एनआरएन यूकेले शुरु गर्यो कोरोना हेल्पलाइन

लन्डन । एनआरएन यूकेले कोरोना महामारीमा सहयोग गर्न हेल्पलाइन शुरु गरेको छ । शनिबार २१ मार्च २०२० मा सम्पन्न संघको आकस्मिक बैठकले हेल्पलाइन राख्ने निर्णय गरेको हो । हेल्प लाइन नम्बर ०७७९५०८६६७४ रहने छ । बेलायतका नेपालीहरुलाई परेका समस्यामा सल्लाह तथा सुझाव प्रदान गर्न क्वीक रेस्पोन्स युनिट खडा गर्दै सचिवालय अन्तर्गत हेल्पलाइन स्थापना गर्ने निर्णय भएको हो ।

आकस्मिक बैठकका निर्णयहरु निम्न छन्-

गैर आवासीय नेपाली संघ बेलायतको आकस्मिक बैठक विधुतीय मध्यमबाट अध्यक्ष पुनम गुरुङको अध्यक्षता सम्पन्न भएको छ । कोरोना भाइरसको संक्रमणले निम्त्याएको विषम परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने एजेन्डामा एनआरएन यूकेका २० जना पदाधिकारी तथा दुई जना आमन्त्रित व्यक्तित्व सहभागी भएर ४ घण्टा भन्दा बढी चलेको बैठकले निम्न निर्णयहरु गरेको छ ।

१. कोरोना महामारीको बेलामा जनस्वास्थ्यका लागि अहोरात्र खटेर काम गर्ने समग्र स्वास्थ्यकर्मी एवं विशेषत नेपाली समुदायका डाक्टर, नर्स लगायतका स्वास्थ्यकर्मीहरुलाई आफ्नो कार्यव्यस्तता बावजुत हाम्रो समुदायका लागि पुरयाएको अतिरिक्त योगदानका लागि विशेष धन्यवाद ज्ञापन गर्दछौं । आजको बैठकमा उपस्थित भएर आफ्नो सल्लाह सुझाव प्रदान गर्नुहुने पब्लिक हेल्थ विशेषज्ञ डा. पदम सिंखडा तथा नेपाली डक्टर्स एसोसियसनका उपाध्यक्ष डा. कमल अर्याललाई विशेष धन्यवाद ज्ञापन गर्दछौं ।

२. बेलायतका नेपालीहरुलाई परेका समस्यामा सल्लाह तथा सुझाव प्रदान गर्न ‘क्विक रेस्पोन्स यूनिट’ खडा गर्दै सचिवालय अन्तर्गत हेल्पलाइन स्थापना गर्ने निर्णय भयो । कोरोना हेल्पलाइनको नेतृत्व एनआरएन यूकेका सचिव कोशलेश्वर (कृष्ण) ढकालले गर्नुहुनेछ । हेल्पलाइन भोलिका मिति देखिनै सक्रिय हुनेछ । हेल्प लाइनको नम्बर- ०७७९५०८६६७४ रहने छ ।

३.कोरोनाका कारण देखा परेको वा पर्न सक्ने समस्याको स्वास्थ्यगत पक्ष र सामाजिक पक्षलाई सम्बोधन गर्न छुट्टाछुट्टै विभागहरु सक्रिय बनाउने निर्णय भयो । स्वास्थ्य सेवा अन्तर्गत डा. सुनिल शाहको संयोजनमा प्रा. पदम सिंखडा (पब्लिक हेल्थ), डा. कमल अर्याल (नेपाली डाक्टर्स एसोसिएसन, यूके) विनोद विकास सिंखडा (नर्सिङ एसोसियसन यूके) र कार्यसमितिबाट एनआरएन यूके महिला संयोजक तथा स्वास्थ्यकर्मी प्रसुना कंडेललाई जिम्मेवारी दिने निर्णय भयो ।

त्यस्तै सामाजिक समस्या सम्बोधन गर्नका लागि एनआरएन यूकेका उपाध्यक्षहरुको टोलीलाई जिम्मेवारी दिने निर्णय भयो । जस अन्तर्गत भूपू गोर्खाहरुका लागि उपाध्यक्ष प्रेम गाहामगर र नारायण कंडेल, विद्यार्थी सहयोगका लागि सुनिलबाबु खड्का र रोजिना प्रधान राई, यूकेका ४ वटै राज्य समन्वय परिषदसंग समन्वयात्मक परिचालनका लागि उपाध्यक्ष मोहन कार्की र रामचन्द्र पोख्रेललाई जिम्मेवारी दिने निर्णय भयो ।

४. यूकेका सबै राज्यको समग्र संयोजनका लागि राज्य परिषदका अध्यक्षहरु दीपक श्रेष्ठ (इंगल्याण्ड), छविलाल अर्याल (स्कटल्याण्ड), नारायण कुंवर ( आयरल्याण्ड) र कृष्ण भण्डारी (वेल्स) लाई जिम्मेवारी दिने निर्णय भयो ।

५ . कोरोना भाइरसद्वारा सृजित समस्या सम्बोधन गर्न गठित विभागको कार्यदिशा तय गर्न तथा नीतिगत रुपमा यसको दिशानिर्देश गर्नका लागि अध्यक्ष पुनम गुरुङ, महासचिव फडिन्द्र भट्टराई र डा. सुनिल शाह सम्मिलित एक स्टेरिङ समिति बनाउने निर्णय भयो ।

६. गठन गरिएका समितिहरुलाई विस्तार गर्ने र सम्पूर्ण कार्यसमिति सदस्यहरुलाई जिम्मेवारी तोक्दै क्षेत्रगत एवं समूहगत रुपमा सबै शक्ति परिचालन गर्ने तथा एनआरएनका अभियन्ता, सल्लाहकार तथा सामाजिक संघसंस्था तथा व्यक्तिहरुलाई विस्तारित समितिहरुमा जोड्दै यूकेब्यापी रुपमा सहयोग उत्रन आव्हान गर्ने निर्णय भयो ।

७. लन्डनस्थित नेपाली दूतावाससंग आवश्यक परामर्श गर्दै दूतावाससंगको सहकार्यमा गर्न सकिने सबै उपायहरुलाई अवलम्बन गर्ने निर्णय भयो । त्यस्तै नेपाली समुदायको हितमा बेलायत सरकारका स्थानीय निकाय तथा स्वास्थ्य निकायहरुसंग आवश्यक संवाद र सहकार्य गर्ने निर्णय भयो ।

८. नेपाली डाक्टर्स एसोसिएसन, नर्सिङ एसोसिएसन लगायत संस्थाहरुसंग आपसी सहकार्यमा समुदायको हितका लागि काम गर्न उत्प्रेरित गर्ने निर्णय भयो ।

९. नेपाली समुदायमा सचेतना फैलाउनका लागि एनआरएन यूके मेडिया विभागलाई विशेष भूमिका निर्वाहको जिम्मेवारी दिने निर्णय भयो ।

१०. बेलायतमा क्रियाशील सबै नेपाली संघसंस्थाहरुलाई आ-आफ्नो ठाउंबाट सक्रिय हुन आव्हान गर्दै व्यक्तिगत तथा संस्थागत समन्वयमा एनआरएन यूकेको यो अभियानमा सहयोगको अपिल गर्ने निर्णय भयो ।

११. एनआरएन यूके आवद्ध सबै सदस्यहरु तथा सम्पूर्ण गैर आवासीय नेपाली दाजुभाई बहिनीहरुमा वर्तमान विषम परिस्थितिमा सावधानीका सबै उपाय अवलम्बन गर्दै आफू पनि सुरक्षित रहन र अरुलाई पनि सघाउन एनआरएन यूकेको यो बैठक अनुरोध गर्दछ ।

एनआरएन यूके पदाधिकारीको अर्को बैठक भोलि आइतबार पुनः बस्नेछ ।

धन्यवाद

फडिन्द्र भट्टराई, महासचिव, एन आर एन यूके

प्रतिक्रिया

सम्बन्धित सामाग्री