मेडिस्टोनमा कार आगजनीमा परेका गोरखालाई स्थानीयको साथ र सहयोग

तस्वीर केन्टअनलाइन

लण्डन । गत हप्ता मेडिस्टोनमा कार आगजनीमा गरेका गोरखा भूतपूर्व सैनिकको परिवारलाई स्थानीयबासीले सहयोग र सद्भाव व्यक्त गरेका छन् ।
गत साता कोरोना भाइरसबाट सृर्जित जातीय द्वेषका कारण उनको कार जलाइएको समाचार सार्वजनिक भएपछि उनका लागि स्थानीयबासीले आर्थिक सहयोग संकलन गरेका छन् भने सो समाचार प्रकाशन गरेको केन्टअनलाइनमार्फत सद्भाव र स्नेह व्यक्त गरेका छन् ।
केन्ट अनलाइनका अनुसार पीडित रामकुमार लिम्बुका लागि उनका एक छिमेकी स्टिभ होवार्डले जष्ट गिभिङमा आर्थिक सहयोग संकलनका लागि पेज बनाएका छन् । आठ दिनअघि ५०० पाउण्ड सहयोग उठाउने लक्ष्य राखेर बनाइएको सो पेजमा यो समाचार तयार पारुञ्जेलसम्ममा ७४ जनाले सहयोग गरेका छन् भने १ हजार २१७ पाउण्ड सहयोग जम्मा भइसकेको छ ।
मेडिस्टोनको होण्डा मोटरसाइकलको डिलरका व्यवस्थापक रहेका ५२ वर्षीय होवार्ड लिम्बु र उनको परिवारले बेलायतको लागि सैनिक जीवन र राष्ट्रिय स्वास्थ्य सेवामार्फत दिएको योगदान सम्झेर सो अभियान शुरु गरेको बताउँछन् ।
उनी भन्छन्, “बार्मिङ (घटना भएको क्षेत्र) मा अलि राम्रो सामुदायिक भावना छ । म सम्भवत सो घटनाका बारेमा सबैभन्दा पहिला यसको फेसबुक पेजमा कमेन्ट गर्नेमा पर्छु । चाँडै नै यो प्रष्ट भयो कि यो हाम्रो समुदायमा नराम्रो घटना भयो ।” उनी थप्छन्, “यो घटनामा जसको कार क्षति भयो उनले सैन्य सेवाबाट र उनको परिवारले एनएचएसमार्फत यो देशको लागि दिएको योगदानको गुण तिर्ने अब बेला भयो । अहिलेसम्म आर्थिक सहयोगमा प्राप्त प्रतिक्रिया असाध्यै राम्रो र सुखद छ ।”
उनी भन्छन्, “यो घटनापछि मलाई सोच्न बाध्य गरायो कि मानिसहरु एकले अर्काको ख्याल राख्छन् । जसले यो घटना गराए उनीहरु केही सीमित मात्र हुन् । यस घटनाले हामी सबैलाई यस्तो घटना हाम्रो समुदायमा यत्तिकै जान दिन हुँदैन भन्ने सन्देश दिएको छ ।”
होवार्डले सहयोग संकलनका बारेमा लिम्बुसित कुरा गरेको र सहयोग रकम जम्मा भएपछि हस्तान्तरण गर्ने बताएका छन् ।
लिम्बुको परिवारको तर्फबाट भतिजी एञ्जिला लिम्बुले समुदायबाट प्राप्त शुभेच्छा र सहयोगप्रति परिवारको तर्फबाट आभार प्रकट गरेकी छिन् । उनले भनेकी छिन्, “जब यो घटना भयो हामीले सामान्य किसिमले जनचेतना फैलाउने र यस्तो घटना अब नहोस् भन्ने चाहेका थियौँ । तर यति धेरै सकारात्मक प्रतिक्रिया, सुनिश्चितता, सुझावहरु पाएर हामीहरु साँच्चिकै आश्चर्य र द्रविभूत भएका छौँ ।”
“समुदायले हामीलाई सहयोगका लागि ठूलो कष्ट उठाएको छ । जब हामीले हाम्रो लागि सहयोग संकलन हुँदैछ भन्ने थाहा पायौँ हामीहरु नाजवाफ भयौँ । त्यो दुखद घटनाको बावजुद पनि समुदायले हामीलाई तिमीहरु सुरक्षित क्षेत्रमा छौ भन्ने जुन प्रत्याभूति देखायो र दिलायो त्यसका लागि धन्यवाद दिन्छौँ” उनले भनिन् ।
अप्रिल १५को राति लिम्बुसहित अर्को एक नेपालीको कारमा आगजनी गरिएको थियो । सो समाचारमा प्राप्त ६१ वटा प्रतिक्रियामा अधिकांशमा लिम्बुको परिवारप्रति सहानुभूति प्रकट गर्दै सो घटनाले मेडिस्टोनबासीको भावना प्रतिनिधित्व नगर्ने बताइएको छ । यस्तै ती प्रतिक्रियामा घटनामा संलग्नप्रति आक्रोश व्यक्त गर्दै र कडा कार्बाहीको माग पनि गरिएको छ । लिम्बु परिवारप्रति व्यक्त प्रतिक्रियामध्ये एउटामा भनिएको छ- ‘यदि मलाई कसैलाई देश निकाला गर्ने भन्ने छान्न अवसर दिइएमा साहसी र मिहिनेती गोरखाहरुलाई राख्ने थिएँ र तिमी (आगजनीमा स‌ंलग्न)हरु जस्तो कुण्ठित अपराधीहरुलाई देशबाहिर लखेट्ने थिएँ ।’

लिम्बुलाई सहयोग गर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री