मर्जिङ नेपसोसद्वारा राहत वितरण सुरु

लन्डन । मर्जिङ नेपसोसले कोरोना भाइरसबाट प्रभावित नेपाली विद्यार्थीलाई राहत वितरण गर्न सहयोग सुरु गरेको छ ।

गत ६ अप्रिलमा बेलायतस्थित नेपाली राजदूतावासले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुसँग सम्पर्क गरी राहत सहयोग वितरण गर्न जिम्मा दिएपछि मर्जिङ नेपसोसले राहत वितरण गरेको हो । अध्यक्ष पवन कँडेलका अनुसार अहिलेसम्म ५० जनालाई खानका लागि राहत वितरण गरिएको छ । आगामी साता करिब एक सय विद्यार्थीहरुलाई राहतको आवश्यकता पर्ने जानकारी पनि उनले वीनेपालीलाई दिए ।

विद्यार्थीहरुका समस्या समाधानका लागि उसले बुधबारसम्म नौ हजार पाउण्ड रकम आर्थिक संकलन पनि गरिसकेको छ ।

राजदूतावासले बेलायतका विभिन्न विश्वविद्यालमा अध्ययनरत नेपाली विद्यार्थीहरुसंग सम्पर्क गर्न, समस्यामा परेका र पर्नसक्ने विद्यार्थीहरुको विवरण तयार गर्न र सहयोगको लागि समन्वय गर्न मर्जिङ नोपसोसलाई जिम्मा दिएको थियो । राजदूतावासबाट जिम्मेवारी पाएपछि बुधबारसम्म नोपसोसले दुई सय ३० जना विद्यार्थीहरुसँग सम्पर्क गरिसकेको छ । त्यसका लागि ५० अभियानकर्तामा १६ जना रहेको हेल्पलाइन टोली बनाएको छ । तीमध्ये आधा दर्जनले विद्यार्थीहरुका बारेमा विस्तृत जानकारी लिने गरेका छन् । जसमा अध्ययनको विषय, कलेज वा विश्वविद्यालय, उनीहरुले अध्ययन गरेको विषयहरु, तहहरु र परिवर्तन गर्न चाहेको कोर्षहरु बारेमा बुझिरहेको अध्यक्ष कंडेलले बताए ।

यसबाहेक बेलायती विद्यार्थीहरुले पाउने हार्डसीप फण्डको व्यवस्था, विश्वविद्यालय अध्ययन नगरी नेपाल फर्कन चाहनेलाई रकम फिर्ता, अनलाईन कोषहरु र अनलाईन कोर्ष अध्ययन गर्न छाडेर सेप्टेम्बर सेसनमा विश्वविद्यालय जान चाहनेका लागि के कस्तो गर्न सकिन्छ भनेर विशेष फाराम भराईरहेको छ । राहतको दूरुपयोग नहोस भनेर विशेष फाराम भराउने गरिएको छ । जसमा आफ्ना व्यक्तिगत अवस्थाहरुका बारेमा विस्तृत जानकारी दिनुपर्नेछ । आर्थिक राहत लिई सकेपछि खरीद गरेको रिसिट नोपसोसलाई पठाउनु पर्ने बाध्यकारी व्यवस्था गरिएको छ ।

करिब तीन सय ५० विद्यार्थीहरु कोरोनाबाट प्रभावित भएको अनुमान नोपसोसले गरेको छ । अधिकाश विद्यार्थीहरु हडर्सफिल्ड, बोल्टोन, ल्यानकास्टर, वेस्ट लण्डन, कार्डिफ विश्वविद्यालय लगायतमा अध्ययनरत रहेका छन् ।

विद्यार्थीहरुलाई सहयोग गर्न समुदायले देखाएको सहयोगले आफूहरुलाई उत्साहित बनाएको अध्यक्ष कंडेलले बताए । हाम्रो टीम वर्क र अभियानबाट उठेको रकमले बेलायतस्थित नेपाली राजदूतावासबाट दिइएको जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गर्न सक्छौँ भन्ने विश्वास लागेको उनको भनाइ छ । आफ्ना सदस्यहरुको नेटवर्कबाट ४ हजार पाउण्ड तथा विभिन्न संघसंस्थाबाट करिब पाँच हजार पाउण्ड सहयोग उठेको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री