ननिटनमा बितिन् भाइसरी, कोरोनाको आशङ्का

लण्डन ।  कास्की रुपाकोट स्थायी घर भई बेलायतकाे ननिटन बस्दै आएकी श्रीमती भाइसिरी गुरुङको निधन भएको छ ।

उनकाे  ७३ वर्षको उमेरमा स्थानीय जर्ज इलियट अस्पतालमा आज निधन भएको स्थानीय ब्रिटिश गोरखा भेट्रान्स एसोसिएसन युकेका महासचिव भीम सारुमगरले जानकारी दिए । उनी १७ अप्रिलका दिन अस्पताल भर्ना भएकी थिइन् । उच्च रक्तचापकी बिरामी उनलाई खाना नरुच्ने, टाउको दुख्ने लक्षण देखा परेपछि अस्पताल लगिएको थियो ।

उनी पूर्व गोरखा सैनिक श्रीमान तोपबहादुर गुरुङसँगै सन् २०१३ देखि ननिटन बस्दै आएकी थिइन् । उनका श्रीमान गोरखा इन्जिनियर्सका पूर्व सैनिक हुन् ।

उनको श्रीमानलाई टाउको दुख्ने र ज्वरो आउनेलगायतका कारणले अहिले घरमै आइसोलेसनमा बसेका छन । उनको नेपालमा एक छोरा नेपालमै रहेको बताइएको छ ।

करिब २ हजार ५०० नेपालीको बसोबास रहेको ननिटनमा कोरोना संक्रमणबाट नेपालीहरु निकै प्रभावित भएका छन् । तीन साता यता ननिटनमा ६ जना नेपालीको निधन भइसकेको छ । जसमा तीन महिला र तीन पूर्व गोरखा सैनिक छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री