बेलायतमा विद्यालय र अर्थतन्त्र खुला गर्ने योजना अर्को साता ल्याइने

प्रधानमन्त्री जोन्सन । तस्बिर बीबीसी

लण्डन । ब्रिटिश प्रधानमन्त्री बाेरिस जोनसनले बेलायतमा विद्यालय र अर्थतन्त्र खोल्ने बारेमा अर्को साता विस्तृत योजना ल्याउने बताएका छन् ।

आफैँलाई कोरोना संक्रमण भएपछि पहिलोपटक प्रधानमन्त्री कार्यालयमा हुने नियमित ब्रिफिङमा उपस्थित भएका प्रधानमन्त्री जोनसनले मानिसहरुले कसरी यात्रा गर्ने भन्ने बारेमा पनि सो योजनामा उल्लेख गरिने प्रष्ट पारे ।

गत सोमबार उनले बेलायतको लकडाउन छिट्टै खुल्ने संकेत गरेकाले धेरैले आजको ब्रिफिङमा लकडाउन खोल्ने बारेमा नयाँ जानकारी दिइनसक्ने अनुमान गरेका थिए ।

उनले अबको नयाँ योजनामा मास्क लगाउने पनि समावेश हुने बताए । भाइरस सर्न नदिन र मानिसहरुमा आपसी विश्वास बढाउन पनि फेस मास्क लगाउन उपयुक्त हुने उनको भनाइ छ ।

बेलायतमा कोरोना संक्रमणको उच्चतम विन्दू पार भएसकेको र अब कोरोना संक्रमणको दर घट्दै गएको पनि उनले बताए । मुलुकले अर्को संक्रमणको जोखिम लिन नहुनेमा पनि उनले जोड दिए ।

उनले आशाका किरण देखिएको उल्लेख गर्दै दोस्रो संक्रमणको विपत्तिबाट जोगिन बेलायतले पूर्व निर्धारित लकडाउन खोल्न पूरा गर्नुपर्ने पाँचवटा परीक्षण पार गर्नुपर्ने प्रष्ट पारे ।

बेलायतमा आज लकडाउन शुरु भएको ३८ दिन पुगिसकेको छ र हालसम्ममा २६ हजार ७७१ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

अप्रिल महिनाको अन्त्यदेखि प्रतिदिन एक लाख मानिसमा भाइरसको परीक्षण गरिने योजना रहे पनि हिजोसम्ममा दैनिक ८१ हजारको मात्र परीक्षण गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री