विमानस्थलमा भिसा बन्द गरेपछि नेपाल जान मिल्छ कि मिल्दैन ?


लण्डन । नेपाल सरकारले शनिबार (१४ मार्च) बाट लागू हुने गरी ९० दिनका लागि पर्यटक भिसा बन्द गरेपछि प्रवासमा रहेका नेपाली मूलका प्रवासीहरु अलमलमा परेका छन् ।

कोरोना भाइरसको त्रासका कारण पर्यटकहरुलाई त्रिभुवन विमानस्थलमा दिइँदै आएको प्रवेशाज्ञा नेपाल सरकारले ३० अप्रिलसम्मका लागि बन्द गरेको छ । नेपाल जान हवाइ टिकट लिइसकेको अवस्थामा नेपाल सरकारको अचानकको निर्णयपछि विमानस्थलमै भिसा लिने योजनामा रहेकाहरु अहिले टिकट रद्द गर्ने कि के गर्ने अन्यौलमा छन् ।

नेपाल सरकारले त्रिभुवन विमानस्थलबाट भिसा दिन रोके पनि विदेशस्थित नेपाली नियोगहरुबाट नेपालको भिसा दिन भने रोकिएको छैन । यसबारेमा लण्डनस्थित नेपाली दूताबासका प्रवक्ता शरदराज आरणसित जिज्ञासा राख्दा उनले भने, ‘नेपाल सरकारको निर्णयको आशय अत्यावश्यकबाहेक अन्य अवस्थामा नेपाल नजानु भन्ने हो तर नेपाल नगई नहुने अवस्था छ भने नेपाल पुग्ने दिनको बढीमा सातदिन अघि जारी निरोगिताको प्रमाणपत्र पेश गरी नेपालको भिसा लिन सकिन्छ ।’

नेपाल पुगेपछि १४ दिनसम्म ‘क्वारेन्टाइन’ मा बस्नुपर्ने पनि उनले बताए । निरोगिताको प्रमाणपत्रसहित भिसा आवदेन गरेको आधा घण्टामै लण्डन दूताबासले भिसा दिने पनि उनले प्रष्ट पारे । गैरआवासीय नेपाली परिचयपत्र लिएका नेपालीको हकमा पनि निरोगिताको प्रमाणपत्र र १४ दिन ‘क्वारेन्टाइन’ बस्नुपर्ने प्रावधान लागू हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री