एनआरएनए : वान प्रोजेक्टद्धारा कोरोना पीडित परिवारको लागि सहयोग


लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत वान (एनसीसी वान)प्रोजेक्ट एवं महिला तथा युवा विभागले कोरोना भाइरसबाट पीडित ब्यक्ति र परिवारको सहयोगका लागि आर्थिक संकलन अभियान सुरु गरेको छ । एनआरएनए उपाध्यक्ष तथा विभाग संयोजक रवीना थापाको अध्यक्षतामा अप्रिल ६ तारिखमा बसेको टेलिकन्फरेन्स बैठकले तत्कालै राहत दिने गरी अर्थ संकलन अभियान सुरु गर्ने निर्णय गरेको हो ।

‘कोरोना भाइरसले विश्वभरी आतंक मच्चाएको छ । विश्वभर रहेका नेपालीहरु अहिले निकै कठिन परिस्थितिबाट दैनिकी विताइ रहनुभएको छ,’ थापाले भनिन्, ‘वहाँहरुको पीडामा थोरै भएपनि तत्काल राहत उपलब्ध गराउने निर्णय हाम्रो समितिले लिएको छ । छिट्टै रकम संकलन गरेर राहतको कार्यक्रम सुरु गर्छौं ।’ बैठकले ४ प्रकृतिका पीडितहरुलाई सहयोग गर्ने निधो गरेको छ ।

कोरोना संक्रमणका कारण मृत्युवरण गरेका ब्यक्तिको परिवारलाई पहिलो प्राथमिकतामा राहत उपलब्ध गराईने छ । यस्तै, कोरोना संक्रमणपछि उपचारत ब्यक्ति, अध्ययनको शिलशीलामा विश्वका विभिन्न देशमा बसिरहेका विद्यार्थीहरु र विभिन्न कामले नेपाल बाहिर रहेका र सम्बन्धित देशको आवश्यक कागजपत्र नभएका ब्यक्तिहरुलाई सहयोग गर्ने तयारी छ । ‘पहिलो चरणमा विदेशमा भएका नेपाली दाजुभाइ दिदि बहिनीहरुलाई राहत उपलब्ध गराउँ भनेर यस्तो निर्णय गरिएको हो । अहिले नेपालमा त्यति धेरै असर पुगिसकेको पनि छैन,’ थापाले भनिन्, ‘विदेशमा गरिसकेपछि नेपालमा पनि दैनिक ज्यालामजदुरी गर्ने र कठिन परिस्थितिका ब्यक्तिहरुलाई सघाउछौं ।’

बैठकमा अमेरिका, क्यानडा, बेलायत, स्पेन, स्विट्जरल्याण्ड, इटाली, फ्रान्स, नेपाल लगायत बिभिन्न क्षेत्रहरुबाट आफ्नो टास्कफोर्सका प्रतिनिधि र सल्लाहकारहरुले भाग लिएका थिए । तीनवटै बिभागले संयुक्त रुपमा आर्थिक सहयोग संकलन अभियान शुरु गरिसकेको छ । सहयोग राशीलाई पारदर्शी बनाउन गो–फण्ड खाता खोलिएको र लिंकहरु बिभिन्न माध्यमबाट शेयर भइरहेको अध्यक्ष थापाले भनिन् ।
‘सहयोगका लागि पहिले रकम संकलन गर्नुपर्ने छ । सानो सानो सहयोगले धेरैको पीडामा मलम लगाउन सकिन्छ,’ उनले भनिन्, ‘एनआरएनएका सबै राष्ट्रिय परिषद एनसीसीहरु, संघ–संस्थाहरु र विश्वभर रहेका नेपाली समुदायलाई यो अभियानमा आफ्नो क्षमता अनुसार सहयोग गर्नुहुन हार्दिक आग्रह गर्दछु ।’

सहयोग संकलन र राहत वितरणबारे थप प्रष्ट हुनुपरेमा एनआरएनए उपाध्यक्ष एवं महिला तथा यूवा विभाग र वान एनसीसी वान प्रोजेक्ट की संयोजक रवीना थापा [email protected], खुशी लिम्बु [email protected] र प्रकाश ढकाल [email protected] लाई ई–मेल गर्न सक्नु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री