कोरोनालाई पराजित गर्दै घर फर्किए कपुर

लन्डन । कोरोना भाइरस (कोभिड १९) संक्रमण चपेटामा संसार परेको बेला सामान्य ज्वरो अनि निरन्तर खोकी लागेपछि उनको मन अशान्त हुन पुग्यो । एक सातासम्म औषधी खादा पनि खोकीले निको हुने छाँटकाँट नदेखाएपछि निमोनियाँ वा कोरोना भाइरस संक्रमण भएर कतै छातीमा इन्फेक्सन पो हुन्छ कि भन्ने डरले पद्म राणाले एम्बुलेन्सलाई खवर गरे । खवर गरेको केहीवेरमै स्वास्थ्यकर्मीसहित एम्बुलेन्स घरमै आईपुग्यो ।

साउथ इस्ट लन्डन वुलवीचमा रेस्टुरेन्ट व्यवसाय गरिरहेका राणाको आंशका निवारण नगरी सामान्य चेक जाँच गरी एम्बुलेन्सका स्वास्थ्यकर्मी फर्किए । करीब दुई साता अघिको घटना सम्झिँदै उनले भने, ‘कोभिड १९ बाट संक्रमित व्यक्तिका कारण भरिभराउ अस्पतालमा उनीहरुले तत्काल भर्ना गर्न खोजेनन् होलान् ।’

स्वास्थ्यकर्मीले राणालाई थप एक दिन निगरानीमा राख्ने निर्णय गर्दै केही एन्टिवायोटिक औषधी दिएका रहेछन् । एन्टिवायोटिक खाँदा पनि बिमारीमा केही कमी नआएपछि उनले आत्तिँदै दोस्रो दिन पनि एम्बुलेन्स बोलाए । राणाको अवस्था जानकारी भैसकेकाले दोस्रो पटक आएका एम्बुलेन्ससहितको स्वास्थ्यकर्मी टोलीले उनलाई क्वीन एलिजावेथ अस्पताल पुर्यायो ।

अस्पताल पुगे लगत्तै छातीको एक्सरे गरियो । एक्सरे रिपोर्टले राणाको निमोनियाको शंका सही सावित भयो । अर्को चेक जाँच भयो कोरोना भाइरस संक्रमणको । त्यसमा पनि पोजेटिभ भेटियो । निमोनिया र कोरोना पोजेटिभ भेटिए पनि राणा आत्तिएनन् । उनले पहिले पटक बेलायत आउँदा गरेको दु:ख सम्झिए । ‘बेलायत आएर ठेलामा म:म बिक्री गर्दै परिवार बस्ने घर, सवारी साधन र व्यवसाय गरेर यहाँसम्म आइपुगेको छु । यो कोरोनाले मलाई छुन सक्दैन ।’

उनले माहामारी रोग कोरोनासँग लड्ने तयारी गरे । कोरोना संक्रमण हुने बित्तिकै मरिहालिन्छ भन्ने भ्रमलाई चिर्ने संकल्प लिए । आफन्त तथा सुख दुखमा साथ दिने जीवन संगीनी सम्झिए । राणाले मन मनै यस्तो रोगसँग लड्ने संकल्प गर्दागर्दै उनलाई एउटा छुट्टै कोठामा राखेर उपचार सुरु भयो ।

क्वीन एलिथावेथ अस्पताल भर्ना भएको एक सातामा उनलाई सानो पाइपबाट निरन्तर अक्सिजन दिइयो । २३ मार्च सोमबार अस्पतालबाट डिस्चार्ज हुनु दुई दिनअघि अक्सिजन झिकेर उनको स्वास्थ्य अवस्था जाँच गरियो । त्यसमा पनि कुनै समस्या नेदेखिएपछि गत आईबारदेखि राणा होम आईसोलेसनमा बसेका छन् । परिवारसँग बसेपनि निकै सरसफाई र सोसियल डिस्ट्यान्समा विशेष ध्यान दिएको उनले बताए ।

झण्डै दुई दशकअघि बेलायत छिरेका राणालाई कपुर नामले धेरैले चिन्दछन् । साउथ इस्ट लन्डनमा ठेलामा म.म. विक्रीदेखि साउथ वुलवीचमा फ्युजन रेष्टुरेन्टसम्मको यात्रामा अहिले धेरै नेपालीले राणालाई चिनिसकेका छन् । राणाले कोराना भाइरस संक्रमणसँग लड्दा कहिल्यै हिम्मत हारेनन्।

‘मैले उच्च मनोवल लिएर कोभिड १९ सँग लडे र जित पनि हासिल गरेको छु’-उनले वीनेपालीसँग भने, ‘संसारभर माहामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट डराउनु पर्छ । त्यो स्वाभाविक पनि हो । तर, डरलाई जित्नु नै यो रोगसँग लड्ने क्षमता हो ।’

व्यवसायी राणाले युद्ध मैदानमा जादा गोली गठ्ठा बोके जस्तै कोभिड १९ सँग लड्न आफै बलियो सोच हुनुपर्ने बताए । उनले नेपाली समुदायले मुख्य कुरा डाइटिङ भन्दा व्यालेन्स डाईटमा ध्यान दिन जरुरी भएको सुझाए । घरमै आराम गरिरहेका राणाले भौतिक रुपमा एक अर्कालाई छोएपछि सर्ने रोग भएकाले २ मिटर फरकमा रहनु र हरेक दिन सरसफाई गर्नु नै कोरोना भाइरसको संक्रमणबाट बच्ने उपाए भएको जनाए ।

कोरोना भाइरस संक्रमणका कारण बेलायतमा अहिलेसम्म एक हजार चार सय ८ जनाको मृत्यु भैसकेको छ । २२ हजार एक सय ४१ जना कोरोना संक्रमित बेलायतमा उपचारार्थ अस्पतालमा भर्ना गरिएको छ भने एक ३५ जना उपचारपछि घर फर्किसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री