ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसन अस्पतालबाट डिस्चार्ज

लन्डन, (जीएनएन) ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसन अस्पतालबाट आफ्नो निवास फर्किएका छन् ।उनको स्वास्थ्यमा सुधार आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको तर उनी तुरुन्तै काममा नफर्किने उनको कार्यालयले जनाएको छ ।

कोरोनाबाट संक्रमित भएको १० दिन पछि उनको स्वास्थ्य बिग्रिए पछि गत आइतबार ५५ वर्षीय प्रधानमन्त्री जोनसनलाई लन्डनस्थित सेन्ट टोमस अस्पतालमा भर्ना गरिएको थियो । उनलाई तीन रातसम्म सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो ।

डाउनिंग स्ट्रिटले उनले ग्रामीण क्षेत्रमा रहेको चेकर्सस्थित प्रधानमन्त्रीको निवासमा बसेर आराम गर्ने जनाएको छ ।

“आफ्नो चिकित्सा टोलिको सल्लाह अनुसार प्रधानमन्त्री जोनसन तुरुन्तै काममा फर्कने छैनन्,” उनको कार्यालयले भनेको छ, “उनले आफ्नो उपचारमा संलग्न सबैलाई धन्यवाद दिएका छन् ।’’

नेपालकी राष्ट्रपति विद्या भण्डारी तथा प्रधानमंत्री के पी शर्मा ओलीले छुट्टाछुट्टै संदेश पठाइ प्रधानमन्त्री जोनसनको शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

पब्लिक हेल्थ इंगल्याण्डका अनुसार अहिलेसम्म ब्रिटेनमा झन्डै ७९,००० जना कोरोनाबाट संक्रमित भएको पुष्टि भएको छ भने गत शुक्रबारसम्ममा ९,८७५ जनाको कोरोना संक्रमणबाट मृत्यु भै सकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री