थिरता छाइरहंदा बेलायतको अर्थतन्त्र यस वर्ष थप संकट उन्मुख हुने देखिएको आचार्यले बताए ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार औपचारिक रुपमा कोरोना भाइरस (कोभिड १९) संक्रमणलाई महामारी घोषणा गरेको थियो । एकै समयमा विश्वका कयौं देशमा जीवाणु फैलिएपछि डब्लुएचओले महामारी घोषणा गरेको हो । ११ वर्ष अघि ‘एच वान एन वान’ भाइरसका बेला पनि महामारी घोषणा गरिएको थियो जसमा विश्वभर ४ लाख मानिस मरेका थिए ।

‘कोभिड १९’ का कारण यतिखेर विश्व नै आतंकित छ । चीनको वुहानबाट उत्पत्ति भएको कोरोना भाइरस अहिले एकसय ११ भन्दा बढि मुलुकमा फैलिसकेको छ ।

हालसम्म ४ हजार ६०० बढिको मृत्यु भइसकेको छ भने एकलाख २५ हजार बढि संक्रमित भएका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री