एनआरएनए कोरोना संक्रमित रिपोर्ट : तथ्यहीन

nrn banar

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विश्वका विभिन्न देशमा कोरोना भाइरस (कोभिड १९) संक्रमित नेपालीका बारेमा सार्वजनिक गरेको रिपोर्ट तथ्यहीन पाइएको छ ।

विश्वभर रहेका नेपालीहरुमध्ये अमेरिकामा एक हजार र बेलायतमा सात सय संक्रमित भएको रिपोर्ट सार्वजनिक गरेपछि एनआरएनएको तथ्यांक माथि प्रश्न चिन्ह खडा भएको हो ।

एक लाखभन्दा बढी नेपाली बसोवास गर्ने बेलायतमा नेपाली समुदायमा कति संक्रमित छन् भन्ने कसैसँग पनि आधिकारीक तथ्यांक छैन । बेलायतस्थित नेपाली राजदूतावासले सोमबारसम्म ४० जना नेपाली संक्रमित भएको जानकारी दिएको छ । ‘करीब ४० जना कोभिड १९ संक्रमित रहेका छन’, राजदूतावासका उपनियोग प्रमुख शरदराज आरणले भने । दूतावासका अनुसार २२ जना नेपाली कोभिड १९ बाट उपचार भई घर फर्किएका छन् । उपनियोग प्रमुख आरणले धेरै नेपालीहरुले कोभिड १९ संक्रमणका बारेमा खुलेर बताउन नचाहेकाले संख्या यकिन हुन नसकेको बताए ।
उता, अमेरिकामा पनि एक हजार संक्रमित भनेर एनआरएनएले तथ्याक सार्वजनिक गरेपनि यकिन संख्याका बारेमा सबै अनभिज्ञ छन् । यो तथ्यांक संकलन गर्ने आधिकारिक निकाय नभएको मौका छोपी एनआरएनएले ‘हावादारी’ रिपोर्ट सार्वजनिक गरेको हो । अमेरिका र बेलायतमा कसरी १ हजार र ७०० रहेको तथ्यांक निकालियो किन त्यो संख्या ९९९ वा १ हजार १ वा ६९९ वा ७०१ हुन सकेन रहस्यमय छ । यसअघि पनि एनआएएनएले बेलायतमा ३०० संक्रमित रहेको तथ्यांक सार्वजनिक गरेको थियो । एनआरएनएले निकालेको तथ्यांक कसरी सधैँ राउण्ड फिगरमा निस्कन्छ बुझिनसक्नु छ ।

स्वास्थ्य उपसमितिका संयोजक डा. सञ्जीव सापकोटाले तयार पारेको भनिएको तथ्यांकमा कुनै आधार उल्लेख गरिएको छैन । विभिन्न डाक्टरहरु मार्फत सम्पर्कका आधारमा रिपोर्ट तयार गरेको तर्क एनआरएनए स्वास्थ्य उपसमिति संयोजक सापकोटाले दिए पनि उनी सम्पर्कमा आउन मानेनन् । उनले तयार पारेको ‘तथ्यहीन’ तथ्यांकका बारेमा बेलायत र अमेरिकामा प्रश्न उठेपनि डा. सापकोटाले प्रष्ट पार्न आवश्यक ठानेका छैनन् ।

यस विषयमा एनआरएनए महासचिव हेमराज शर्माले संक्रमित संख्याका बारेमा स्वास्थ्य उपसमिति संयोजक सापकोटालाई सम्पर्क गर्न आग्रह गरे । महासचिव शर्मा बस्ने मुलुक बेलायतमा ७०० संक्रमित भएको पुष्टी कसरी गर्नु भयो भन्ने जिज्ञासामा उनले अनुमानित तथ्यांक भएको स्वीकार गरे । विगत तीन दिनको तथ्यांक केलाउने हो भने एकै दिनमा तीन सय संक्रमितको संख्यामा उतारचढाव देखिएको छ । बेलायतमा संक्रमित संख्या दुई दिन एक हजार भएकोमा तेस्रो दिन घटाएर सात सय जना संक्रमित भएको रिपोर्ट सार्वजनिक गरिएको छ ।

आइतबारसम्म संक्रमित हुने नेपालीमा अमेरिकामा एक हजार, बेलायतमा सात सय, संयुक्त अरब इमिरेटस (युएई)मा ७१, बहराईनमा ४९, आयरल्याण्ड २२, पोर्तुगलमा २२, कुवेतमा २१, अष्ट्रेलियामा ११, स्पेनमा १०, स्विट्जरल्याण्डमा पाँच, जर्मनी, बेल्जियम र साउदी अरबमा चार/चार, क्यानाडा र मलेसियामा तीन/तीन, माल्टा, हङकङ र जापानमा दुई/ दुई तथा फ्रान्स, टर्की र म्यान्मारमा एक/एक जना संक्रमित छन् ।

एनआरएनए अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समितिलाई स्वास्थ्य उपसमितिले उपलब्ध गराएको तथ्यांकअनुसार बेलायतमा ३३, अमेरिकामा १०, संयुक्त अरब इमिरेट्समा दुई तथा आयरल्याण्ड, जापान र टर्कीमा एक/ एक जनाको कोरोनाबाट निधन भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री