नेपालका राष्ट्रपति र प्रधानमन्त्रीद्वारा जोन्सनको स्वास्थ्यलाभको कामना

प्रधानमन्त्री जोन्सन । तस्बिर- बीबीसी

लण्डन । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टाछुट्टै शुभकामना सन्देश पठाउदै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्यलाभको कामना गरेका छन् ।

लण्डनस्थित नेपाली दूतावासका अनुसार राष्ट्रपति भण्डारीले बेलायतकी महारानीलाई एक सन्देश पठाउँदै प्रधानमन्त्री जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । शुभकामना सन्देशमा राष्ट्रपतिले बेलायतमा रहेका सबै नेपालीहरुको संरक्षण हुने विश्वास समेत व्यक्त गरेकी छन् ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षी जोन्सनलाई शुभकामना सन्देश पठाएर स्वास्थ्यलाभको कामना गरेका छन् । सन्देशमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री जोन्सन छिट्टै निको भएर कोरोनाविरुद्धको बेलायतको लडाईंलाई नेतृत्व प्रदान गर्न सक्षम हुने विश्वास समेत व्यक्त गरेका छन् ।

यसैबीच बेलायत सरकारका परराष्ट्र राज्यमन्त्री लर्ड अहमदले गतसाता नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसंग टेलिफोन संवाद गरी नेपालमा रहेका बेलायती नागरिकको सुरक्षा तथा फिर्तीसम्बन्धी विषयमा छलफल गरेको दूतावासले जनाएको छ  ।

सो छलफलमा मन्त्री ज्ञवालीले बेलायतमा रहेका नेपालीहरुको सुरक्षा तथा विद्यार्थीका समस्याहरुका बारेमा राज्यमन्त्री अहमदसंग कुरा उठाएका थिए । नेपालमा बिदामा गएका भूतपूर्व गोर्खा र उनीहरुको परिवारका सम्बन्धमा समेत मन्त्री ज्ञवालीले चासो व्यक्त गरेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री