एनआरएनए महासचिव शर्मामाथि नियतवश सिइओलाई काम गर्न नदिएको आरोप

बेलायत । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय  समन्वय परिषद् (आईसीसी) महासचिव हेमराज शर्मामाथि नियतवश प्रमुख कार्यकारी अधिकृत राजेश राणालाई स्पष्टीकरण सोधेको आरोप लागेको छ  । अमेरिकाका आईसीसी सदस्य शंकर खडकाले महासचिव हेमराज शर्मालाई इमेल लेख्दै प्रमुख कार्यकारी अधिकृतमाथि गलत नियतले स्पष्टीकरण सोध्नुको कारण माग गरेका  हुन् ।

एनआरएनए विधानमा सचिवालयका कर्मचारी अनुगमनको जिम्मा महासचिवलाई भएपनि प्रमुख कार्यकारी अधिकृत नियुक्तिको जिम्मा आईसीसीले गर्ने उल्लेख छ ।

‘प्रमुख कार्यकारी अधिकृतलाई सोधिएको स्पस्टीकरण के को लागि हो र के के बुंदाहरुमा सोधिएको छ भन्ने जान्ने अधिकार आईसीसी सदस्यहरुलाई छ कि छैन?’, भन्दै उनले महासचिव शर्मालाई प्रश्न गरेका छन् । आईसीसी सदस्य खडकाले एनआरएनए उपाध्यक्ष मन केसीलाई समेत थाहै नदिई संस्थामा मनलाग्दी काम गर्न खोजेको आरोप लागिसकेकाले तत्काल बैठक बोलाउन माग गरेका छन् । प्रमुख कार्यकारी अधिकृत (सिइओ) बाट डा. हेमन्त दवाडीले राजीनामा दिएपछि अर्का सिइओ राणालाई काम दिनु पर्नेमा महासचिव शर्माले स्पष्टीकरण सोधेपछि आईसीसी सदस्यहरुले शर्माको कार्यशैलीको विरोध गरेका छन् ।

गैरआवासीय नेपाली संघको विधान २००३ (२०१७ संसोधन सहित) को २०.२ मा  संघको  कार्यालयम प्रमुख कार्यकारी अधिकृत रहने व्यवस्था गरिएको छ । तर, महासचिव शर्माले शक्तिको दुरुपयोग गरी राणालाई स्पष्टीकरण सोधेपछि अहिले एनआरएन सिईओ विहीन भएको छ ।

३० अप्रिलमा संघको  कार्यालयमा सात वर्ष काम गरेका डा. दवाडीलाई बन्दाबन्दीकै बीच अवकास दिईएको थियो ।

महासचिव शर्मामाथि सामूहिक छलफलका लागि राखेको इमेललाई पनि व्यक्तिगत इमेलको रुपमा  प्रयोग गरी अदालतको न्यायाधीश जसरी प्रमाण मागिएको आरोप समेत लागेको छ । आइसीसी सदस्य शंकर खडकाले नवौं सम्मेलनमा थाँती रहेको आर्थिक र सांगठनिक प्रतिवेदन पास गर्ने पहल नगरेको आरोप लगाउंदै  व्यक्तिगत स्वार्थ पूर्तिको काम गर्दा एनआरएनए बदनाम बनेको दावी गरेका छन् ।

स्रोतले इमेललाई उद्धृत गर्दै नयाँ कार्यसमितिले पहिलो भाषणमा नै नवनिर्वाचित अध्यक्ष कुमार पन्तले  तीन महिनाभित्र विशेष साधारण सभा गराएरआर्थिक प्रतिवेदन पास गराउने प्रण गरे पनि केही नगरेको उल्लेख गरिएको छ ।

सात महिना बितिसक्दा पनि वि भिन्न प्राविधिक कारण देखाएर डिडिए रिपोर्ट आइसीसीमा पेश नगरेको इमेलमा उल्लेख छ । अध्यक्ष कुमार पन्त, महासचिव शर्मा र कोषाध्यक्ष महेश श्रेष्ठले  नियतवस उक्त विवरण पेश नगरेको आंशका गरिएको छ । संस्थामाथि आर्थिक हिनामिना, अपारदर्शिता, भ्रस्टाचार आदि लागिरहेको आरोपलाई चिरेर जान सुझाउँदै विद्यमान आशंका निराकरण गर्न आग्रह गरिएको छ ।

यस बारेमा प्रतिक्रिया माग्दा महासचिव डा. हेमराज शर्माले भने, ”आर्थिक पारदर्शिता, मितव्ययिता र उत्तरदायी अहिलेको कार्यसमितिको मुख्य मन्त्रहरु हुन् । आर्थिक र प्रशासनिक हिसाबले एनआरएनए कहाँ छ, विगतबाट के सिक्न सकिन्छ भनेर नयाँ कार्यसमितिले स्वतन्त्र विशेषज्ञहरुबाट ड्यू डिलिजेन्स अडिट (डिडिए) गरेको थियो । डिडिए रिपोर्टको आधारमा राजेशजीलाई स्पष्टीकरण सोधिएको हो । स्पष्टीकरण सोध्ने निर्णय सचिवालयको पूर्ण बैठकले गरेको हो । कर्मचारीलाई कसले नियुक्ति गर्ने, कसले अवकास दिने, कसले स्षटिकरण सोध्ने भन्ने निर्णय कुनै अमुक पदाधिकारीले गर्न सक्दैन (न अध्यक्षले, न महासचिवले, न सिईओले) । यसको कार्यविधि हाम्रो कर्मचारी नियमावलीमा व्यवस्था छ र हामीले यही नियमावली र कानुनबिदको परामर्शको आधारमा निर्णय गरेका हौँ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री