कविता: (सन्दर्भ: कोरोना भाइरस)
मानव हुनुको सामान्य मापदण्डभित्र पनि
आफूलाई कैद गर्न नसकेर
छरपष्ट भइदिँदा
हे मानव ! समालिन्छौ कि ?
भन्नाका खातिर त्यसकारण म आएँ ।
आफ्ना स्वार्थका लागि आमालाई समेत बेच्न तयार हुँदा
आफ्नो प्यासका लागि सन्तानलाई समेत रेट्न तयार हुँदा
आफ्नो भोक मेट्न आफन्त समेत सेक्न तयार हुँदा
तिम्रा पापहरुको घडा भरिएर पोखिँदा पनि
तिमी उम्लिरहेउ
तिमीमा चेतना शुन्य हुँदा
त्यो जागृत गर्न हे मानव, त्यसकारण म आएँ ।
प्राणीहरुलाई बाँच्न पाउने आधिकारबाट बन्चित गरेको मानवले
आज आफैँलाई बचाउन सकिरहेको छैन
आज धर्तिका सम्पूर्ण प्राणीहरु यथास्थानमा विचरण गरिरहंदा
हे मानव, आज तिम्रो स्थान उथलपुथल भएको छ
पृथ्वीमा आफूलाई सर्बेसर्वा ठान्ने मानव
आज निरही बनेको छ
साइनो र सम्बन्धका आधारहरु मेटिदै गए
आफ्ना र पराइका दायराहरु छेकिदै गए
हे मानव, त्यसकारण म आएँ ।
हे मानj, तिमी सर्बगुणीभन्दा पनि सर्बभोगी बन्दै गयौ
खानपान, स्वस्थ्य शरीर, आहारबिहार, बोलिचालि आचरण जीवन बाच्ने शैली सबै भुल्दै गयौ,
जसलाई जहाँ जतिबेला पनि जस्तो शस्त्र अस्त्र प्रयोग गरेर भएपनि
आफ्ना निच स्वार्थ र घृणित सपनाहरुलाई साकार पार्न
मर्न र मार्न पनि पछि नपर्ने मान्छे
आज आफैँलाई बचाउन सकिरहेको छैन
मान्छे चेतनशिल प्राणी हो तर चिन्तनशिल नभई दिंदा
मान्छे विवेकशील प्राणी हो तर विचारवान नभई दिंदा
मान्छे अनुशासित र सभ्य प्राणी हो तर कुरुप भई दिंदा
हे मानव, त्यसकारण म आएँ ।
सृष्टिका सम्पूर्ण प्राणीमाथि आधिपत्य जमाउने हे मानव
आज आफ्नै अधिकार गुम्दा आवाज बिहिन भएका छौ
आफूलाई दुख्दा अरुलाई पनि दुख्छ
आफूलाई घोच्दा अरुलाई पनि बिझाउंछ भन्ने तिमीमा विवेक हराउँदा
आफू भित्रको लोभलालच, रिसराग, मोह, घमण्ड, ईर्स्या,
वैमनश्यता, कलह, झगडा, कटुता, बदलाका
भावहरुलाई तिमीले लकडाउन गर्न सकेको भए
आफ्ना उत्तेजना, आबेग र सम्बेगहरुलाई
सेल्फ क्यारेनटाइनमा राख्न सकेको भए
आज मेरो कारणले आइसोलेसनमा जानुपर्ने थिएन
हे मानव, त्यसकारण म आएँ ।
फ्रीमा पाउने अक्सिजनलाई दुषित बनाएर
प्रकृतिलाई नै कुरुप बनाई रहंदा तिमी
आफूलाई सौन्दर्यताको खानी सम्झन थाल्यौ
तिम्रो वास्तविक सुन्दरताको पहिचानका खातिर
धर्मका नाममा ढोगी बन्यौ
धर्मलाई व्यापार बनाएर आफू भोगी बन्यौ
मठमन्दिर, गुम्बा र मस्जिद तिम्रा लागि
कठपुतली जस्तै बन्दा
मानिस हुनुको स्वर्ण विवेक र प्राकृतिक स्वतन्त्रताको आदर्शमा
नैतिक मूल्य र मान्यताको ज्ञान दिलाउन
ऎसआराम र भोकबिलासको जिन्दगीका लागि
धन, सम्पती र पैसाका निमित्त
ईमान, इज्जत र स्वाभिमान बेच्न तयार हुने तिमी
कूकर्मतर्फ अग्रसर हुँदै गर्दा
हे मानव, त्यसकारण म आएँ ।
आफू बाच्न अरुलाई मार्न थाल्यौ
आफू हाँस्न अरुलाई रुवाउन थाल्यौ
आफ्नो पेट भर्न अर्काको खोस्न थाल्यौ
कहीं केही बाकी नराखी आफैलाई मात्र पोस्न थाल्यौ
सत्कर्म गरिरहेका पाइलाहरु लरबराएर
आफू हिँड्न अरुलाई लडाउन थाल्यौ
सत्ता शक्ति र धनको उन्मादमा तिमी भ्रष्टाचारी हुँदै गर्दा
तिम्रै नियतिमा ती कलिला मुनाहरु फक्रन नपाउँदै निमोठिँदा,
बलात्कार, अधर्म, हत्या, हिंसाको पापले
तिमीलाई कत्ति पनि पोलेन हे मानव
आज विश्वमा नैतिकता, इमानदारीता, विश्वास,
अनुशासन, आसाभरोसा, आदर्श सबै हराइसक्यो
तिम्रा ती अस्तित्वहरु सखाप हुनै लाग्दा
हे मानव, त्यसकारण म आएँ ।
प्रकृतिसङ्ग पौठेजोरी खोजेर
धर्तिलाई नै आफ्नो कब्जामा आफ्नो मुठ्ठीमा राख्न खोज्ने
मानव आज प्रकृतिको मुठ्ठीभित्र अचेटिएको छ,
पिल्सिएको छ, अलिकति पनि हलचल नगरी स्तब्ध बसेको छ
अनकन्टार अध्यारोमा निर्जिब खम्बा जस्तै उभिएर
मलाई माफ गर हे मानव
तिमीलाई तिम्रो कर्तब्य र अस्तित्व बोध गराउन
हे मानव, त्यसकारण म आएँ ।
काठमान्डू, नेपाल । २०७६ चैत १४ गते शुक्रवार ।