बेलायतबाट नेपाल जान सय भन्दा बढी व्यक्ति तयारी अवस्थामा

sarad aaran

प्रवक्ता आरण

लन्डन । बेलायतबाट नेपाल फर्किने तयारी अवस्थामा एक सय भन्दा बढी व्यक्तिहरु रहेका छन् । बेलायतस्थित नेपाली राजदूतावासका अनुसार एक सय भन्दा बढी व्यक्ति हवाइजहाज खुलेकै दिन नेपाल जान तयारी अवस्थामा रहेका हुन् । नेपाल सरकार परराष्ट्र मन्त्रालयले लकडाउन अवधि सकिए लगत्तै कति नेपाली नेपाल फर्कन सक्लान् भनेर अध्ययन थालिरहेको अवस्थामा दूतावासले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुको विवरण उपलव्ध गराउने तयारी गरेको हो ।

नेपाल सरकार परराष्ट्र मन्त्रालयले विदेशस्थित कति नेपाली लकडाउनपछि तत्काल नेपाल फर्कन्छन् भनि दूतावासहरुसँग जानकारी माग्न सुरु गरिसकेको छ जसमा बेलायत पनि पर्छ । यद्यपि, दूतावाससँग सम्पर्क नगरी आफ्नै योजनामा नेपाल जाने नेपाली धेरै हुन सक्ने अनुमान दूतावासको छ । दूतावास उपनियोग प्रमुख शरदराज आरणका अनुसार तीन खालका व्यक्तिहरु नेपाल जान सम्पर्कमा आएका छन् । जसमा बेलायतमा एक कार्यक्रममा भाग लिन आएका १८ जना डाक्टरहरुको समूह, बेलायत भ्रमणमा आएका नेपालीहरु र विश्वविद्यालयमा अध्ययनका लागि आएका विद्यार्थीहरु छन् । उनीहरु कोरोना संक्रमणका कारण बेलायत लकडाउन भएपछि यहाँ रोकिएका हुन् ।

दूतावासको सम्पर्कमा आउने विद्यार्थीहरुलाई प्रवक्ता समेत रहेका आरणले सम्झाई बुझाई गरिरहेका छन् । ‘कोरोनाका कारण केही विद्यार्थीहरु अलि आत्तिएका देखिन्छन् । मैले सकेसम्म सम्झाई बुझाई गरिरहेको छु’,आरणले वीनेपालीसँग भने, ‘विशेष गरी यहाँ जागिर नभएका तथा जनवरी र फ्रेबुअरीमा अध्ययनका लागि बेलायत आएका विद्यार्थीहरु कोरोना समस्याले डराएको देखिन्छ ।’

ती विद्यार्थीहरुले जागिर सुरु नगरेकाले अब के हुने हो भन्ने अन्योलमा देखिन्छन् । कोरोनाका कारण विश्वविद्यालयले अनलाइन प्रणाली मार्फत अध्ययन र अध्यापन सुरु गरेका छन् । यस्तो परिस्थितिमा बेलायत बस्नु भन्दा पनि नेपालमै बसेर अनलाइन अध्ययन गर्ने सोचाईमा केही विद्यार्थीहरु रहेका छन् । । ‘केही विद्यार्थी परिवारको एक्लो सदस्य भएकाले पनि नेपालमा आमाबुवा आत्तिने र विद्यार्थी यहाँ आत्तिने समस्या देखिएको छ’, आरणले भने ।

स्रोतका अनुसार विद्यार्थीहरुलाई कन्सल्टेन्सीले ‘मिसगाइड’ गरेकाले लण्डनबाट धेरै टाढाको विश्वविद्यालयमा भर्ना गराइएको दुःखेसो विद्यार्थीले पोखेका छन् । ‘कन्सल्टेन्सीका प्रतिनिधिले तपाईंको विश्वविद्यालय लण्डनबाट एक घण्टा टाढा हो, लण्डन आएर जागिर गर्न खासै समस्या छैन्’- एक विद्यार्थीले दुःखेसो पोख्दै भने, ‘त्यो कुरा गलत रहेछ । म अध्ययन गर्ने विश्वविद्यालयकाट लण्डन आउन चार घण्टा यात्रा गर्नुपर्ने रहेछ । त्यो पनि महंगो टिकेटमा ।’

यद्यपि नेपाल फर्कन चाहने विद्यार्थीहरुका लागि विश्वविद्यालयसँग पत्राचार गरेर पैसा फिर्ताका लागि पहल भइरहेको जानकारी दूतावासका प्रवक्ता आरणले दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री