कोरोनाबाट गोरखाका बुद्धबल गुरुङको युकेमा निधन

लण्डन । कोरोना संक्रमणबाट पूर्व गोरखा सैनिक बुद्धबल गुरुङको बेलायतमा निधन भएको छ । ८३ वर्षीय गुरुङको बुधबार फ्रिमली पार्क अस्पतालमा बेलुकी १०.४५ बजे निधन भएको गुरुङका नातेदार तथा गोरखा जिल्ला तमु समाजका युकेका अध्यक्ष फडकजित गुरुङले जानकारी दिनुभयो ।

गोरखा सिरान्चोक गाउँपालिका वडा नम्बर ७ काप्रे स्थायी घर भएका गुरुङ बेलायतको फार्नब्रोमा श्रीमती, दुई छोरा बुहारी, छोरी ज्वाइँका साथमा बसोबास गर्दै आउनुभएको थियो ।

घरमै अस्वस्थ महसुस गरेपछि गुरुङ र श्रीमती दुवैलाई सोमबार अस्पताल लगिएको थियो । दुवैलाई कोरोना पोजिटिभ देखिए पनि श्रीमतीलाई औषधि दिएर घर फर्काइएको थियो भने गुरुङलाई अस्पताल भर्ना गरिएको थियो ।

अहिले गुरुङको परिवारका सबै सदस्य घरमै आइसोलेसनमा बसिरहेका छन् । समाजका अध्यक्ष गुरुङका अनुसार उमेरले पाको भएपनि गुरुङ हिँडडुल गर्न र आफैँ खानपिन गर्न सक्ने अवस्थामा थिए ।

उनको आर्मी नम्बर २११४१२६८ थियो । उनी ९ वर्षदेखि युकेमा बसोबासरत थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री