सहकार्य र सहयोगको लागि नेपाली राजदूतावास लण्डनको अनुरोध

लन्डन । (जीएनएन) नेपालबाट आई वेलायतका विभिन्न विश्वविद्यालयहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरुसंग सम्पर्क गर्न, समस्यामा परेका र पर्नसक्ने विद्यार्थीहरुको विवरण तयार गर्न र सहयोगको लागि समन्वय गर्न यस राजदूतावासबाट युवा तथा विद्यार्थी सहयोग समिति गठन गरिएको र उक्त समितिमा मर्जिङ नेपसक्सका अध्यक्ष श्री पवन कंडेललाई संयोजक तोकिएको व्यहोरा यहाँहरु सबैमा अवगत भैसकेकै छ ।

यस राजदूतावासले युवा तथा विद्यार्थी सहयोग समितिको सहयोग लिई विद्यार्थीहरुसंग समन्वय गर्न, विवरणहरु अद्यावद्यिक गर्न, आवश्यक सहयोग संकलन गर्न र प्राथमिकता बमोजिम सहयोग उपलव्ध गराउने कार्यको लागि राजदूतावाससंग समन्वय गरी कार्य गर्न मर्जिङ नेपसक्सलाई तोकिएको व्यहोरा अनुरोध गरिन्छ । यस राजदूतावासको सुझाव बमोजिम मर्जिङ नेपसक्सले कोभिड-१९ का कारण विभिन्न समस्यामा परेका नेपाली विद्यार्थीहरुको विवरण संकलन गरिरहेको छ । त्यस्तै राजदूतावासमा सम्पर्क गर्ने अन्य विद्यार्थीहरुको विवरण राजदूतावासले पनि संकलन गरेको र दुवै विवरणहरुलाई एकीकृत गरी गम्भीर समस्यामा रहेका विद्यार्थीहरुलाई प्राथमिकता दिई मर्जिङ नेपसक्स मार्फत सहयोग उपलव्ध गराइने व्यहोरा अनुरोध गरिन्छ ।

नेपली विद्यार्थीहरुका समस्या समाधानकोलागि यस राजदूतावासले वेलायत सरकारका सम्बन्धित निकाय र सम्बन्धित विश्वविद्यालयहरुमा समेत कुराकानी गरिरहेको छ । वास्तविक समस्यामा परेका र भविष्यमा समस्यामा पर्न सक्ने विद्यार्थीहरु भोकै रहनुपर्ने समस्या नहोस् भन्ने अभिप्रायले वेलायतमा रहनुभएका गैरआवासीय नेपाली संघ लगायत विभिन्न समाज, संघ, संस्था र समाजसेवीहरुमा सहयोगको लागि यस अघि नै अनुरोध गरिसकिएको सन्दर्भमा यहाँहरुले आफ्नो सहयोग मर्जिङ नेपसक्स मार्फत उपलव्ध गराईदिनु हुन हार्दिक अनुरोध गरिन्छ । यहाँहरुको सहयोगको विवरण र सहयोग प्राप्त गर्ने विद्यार्थीहरुको विवरण उपयुक्त समयमा पारदर्शी तवरले प्रकाशित गरिने व्यहोरा पनि अनुरोध गरिन्छ ।

साथै यस विषम परिस्थितिमा विद्यार्थीहरु लगायत सिंगो नेपाली समुदायमा सचेतना तथा सहयोगका लागि सदैव अग्रसर गैरआवासीय नेपाली संघ, युके लगायत समस्त संघ, संस्था र समाजहरु एवं समाजसेवी महानुभावहरुमा हार्दिक अभार व्यक्त गर्दै मर्जिङ नेपसक्सलाई उल्लिखित कार्य गर्न दिइएको जिम्मेवारीमा वेलायतस्थित नेपाली जनसमुदायको सहकार्य र सहयोग उपलव्ध हुने विश्वास यस राजदूतावासले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री