लण्डनमा रहेका नेपाली ज्येष्ठ नागरिकहरुलाई राहत घोषणा

लण्डन । कोरोना भाइरसको संक्रमणबाट हालै निको भएका बेलायत निबासी कँडेल ग्रुपका म्यानेजिङ डाइरेक्टर राजन कँडेलले साउथ इस्टमा बसोबास गर्दै आइरहेका नेपाली वृद्धाहरुलाई राहत कार्यक्रमको घोषणा गरेका छन् ।

यो सहयोग विशेष गरी ७० वर्ष नाघेका नेपाली वृद्धा तथा अवकाश प्राप्त गोर्खाहरुलाई दिइने उनले बताएका छन् । साथै विभिन्न रोगका कारण कमजोर स्वास्थ्यस्थिति भएका व्यक्तिहरु जो कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा छन्, त्यस्ता व्यक्तिहरुलाई यो सहयोग दिइने उनले जानकारी दिए । उनले भनेका छन्, “कँडेल ग्रुपको संलग्नतामा रहेको तीन फार्मेसीहरुले यो सहयोग प्रदान गर्नेछन् । अब यो फार्मेसीहरुले यस्ता व्यक्तिहरुलाई घर घरमा गएर निशुल्क औषधी वितरण गर्नुका साथै उनीहरुलाई सुरक्षित राख्न फेश मास्क र ग्लोभ्स वा ह्याण्ड स्यानीटाइजर निशुल्क वितरण गरिनेछ । यो सहयोग साउथ इस्ट लण्डनमा मात्र केन्द्रित रहनेछ ।”
लण्डनको आवेउडमा नीम ट्री फार्मेसी, प्लमस्टेडमा प्लमस्टेड फार्मेसी र उलवीचमा उलवीच लेटनाइट फार्मेसीले यी सेवाहरु प्रदान गर्ने उनले बताए । नीम ट्री फार्मेसीकी सुपरिटेन्डेण्ट फर्मासिष्ट शोभा कँडेल र प्लटस्टेड फार्मेसकी सुपरिटेन्डेण्ट फर्मासिष्ट दिलासा श्रेष्ठ फार्मेसीले समुदायलाई दिने सेवाका लागि अहोरात्र खटिइरहेको कँडेलले जानकारी दिए । केही हप्ता अगाडि शोभा कँडेल पनि कोरोना भाइरसबाट संक्रमित भएको र संक्रमणबाट मुक्त भएसँगै पुनः आफनो काममा उनी फर्किएको कँडेलले बताए । उनले भनेका छन्, “यो महामारीको समयमा हाम्रा लागि बिरामीहरुको सेवा नै पहिलो प्राथमिकता हो, हाम्रो जिम्मेवारी भनेकै समुदायको सेवा गर्नु हो । यस समयमा कमजोर तथा अशक्त बिरामीहरुलाई विशेष सहयोग गरी सुरक्षित राख्नु हाम्रो जिम्मेवारी पनि हो ।” यो सुविधा ७० वर्ष नाघेका र सरकारले जारी गरेको निर्देशिकाभित्र पर्ने समूहलाई मात्र यो सेवा दिइने उनले बताए ।
त्यस्तै अर्की सुपरिटेन्डेण्ट फर्माशिष्ट दिलाशा श्रेष्ठले पनि नेपाली नर्सिङ एसोसियशनको जुम कन्फेरेन्समार्फत नेपाली समुदायलाई कोरोना भाइरसबारे सल्लाह सुझाव दिँदै आइरहेको उनले बताए ।
सेवामा चाहिने व्यक्तिहरु निम्न फोनमा सम्पर्क गर्न सकिनेछ ।
निम्न स्थानमा रहेका फार्मेसीको सम्पर्क नम्बर
आवेउड, फोन नम्बरः ०२०८३११९००३
प्लमस्टेड, फोन नम्बरः ०२०८३११०६३६ 
उलविच, फोन नम्बरः ०२०८३१६७९७ 

प्रतिक्रिया

सम्बन्धित सामाग्री