बेलायतमा कोरोना र अन्य कारणबाट मृत्यु हुने नेपालीको स‌ंख्या उत्तिकै

लण्डन । बेलायतमा कोरोनाबाट शुक्रबार (१७ अप्रिलसम्ममा) १६ जना नेपालीको मृत्यु भएको छ भने उत्तिकै संख्यामा अन्य कारणबाट नेपालीहरुको मृत्यु भएको पाइएको छ ।

वीनेपालीले गत मार्च १५ तारिखदेखि १७ अप्रिलसम्ममा बेलायतमा मृत्यु हुने नेपालीहरुको रेकर्ड राखेको थियो । जसअनुसार सो समयावधिमा ३३ जना नेपालीको निधन भएको छ ।

सो अवधिमा ज्यान गुमाउने नेपालीहरुमा धेरै ७०-७९ वर्ष उमेर समूहका छन् । यस उमेर समूहका १० जनाको निधन भएको छ । ८०-८९ वर्ष उमेरभित्रका ९ जनाको मृत्यु भएको छ । ६०-६९ वर्ष उमेर समूहका ३ जनाले ज्यान गुमाएका छन् भने ५०-५९ वर्ष उमेर समूहका ६ जनाको मृत्यु भएको छ । ५० वर्षमुनीका २ जना र ९० वर्षमाथिका १ जनाको निधन भएको छ । यसरी बित्नेहरुमा सबैभन्दा कम उमेर ३९ वर्ष र सबैभन्दा बढी ९५ वर्ष रहेको छ ।

सो अवधिमा ज्यान गुमाउने नेपालीहरुको लैङ्गिक अनुपात भने असमान छ । यसअवधिमा निधन हुने पुरुषको संख्या २६ छ भने महिलाको संख्या मात्र ७ जना । यस्तैगरी गोरखा समुदाय र गैरगोरखाको अनुपात पनि उस्तै छ । यसअवधिमा गोरखा समुदायबाट २८ जनाको निधन भएको छ भने गैरगोरखा समुदायबाट ५ जनाको निधन भएको छ ।

यसैगरी मृत्युहुने नेपालीहरुमध्ये आधा लण्डनभित्र  बितेका छन् भने बाँकी लण्डनबाहिर । रेडिङमा ४, ननिटनमा २, नट्टिघममा २, ह्याम्पसायरमा ४, लिभरपुलमा १, क्यान्टबरीमा १, स्वीण्डनमा १ जनाको निधन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री