बेलायतमा कोरोना फैलिएपछि भूतपूर्व गोर्खा वृद्धवृद्धा जोखिममा

लन्डन । भूतपूर्व गोर्खा ७७ वर्षीय बीर्खबहादुर राई रेडिङमा  बस्छन् । २००८ मा बेलायत आएका उनको दैनिकी अहिले दिक्कलाग्दो छ । बाहिर हिंडडुल गर्न निस्कौं कोरोना महामारीको सन्त्रास छ, घरै बसौं दिन पट्यारलाग्दो । ‘त्यो भाइरस पनि हामी जस्ता बुढाबुढीलाई छिटो सर्छ भन्ने सुनेको छु के पो हुने हो खोइ’, उनमा चिन्ता छ ।

लन्डन बस्ने ८३ वर्षीय अवकासप्राप्त मेजर मानबहादुर राई गोर्खा आन्दोलनमा अझै खटिने अभियन्ता हुन् । बेलायती सांसददेखि मन्त्रीसम्म आफ्ना गुनासा सुनाउन र नेपाली समुदायमा जानकारी सभा हुंदा यथार्थ बताउन उनी नपुगेको दिन छैन् । समान पेन्सनको चिन्ता भन्दा पनि कोरोना भाइरसको पो बढि त्रास र चिन्ता हुन थाल्यो, उनले सुनाए, रोगले थलिएका बुढाबुढीलाई छिटो संक्रमण हुन्छ भन्छन्, कति दिन पो हो बांचिने । राईले आफ्ना समकालिन धेरै भूपू गोर्खामा चिन्ता छाएको बताए ।

राईको जस्तो पीडा अहिले अन्य सबै भूतपूर्व गोर्खा वृद्धवृद्धामा छ । नेपाली समुदाय पनि आतंकि छ महामारीबाट । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका निर्देशक ज्ञानराज राई भूतपूर्व गोर्खा वृद्धवृद्धा चिन्तित रहेको बताउंछन् । ‘आफ्ना सन्तान जागिर, व्यवसायमा व्यस्त रहंदा उनीहरुको रेखदेख गर्ने पनि कोही छैनन् । समाचार पढ्न जान्दैनन्, बुझ्दैनन्’, राईले भने, ‘हामीले देख्दा भेट्दा सकेसम्म सचेत गराउने हो तर उनीहरु जोखिममा छन् । विशेष गरि सन् १९६० को दशकमा मलेसियामा युद्ध लडेका ७५ देखि ८५ वर्ष सम्मका वृद्धहरुको अवस्था दयनीय छ  ।’

राईका अनुसार, बेलायतमा भूतपूर्व गोर्खा वृद्धवृद्धाको संख्या २० हजार हाराहारी छ । समानताका लागि संघर्षरत समितिले अहिले बेलायतका ६५० सांसद र हाउस अफ लर्डस् प्रतिनिधिलाई इमेल वा भेटेरै आफ्ना यथार्थ कुरा सुनाइरहेको छ । ति भेटमा बुढाबुढीकै कल्याण र हकहित प्रमुख विषय बन्छ ।

‘नेपाल सरकारको औपचारिक पत्र र हाम्रो आन्दोलन दवावपछि पनि बेलायत भाग्न खोजिरहेको छ । यसले भयावह स्थिति निम्त्याउने देखिन्छ’, राई भन्छन् ।

गैर आवासीय नेपाली संघ बेलायतले पनि एक सूचना जारी गर्दै नेपाली समुदायमा रहेका वृद्धवृद्धा तथा असहायहरुलाई सहयोग गर्न अपिल गरेको छ । संघले भाइरसको महामारीबाट उत्पन्न विषम परिस्थितिमा सकेसम्म कुनै देशको भ्रमण नगर्न र नेपाल सरकारले जारी गरेको भ्रमण निर्देशिका बमोजिम नेपाल यात्राको योजना नबनाउन समेत अपिल गरेको छ ।

कोरोना भाइरसका कारण बेलायतमा मंगलबारसम्म ७१ जनाको मृत्यु भइसकेको छ भने झन्डै १९५० जनामा संक्रमण देखिएको छ । केही वरिष्ठ सरकारी अधिकारीका अनुसार हालसम्म संक्रमितको संख्या ५ देखि १० हजार हुन सक्छ ।

बेलायत सरकारले भाइरस फैलन नदिन मानिसहरुको जमघट हुने कन्सर्ट, फुटबल म्याच वा सम्मेलन गर्न प्रतिवन्ध लगाउने तयारी गरेको छ । ब्रिटेनमा तय भएको लन्डन म्याराथनसहित कयौं प्रमुख खेल गतिविधि र सांस्कृतिक कार्यक्रम स्थगित गरिएका छन् । सर्वसाधारणका लागि संसद भवन प्रवेशमा पनि रोक लगाइएको छ भने मेमा हुने तय भएको स्थानीय तथा लन्डन मेयर निर्वाचन एकवर्ष सारिएको छ ।

ब्रिटिश सरकारले कोरोन भाइरसको संक्रमण फैलनबाट अब रोक्न नसकिने स्वीकार गरेको छ । ब्रिटिश अधिकारीहरुले दोश्रो चरणमा संक्रमण फैलने गतिलाई सुस्त बनाउने र संक्रमित हुने मानिसहरुको संख्या कम गर्न प्रयास गरिने जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री